कता हरायो ‘दुई रुपैयाँ’ नोट?


जुरेली र दाह्री तस्करका भरिया हुन्।

उनीहरू भारतीय नाकाबाट सामान अवैध ओसारपसार गर्छन्।

एकचोटि एउटा आपराधिक गिरोहको ‘नाइके’ ले उनीहरूलाई दुई रुपैयाँको नोट दिन्छ। अर्को गिरोहलाई त्यही नोट दिएर भारतबाट अवैध ल्याएको सामान बुझ्ने उनीहरुको जिम्मा हुन्छ।

उनीहरू सामान बुझ्न जान्छन्। तर, बीच बाटोमै दुई रुपैयाँ नोट हराउँछ।

यसैबाट सुरु हुने द्वन्द्व अहिले प्रदर्शन भइरहेको ‘दुई रुपैयाँ’ को कथा हो।

यहाँ हामी ‘दुई रुपैयाँ’ फिल्मबारे कुरा गर्न गइरहेका छैनौं, ‘दुई रुपैयाँ’ नोटबारे कुरा गर्दैछौं जुन फिल्ममा मात्र होइन, बजारबाट पनि लुप्त भइसक्यो।

फिल्मको एक दृश्यमा एकैचोटि सयवटा दुई रुपैयाँ नोट देखाउनुपर्ने थियो। यसका लागि नोट संकलन गर्नै तीन महिनाभन्दा बढी समय लागेको अभिनेता निश्चल बस्नेत सम्झन्छन्। यही अनुभव भोगेको फिल्म निर्माण समूहले प्रचार निम्ति एउटा जुक्ति निकाल्यो– दुई रुपैयाँ नोट लिएर आउने सय जनालाई कुमारी हलमा बिहीबार १२ बजेको शो त्यति नै मूल्यमा देखाउने।

प्रचार शैली नवीन थियो, तर बजारमा पाइनै छाडेको नोट बोकेर यति दर्शक आउलान् भन्ने निर्माण पक्षले सोचेकै थिएन।

‘दुई रुपैयाँ खोज्दा हाम्रो त बाह्र बजेको थियो,’ निश्चलले भने, ‘हामीलाई लागेको थियो, आइडिया राम्रो भए पनि सय जना दर्शक जुटाउन गाह्रो पर्ला। हामीले अनुमान गरेभन्दा धेरै दर्शक आए। त्यो शो खचाखच भएर पार्किङमा समेत गाडी अटाएन।’

निश्चलले यो फिल्म निर्माण क्रममा दुइटा अनुभव गरे– पहिलो, दुई रुपैयाँ नोट देख्दै नदेखेको नयाँ पुस्तालाई यो इतिहासजस्तो लाग्दो रहेछ। अर्को, उनको आफ्नै पुस्ता, जसले दसैंमा टीका लगाएर दुई रुपैयाँ नोट दक्षिणा पाएको थियो र त्यसलाई बढो जतनसाथ जम्मा गरेर राखेको थियो।

‘मलाई नै अचेल दुई रुपैयाँ नोट देख्दा रमाइलो लाग्छ,’ उनले भने, ‘केटाकेटी हुँदा दसैंमा पाएको दक्षिणाको झल्को आउँछ।’

निश्चललाई मात्र होइन, दसैंको छेक पारेर रिलिज यो फिल्मको शीर्षकले धेरैलाई ‘नोस्टाल्जिक’ बनाउँछ। दसैंमा पाएको दक्षिणा मात्र नभई, दुई रुपैयाँ नोटले धेरैलाई स्कुले जीवनतिर फर्काउँछ – दुई रुपैयाँको दुनोट, दुई रुपैयाँको पुरी–तरकारी, दुई रुपैयाँको बिस्कुट, दुई रुपैयाँको ठूलो ऐंठे आदि इत्यादि।

फिल्म रिलिजलगत्तै सामाजिक सञ्जालमा दुई रुपैयाँ नोट हेर्दै गरेका, निधारमा दुई रुपैयाँ टाँसेका सेल्फी तस्बिर प्रशस्तै देखिनुको कारण यही ‘नोस्टाल्जिया’ पनि होला।

अतीतको सम्झनासँग जोडिएको यो नोट बजारमा आउन छाडेको एक दशक नाघिसक्यो।

२०६३ सालमा गणतन्त्र स्थापनापछि नेपाल राष्ट्र बैंकले एक र दुई रुपैयाँ दरका नोट छाप्न छाडेको हो। बजार वा हामीसँग ती नोट छन् भने पुराना हुन्, जसमा अहिले पनि राजाकै तस्बिर अंकित छ। यही दरका सिक्का भने राष्ट्र बैंकले निकाल्दै आएको छ।

राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागका कामु कार्यकारी निर्देशक भीष्म उप्रेतीका अनुसार गणतन्त्र स्थापनाअघि अन्तिमचोटि एक र दुई रुपैयाँ दरका नोट छपाइ भएको थियो, जुन केही वर्षलाई पुग्ने अनुमान थियो। जब यी नोट नछाप्ने निर्णय भयो, राष्ट्र बैंकले आफूसँग स्टक रहेका एक र दुई रुपैयाँ नोट बजारमा ल्याएन।

