घरजमपछि हिरोइन, हिरोइनपछि निर्देशक

झरना थापाको सिनेयात्रा

निर्देशक झरना थापा आफ्नो 'डेब्यू' फिल्म 'ए मेरो हजुर २' का नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र नायक सलिनमान बानियाँसँग। तस्बिर: नारायण महर्जन/सेतोपाटी


धेरै नायिका करिअरपछि घरजम गर्छन्। घरजमपछि करिअरबाटै हराउँछन्।

केही यस्ता छन्, जो घरजमपछि बल्ल करिअर थाल्छन् र हिट हुन्छन्।

झरना थापा तिनैमध्ये एक हुन्।

उनले २०५२ असारमा बिहे गरिन्। २०५३ असारमा छोरी भयो। छोरी तीन महिनाकी थिइन्, जब झरनाले पहिलो फिल्म ‘धर्मसंकट’ खेलिन्।

अहिले छोरी २१ वर्षकी छन्। संयोगले, जन्मदिनको लगभग तीन महिनामै झरना नयाँ अवतरमा देखा परेकी छन्– निर्देशकका रूपमा।

निर्देशक झरनाको ‘डेब्यू’ फिल्म ‘ए मेरो हजुर–२’ शुक्रबार रिलिज भएको छ। नयाँबानेश्वरको मोक्ष लाउन्जमा उनी सेतोपाटीसँग भन्दै थिइन्, ‘यत्तिका वर्षको अनुभव निर्देशनमा उपयोग गरेको हुँ।’

‘कस्तो अनुभव हुँदैछ त?’

‘पास हुन्छु,’ झरनाले भनिन्, ‘कुन डिभिजन आउला भन्नेले चाहिँ मन हुँडलिरहेको छ।’

हामी औपचारिक कुराकानीको मेसो समाउन खोज्दै थियौं, झरनाले फोनमा कसैलाई डाकिन्, ‘भोक लागेको भए तल आऊ, फ्राई राइस मगाको छु।’

उनले सानो प्लेट मगाइन्। थोरै आफूलाई खटाइन्। ठूलो प्लेटको धेरै खाना छेउमा राखिन्। केही बेरमै एक युवती भित्र छिरिन्। सरासर झरनाछेउ बसिन्। सुरुमा त सामान्य थिइन्, अगाडि क्यामरा देखेपछि झस्किइन्। ठूलो प्लेट बोकेर अर्को टेबलमा सरिन्।

झरनाले चिनाइन्, ‘ऊ मेरी छोरी, सुहाना।’

झरना रेस्टुरेन्टसँगै जोडिएको घरमा बस्दी रहिछन्। उनी पहिले राजभण्डारी थिइन्, १६ वर्ष नपुग्दै सुनीलकुमार थापाको थर अंगालिन्। छोरी सुहानाको उमेरमा त उनी घरव्यवहार सम्हाल्न थालिसकेकी थिइन्।

‘छोरीलाई देख्दा घरि झस्किन्छु, घरि रमाउँछु’, झरनाले नयाँ पुस्तासँग आफ्नो तुलना गरिन्, ‘अहिलेका बच्चा ब्वाईफ्रेन्ड छान्दा पनि भविष्य सोच्छन्, हाम्रो त वैशाखमा भेट भयो, असारमा बिहे। केटाकेटी बुद्धि नि! अहिले सम्झिँदा डर लाग्छ। तै मैले असल श्रीमान र राम्रो घर पाएछु।’

झरनाको माइती दाङ हो। उनका व्यापारी बाबु आधा काठमाडौं आधा दाङ बस्थे। झरना सानैमा काठमाडौं आइन्। सिद्धार्थ बनस्थलीमा पाँच कक्षासम्म पढिन्। दाङ फर्केर एसएलसीसम्म पढाइ पूरा गरिन्।

घोराहीको फिल्म हल नजिकै पर्थ्यो। उनकै घरको भित्तामा पोस्टर टाँसिन्थे। बाबु–आमा पनि फिल्मका पारखी थिए। यसले सानै उमेरमा झरना र फिल्मबीच गाढा साइनो बनायो।

