तान्द्रोः क्रुरताभित्र मानवताको खोजी


पछिल्लो समय मैले केही उत्कृष्ट हिन्दी सिनेमाहरू खोजी खोजी हेरेको छु । तीमध्ये रजत कपुर निर्देशित ‘आँखो देखी’, निरज घेवान निर्देशित ‘मसान’ र हंसल मेहता निर्देशित ‘अलिगढ’ मुख्य छन् । पहिला दुईमा संजय मिश्र र पछिल्लोमा मनोज वाजपेयीको अभिनय हेर्दा त्यसलाई अभिनय मान्नै हम्मे पर्छ।

मन परेको कला नमिछिउन्जेल हेर्ने बानी अनुसार ‘आँखो देंखी’ झण्डै दर्जन पल्ट हेरेपछि म अहिले पियुष मिश्रको ‘गुलाल’ सिनेमामा प्रयोग भएको ‘ओ दुनियाँ’ शीर्षक गीत निरन्तर सुनिरहने क्रममा छु।

त्यस्ता, फिल्म र गीत नेपालमा कहिले बन्लान्, सञ्जय मिश्र, मनोज वाजपेयी र पियुष मिश्रजस्ता कलाकार कहिले जन्मलान् अनि हाम्रो कलाचेतले छक्कापञ्जाजस्ता उडन्ते फिल्मभन्दा अलि फरक सिनेमालाई चिन्ने दिन कहिले आउला ?भनेर मनमा प्रश्न उठ्नु स्वभाविकै हो ।

केही हप्ता अगाडि हिन्दी सिनेमा ‘सिक्रेट सुपरस्टार’ हेर्दा हलमा एउटा अलग्गै खालको नेपाली सिनेमा ‘तान्द्रो’को ट्रेलर देख्न पाइयो । ट्रेलरका कारण मैले हेरेको शायद पशुपति प्रसादपछि यो दोस्रो सिनेमा थियो । पहिलो दिनको दोस्रो शो । हलमा करीब ५० जना जति दर्शक थिए होला।

माओवादी युद्धका बेला तत्कालीन माओवादी कार्यकर्ता गंगा बहादुर लामाको भोगाइमा बनेको यो सिनेमा उनको जीवनका तीन दिनमा आधारित छ । त्यसको पृष्ठभूमि र त्यसपछि आएका घटनाक्रमबारे अब आएर हामीलाई धेरै कुरा थाहा छ तर जुन दिनहरूलाई सिनेमाले पर्दामा उतारेको छ, ती दिनमा देश अन्धकारमय थियो ।

पहिले नेपाल कब्जा गर्ने अनि संसारभर क्रान्ति निर्यात गर्ने बौलठ्ठीपूर्ण सपना बेचेर गरीबहरूका काँधमा बन्दुक बोकाएका माओवादी नेताहरूले सरकारी फौजको कडा आक्रमणको सामना गर्नुपरेको थियो। उनीहरूले केही जिल्ला सदरमुकामहरूमा गरेका रक्तपातपूर्ण आक्रमण र कब्जाले भारत र चीनको मात्र नभई अमेरिकाको समेत ध्यान तानेका थिए । थाहै नपाई देश भूराजनीतिको घानमा परेको थियो ।

माओवादीले काठमाडौं जित्ने सपना पूरा नहुने निश्चितजस्तो हुँदै थियो तर सरकारले उसलाई चाहेजसरी निमिट्यान्न पार्न नसकेको मात्रै हैन जिल्ला सदरमुकाममा हुने ठूला आक्रमणसमेत रोक्न सकेको थिएन । यसले दुवै पक्षलाई असुरक्षित र हिंस्रक बनाउँदै लगेको थियो ।

अनि त्यसको घानमा परेका थिए लाखौं सर्वसाधारण । माओवादीलाई खाना ख्वाएको आरोपमा सेनाले दमन गरेका वा सरकारका लागि जासुसी गरेको भनेर माओवादीले क्रुर कारवाही गरेका मानिसहरूको लेखाजोखा छैन । मारिएका तेह्र हजार र बेपत्ता पारिएका अरु हजारौंको आँकडामा त्यसरी पीडित भएका मानिसहरू गनिएका हुँदैनन् ।

दुवैसँग सामुन्नेको लडाइँ जित्ने तिकडमहरू थिए तर सिंगो युद्ध कसरी पार लगाउने भन्ने पत्तो थिएन । खारामा एकै घान भएका माओवादी लडाकु होउन् वा पिलिमा अनाहक ठूलो संख्यामा मारिएका सुरक्षाकर्मी होउन्, दुवै पक्षले एउटा वा अर्को लडाइँ जिते पनि दुवैका लागि भविष्य चरम अनिश्चयपूर्ण थियो ।