‘हामीले नयाँ नोट छाप्न छाड्यौं, तर बजारमा गइसकेका नोटलाई नचल्ने भनेर प्रतिबन्धित गरेनौं,’ उप्रेतीले सेतोपाटीसँग भने, ‘त्यसैले अहिले पनि ती नोटमा पुरानै ढाँचाको राजाको तस्बिर देखिन्छ।

छपाइबाट हटिसकेका नोट राष्ट्र बैंक फर्केपछि उसैले कब्जामा लिन्छ। त्यसको ठाउँमा सिक्का पठाउँछ। कहिलेकाहीँ बजारमा भेटिने वा कसैले घरमा राखेका यी नोट जम्मै राष्ट्र बैंकसम्म नपुगेकाले मात्र जोगिएका हुन्।

राष्ट्र बैंकले एक र दुई रुपैयाँ दरका नोट छाप्न बन्द गर्नुको कारण यसको लागत महँगो पर्नुले हो।

कामु कार्यकारी निर्देशक उप्रेतीका अनुसार पाँच रुपैयाँ दरको एउटा नोट छाप्न डेढ रुपैयाँबराबर खर्च लाग्छ। ‘छपाइ प्रतिस्पर्धा बढेकाले मात्र पहिलेको तुलनामा अलि सस्तो परेको हो,’ उनले भने, ‘जतिबेला एक र दुई रुपैयाँका नोट छापिन्थे, तिनको मूल्यभन्दा छपाइ खर्च बढी पर्थ्यो।’

छपाइ खर्च मात्र कारण भने होइन।

‘यी नोटको मूल्य घटेकाले पनि छपाइ रोकिएको हो,’ उप्रेतीले भने, ‘बजारमा यसको क्रयशक्ति घट्दै गयो। दुई रुपैयाँले कुनै पनि चिज नआउने भयो। पसलेले ग्राहकलाई फिर्ता पैसा दिन मात्र यी नोट प्रयोगमा ल्याउन थाले।’

यस्तो अवस्थामा महँगो लागतको नोटभन्दा सिक्का प्रभावकारी हुने ठानेर राष्ट्र बैंकले एक र दुई रुपैयाँ नोट छाप्न छाडेको उप्रेतीको भनाइ छ।

यति हुँदाहुँदै साना दरका यी नोटको खपत भने बढी थियो।

उप्रेतीका अनुसार जतिबेला एक र दुई रुपैयाँ नोट छापिन्थे, ती अरूका तुलनामा सबैभन्दा धेरै खपत हुनेमा पर्थे। अहिले छापिने सबभन्दा सानो दरको नोट पाँच रुपैयाँ हो र खपत पनि सबभन्दा बढी त्यसैको हुने उनी बताउँछन्।

राष्ट्र बैंकले पछिल्लोपटक नोट छाप्दा पाँच रुपैयाँको नोट २६ करोड प्रति छापेको उप्रेतीले जानकारी दिए। त्यसपछि खपत हुनेमा १० रुपैयाँ पर्छ, जुन २४ करोड प्रति छापिएको थियो। बढी खपत हुनेमा सय रुपैयाँ दरका नोट तेस्रो स्थानमा छ। पछिल्लोपटक सयका नोट २० करोड प्रति छापिएको उप्रेतीले बताए।

नयाँ छापिएका नोटको ठूलो हिस्सा राष्ट्र बैंकले दसैंलाई लक्ष्य गरेर बजारमा ल्याइसकेको छ। दसैंमा आर्थिक कारोबार बढी हुने हुँदा नोटको माग सामान्य समयभन्दा धेरै हुन्छ। त्यसमाथि टीका लगाएर दक्षिणा दिन साना दरका नोट साट्ने चलन छँदैछ। नोट छाप्नेहरूको निम्ति पहिले एक र दुई रुपैयाँ दरका नोट नै पहिलो रोजाइमा पर्थे। साना दरका यी नोट केटाकेटीलाई टीका लगाएर दक्षिणा दिन काम लाग्थ्यो।

यस अर्थमा अचेलका केटाकेटी भाग्यमानी छन्– उनीहरूले पाँच रुपैयाँ घटी त दक्षिणै पाउँदैनन्!

नयाँ पुस्ताले लगभग बिर्सिसकेको यही पुरानो नोटको सम्झना ‘दुई रुपैया’ फिल्मले ब्युँताउने काम गरेको निश्चल बताउँछन्। ‘हाम्रो यो फिल्म हराइसकेको दुई रुपैयाँ नोटको सम्झना पनि हो,’ उनले भने।

त्यही सम्झना दर्शाउन फिल्ममा दुई रुपैयाँ हराएको कथावस्तु तयार पारिएको हो कि!

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.