‘कतिचोटि त भागेर हेर्न गइन्थ्यो,’ झरनाले सुनाइन्, ‘चिनेको हल, पैसा तिर्नु पर्दैनथ्यो। म घरमा नभएको थाहा पाएपछि आमा कतै नगई सिधै हलमै आउनुहुन्थ्यो।’

फिल्मले झरनालाई नृत्यको नसा चढ्यो। गीत गुनगुनाउँदा झरनाका खुट्टा हावामा लच्किन थाल्थे। साथीहरूसँग घरको कोठाभित्र थुनिएर हिन्दी गीतमा नाच्नेबाहेक उनले दाङ छँदा आफ्नो नाचको परख भने देखाइनन्।

एकैचोटि उनको कला पोखियो, काठमाडौं आएपछि।

काठमाडौंमा पहिले जुन सानिमाकहाँ बसेर उनले स्कुल पढेकी थिइन्, त्यहीँ बसेर कलेज पढ्न थालिन्। साथी–सम्बन्धका माध्यमबाट पद्मकन्या क्याम्पस पुगिन्। जानेको नाच थियो, त्यही विषय रोजिन्।

कलेजबाहेक उनी बागबजारकै एक इन्स्टिच्युटमा नृत्य सिक्थिन्, सिकाउँथिन् पनि। निर्माता सुनीलकुमार थापा र निर्देशक उज्ज्वल पौडेल नयाँ फिल्मका लागि अभिनेत्री खोज्दै थिए। उनीहरूले नृत्य सिक्ने/सिकाउने इन्स्टिच्युटमा झरनालाई भेट्टाए।

सुनील र उज्ज्वल पुग्दा झरनाका खुट्टा नृत्यको तालमा थिए, फुलेको बेलुन भुइँमा ठोक्किएर हावामा नाचेजस्तो। सुनीलको मनमा करेन्ट लाग्यो। झरनाको खुट्टामा बाँधिएको छिनछिन बज्दा उनको मनमा लहरा उठ्थ्यो।

त्यसपछि त सुनीलको बासै बागबजारका सडकमा हुन थाल्यो। उनी झरनालाई लुकीलुकी पछ्याउन थाले। कलेजको गेटबाहिर गाडीको सिसाबाट झरनालाई चियाउँथे। त्यही बेला झरनाकी एक साथीले सुनीललाई भित्र–भित्र मन पराउन थालिछन्।

झरना उनै साथीको प्रेम प्रस्तावक बनेर सुनीलकहाँ पुगिन्। सुनीललाई ताक परिहाल्यो। भनिदिए, ‘मन पराएर पाउने भए म तपाईंलाई चाहन्छु।’

एकैसासमा यो पनि भनिदिए, ‘म तपाईंसँग बिहे गर्न चाहन्छु।’

तपाईं–तपाईंको सम्बोधन केही दिनपछि ‘तिमी’ मा बदलियो।

साथीको प्रस्तावक बनेकी झरनाले आखिर साथीलाई नै ‘रिप्लेस’ गरिदिइन्।

प्रेमको सिलसिला सुरु भयो।

भर्खरै १६ टेकेकी झरनाको परिवार छोरीको बिहे गर्न हतारिएको थिएन। झरना आफैंलाई पनि भन्ने हिम्मत आएन। त्यसमाथि जात नमिल्ने केटो! झरनाले सुनीललाई नै ‘आफूलाई माग्न’ अह्राइन्।

परिवार मानेन।

प्रेम सुरु भएको तीन महिना नबित्दै सुनील–झरना भागे।

चार महिनापछि सुनील झरनालाई लिएर ससुराली पुगे। आफू गाडीमा लुकेर झरनालाई भित्र पठाए।

त्यसै दिन परिवारले ज्वाईं स्वीकार्यो।

त्यो झरनाका लागि ‘जे पनि फटाफट’ को समय थियो। प्रेम फटाफट, बिहे फटाफट, सन्तान पनि फटाफट– बिहे गरेको एक वर्षमै।