अनिश्चय जति गहिरियो, दुवै पक्षको क्रुरता पनि त्यति नै गहिरिएर गयो ।

सिनेमामा बेनी आक्रमणको सफलतामा नाचिरहेको बेला माओवादी कार्यकर्ताहरू सेनाको आक्रमणमा पर्छन् । भाग्ने क्रममा खुट्टामा गोली लागेर बाँचेका कार्यकर्ताको भूमिकामा रहेका दयाहाङ राईको तीन दिने भोगाइमै सिंगो सिनेमा घुमेको छ ।

पक्कै पनि यो सिनेमा माओवादी युद्धको सांगोपांगो चित्र हैन र जटिल कथा वा ऐतिहासिक कथानकको खोजी गर्नु यसको लक्ष्य हैन। तर समयको एउटा बिन्दुलाई पक्रेर यसले त्यो समयको कथालाई असाध्य कलात्मक रुपमा उधिनेको छ । साथै मूलपात्रलाई केन्द्रमा राखेर त्यस बेला आम नेपालीको त्रस्त (र बेला बेलामा विक्षिप्त पनि) मानसिकता अनि त्यसले उब्जाउने अमानवीय अवस्थाहरूको समेत खोजी गरेको छ ।

युद्धरत पक्षहरूमध्ये कुन सही वा गलत भन्नेतिर स्वभावतः सिनेमा लागेको छैन । तर चौतर्फी क्रुरता र त्रासको बीच मानवता र मानवीय संवेदना कसरी धर्मराउँछन् अनि कसरी असीम पीडाबीच पनि मान्छेले आफूभित्र मानवता र करुणाको खोजी गर्छ भन्ने कुरा यसले चित्त बुझ्ने गरी प्रस्तुत गर्छ । ट्रेलरमा देखाइएको घाइते लडाकूलाई मार्न ढुंगा उचाल्ने वृद्ध होउन् वा अँजुलीमा पानी ल्याएर उसको तिर्खा मेटाइदिन खोज्ने बालिका होउन्, सिनेमाले प्रतिकुल अवस्थामा देखिने मानवीय संवेदनालाई मिहिन रुपमा उतारेको छ ।

नेपालमा चलेको दशक लामो सशस्त्र युद्धलाई अनेक कोणबाट विज्ञहरूले हेर्ने र त्यसबारे सामग्रीहरू प्रकाशित गर्ने क्रम जारी छ । तर विज्ञहरूले गर्ने त्यस्तो अध्ययन र प्रकाशन सपाट हुने हुँदा त्यो आम मानिससम्म अक्सर पुग्दैन । आम मानिससम्म विगतका भोगाइलाई फेरि जीवन्त बनाएर पुर्याउने प्रभावकारी माध्यम पक्कै पनि कला नै हो र त्यसमा पनि सिनेमाको प्रभावकारिता विशेष हुन्छ । त्यस हिसाबले तान्द्रो एउटा सशक्त कलात्मक कार्य बनेको छ ।

सिनेमा हेरेर फर्केपछि इन्टरनेटमा हेर्दा पत्ता लाग्यो, चल्तीमा रहेको सिनेमाहरूको अनलाइन डाटाबेस आइएमडीबीले तान्द्रोलाई १० मा ९.३ स्कोर दिँदै त्यसलाई नेपालको सर्वकालीन दोस्रो उत्कृष्ट फिल्म ठहर्याएको रहेछ (त्यो सुचीमा ‘पशुपति प्रसाद’ ९.१ अंकसहित एघारौं स्थानमा रहेछ) ।

नेपालमा अझै ‘मसान’ वा ‘आँखों देखी’ जस्ता सिनेमा बन्न त लामै समय लाग्ला तर ‘रेन कोट’जस्ता एकाध दिनमा छायांकन भइसक्ने राम्रा सिनेमाहरू चाहिं छिट्टै बन्लान् कि? तान्द्रो त्यस दिशामा एउटा राम्रो सुरूआत हो ।

के कुनै दिन हाम्रा दयाहाङ राइले पनि भारतका सञ्जय मिश्र वा मनोज वाजपेयीले झैं अभिनय भन्नै नसकिने अभिनय गर्लान्? तान्द्रोले आश गर्ने राम्रो आधार दिएको छ ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.