यज्ञसको ‘भुइयाँ’ आयो


पत्रकार यज्ञसको नयाँ कृति ‘भुइयाँ’ आइतबार सार्वजनिक भएको छ।

मानव अधिकार आयोगकी आयुक्त मोहना अन्सारी र आख्यानकार कुमार नगरकोटीले संयुक्तरुपमा पुस्तक विमोचन गरे ।

नगरकोटीले यज्ञसले आफूलाई ‘सरप्राइज’ दिएको बताए

उनले भने, ‘पहिले यज्ञशजीले पुस्तक लेख्दै छु भन्दा आख्यान लेख्दै हुनुहुन्छ भन्ने  सोचेको थिएँ तर उहाँले मलाई ‘प्लिजेन्ट सरप्राइज’ दिनुभयो, नन–फिक्सन लेखेर । तर, यो पुस्तक फिक्सनजस्तै लाग्छ, उहाँको कथ्य बुन्ने तरिका, बिम्बको प्रयोग, पोइटिक वाक्यहरुले गर्दा ।’

आयुक्त अन्सारीले पुस्तकले सामाजिक आन्दोलनको महत्तालाई पुस्टी गरेको बताइन्।

उनले भनिन्, ‘अनुसन्धान विधि सिकाउन पनि यो पुस्तक प्रयोग गर्न सकिन्छ । सन्दर्भ सामग्रीका रुपमा त यो पुस्तक हाम्रा समाजशास्त्र विभागहरुमा राखे राम्रो हुन्छ।’

लेखक यज्ञशले भने, ‘पहिला मैले एकजना महिलाको कथा लेखेको थिएँ । त्यस्तै कथा अन्य थुप्रै महिलाको पनि रहेछन् । तिनको कथा पनि लेख्न सकियो भने त पुस्तक नै बन्दो रहेछ भनेर मैले पुस्तक लेख्न सुरु गरेका हुँ।’

पुस्तक प्रकाशक फाइन प्रिन्टका अजित बरालले औसत जीवनका लागि सङ्घर्ष गरिरहेका महिलाहरुका कथाले पाठकका मानवीय संवेदनालाई छुने र ससाना सामाजिक आन्दोलनलाई हेर्ने उनीहरुको दृष्टिकोणमा परिवर्तन ल्याउने बताए।

‘भुइयाँ’ विभिन्न आन्दोलनमा सहभागी महिलाहरुका कथा हो।

यो यज्ञसको तेस्रो किताब हो। यसअघि उनले अनुवाद गरेका दुई कृति ‘मोहनदास’ र ‘नेलकटर’ प्रकाशित छन् ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.