फिल्म खेल्ने कहिल्यै नसोचेकी झरनाले फिल्म पनि फटाफट नै पाइन्।

छोरी तीन महिनाकी थिइन्, सुनीलले बनाएको ‘धर्मसंकट’ मा नाच्ने युवती चाहिएको थियो। खोजी चल्दै गर्दा नृत्य निर्देशक वसन्त श्रेष्ठले भनेछन्, ‘तपाईंकै घरभित्रै छिन् नि, हामीलाई चाहिएजस्तो।’

झरनाले फिल्म खेल्नेबारे सुनीलले उति सोचेका थिएनन्। तै पनि माने। झरना ‘मलाई नेपाली माया चाहिन्छ’ गीतमा नाचिन्, ‘छोटा लुगा’ लगाएर।

एउटै गीतले झरनालाई ‘फिल्म सर्कल’ मा चिनायो। त्यसपछि आफ्नै निर्माणका फिल्म ‘गोर्खाली’ र ‘जीवनसाथी’ मा मुख्य भूमिकामा अभिनय गराए। दुवै राम्रै चले। तै झरनालाई घरबाहिरका फिल्मबाट प्रस्ताव आएन।

उनी गुम्सिएजस्तो अवस्थामा पुगिन्। एक त, घुम्ने–डुल्ने उमेरमै घर–व्यवहारमा फसेकी थिइन्, अर्कातिर फिल्म चले पनि कामको प्रस्ताव आएको थिएन।

झरनाले एउटा घटना सम्झिइन्।

बिहेअघि उनका कोठाका कुनाकुना छिरलिएका लुगाले ढाकिएका हुन्थे। बिहेपछि पनि त्यस्तै गर्थिन्। एकदिन बाहिर जाँदा फेरेको लुगा सोफामा छाडेर गइछन्। साँझ सुनीलले भनेछन्, ‘लुगा किन यसरी राखेको? मिलाएर राख्नुपर्छ नि।’

झरनाले भनिन्, ‘सोफामा त राखेको हो, के बिग्रेको छ र?’

सुनील केही बोलेनन्। झरनाले उनका आँखा र अनुहारबाटै भाव बुझिन्। त्यसपछि उनले व्यवस्थित हुन सिकिन्।

दोस्रो फिल्म सफल भएपछि एकदिन रेडियोमा अन्तर्वार्ता दिँदा तीन महिनाकी छोरीकी आमाले ‘छोटा लुगा’ मा नाचेको प्रसंग उप्केछ। झरनालाई मिडियामा के कुरा कसरी बोल्ने थाहा थिएन। उनले घर–व्यवहारका बाध्यता सुनाइछन्।

घर छिर्नेबित्तिकै अगाडि ससुरा थिए। अरू कुरै नगरी भनेछन्, ‘तिमी कलाकार हौ। साँच्चिकै कलाकार बन्ने चाहना छ भने कसकी छोरी, कसकी आमा, कसकी बहारी भन्ने बिर्सिदेऊ। विवेकले काम गर।’

‘त्यसबेला त म अन्योलमा परेँ,’ झरना भन्छिन्, ‘पछि साहस बढ्यो, मनमा गडेको ‘म त बुहारी पो हुँ’ भन्ने भावना हट्यो।’

केही समयमै उनले ‘ए मेरो हजुर’ मा काम पाइन्। निर्देशक थिए शिव रेग्मी र अभिनेता श्रीकृष्ण श्रेष्ठ। फिल्म ‘हिट’ मात्र भएन, अन्योलमा जमेकी झरना बग्न थालिन्। त्यही फिल्मले उनलाई नजिकका दुई नाता दिलायो– जेठो दाइजस्तो शिव र माइला दाइजस्तो श्रीकृष्ण।

‘सुनीलजी र मेरो परिवारपछि मलाई ठूलो सहयोग र प्रेरणा उहाँहरूले नै दिनुभयो,’ झरना सम्झन्छिन्।

त्यो फिल्म खेल्दाको एउटा घटना सम्झँदा झरनाको मनमा शिव र श्रीकृष्णप्रति असाध्यै श्रद्धा पलाउँछ।

शिव रेग्मीका फिल्ममा आँशुका कथा छुट्ने कुरै भएन। झरनाले एउटा संवाद बोल्नुपर्ने थियो। आँखामा आँशु निकाल्नुपर्ने, अनुहारमा पीडा देखिनुपर्ने, संवाद उत्तिकै सहज तरिकाले भन्नुपर्ने। तीनवटा फिल्म खेले पनि अभिनयको ‘खास मजा’ लिन नभ्याएकी झरनालाई त्यो दृश्य दिन सकस पर्यो। बाह्रपल्ट ‘रि–टेक’ दिनु परेपछि उनले त्यहीँ निर्णय लिइन्, ‘अब फिल्म खेल्दिनँ। म जागिरकै लागि ठिक छु।’

झरना रुँदै सुटिङबाट भागिछन्। बाटोमा श्रीकृष्णले फेला पारे। हकार्दै पाखुरा समातेर फिर्ता लगे।

त्यसपछि त एक टेकमै ‘ओके’ भएछ।

फिल्म ‘हिट’ भयो। झरना शिवकी चेली बनिन्। करिब डेढ दर्जन फिल्ममा शिव, श्रीकृष्ण र झरनाले सँगै काम गरे। शिव झरनालाई भनिरहन्थे रे, ‘नानी अभिनय मात्र गरेर खाइँदैन है! तैंले निर्देशन पनि गर्नुपर्छ।’

श्रीकृष्ण पनि त्यही भनेर उक्साउँथे। झरना भने गम्भीर थिइनन्।

‘आफ्नो गुरूको माया ठानेर हाँस्थेँ मात्र,’ झरना भन्छिन्, ‘म सुरुदेखि दृश्य कसरी खिचिन्छ भनेर पनि चासो राख्थेँ। पछि त नजानिँदो पारामै श्रीकृष्ण र शिव दाइकै शैली बसेछ। शिव दाइ संवेदनालाई मनको भित्री तहसम्म पुर्याउनुहुन्छ। फिल्म हेर्दा हेर्दै दर्शकलाई आँखामा आँशु आएको पत्तै हुन्न।’

फिल्ममा जस्तोसुकै भूमिका निर्वाह गर्न हिम्मत गर्ने बानी श्रीकृष्णबाट सिकेको झरना बताउँछिन्। करिब डेढ दशकको सिनेयात्रामा उनले शारीरिक अपांगता भएको, मानसिक सन्तुलन बिग्रेको, सहरिया–आधुनिक युवतीदेखि गाउँकी बुहारीसम्मका भूमिका गरेकी छन्।

‘तपाईंले अब कस्तो भूमिकामा अभिनय गर्न मन छ भनेर सोध्नुभयो भने मेरो उत्तर नआउन सक्छ,’ झरना आफैंले प्रश्न र उत्तर दिइन्, ‘मैले त्यति धेरै भूमिकामा अभिनय गरेँ, रहर लागेको चरित्रबारे त सोच्नैपर्छ।’

त्यसैले पनि होला, झरनालाई निर्देशनले लोभ्यायो। उनको दिमागमा एउटा कथा थियो, जसलाई उनी आफैं निर्देशन गर्न चाहन्थिन्। मनमा डर भने थियो, बेला भएको छैन कि!

इच्छा हुँदाहुँदै मनमा धुकचुक रहेका बेला सुनीलले उक्साए, ‘अब नडराऊ! तिमीसँग यति वर्ष अभिनय गरेको अनुभव छँदैछ, डरचाहिँ के को?’

दुई वर्षअघि झरनाले निर्देशनको निर्णय लिइन्। फिल्मको नाम राखिन्, ‘ए मेरो हजुर २।’

यो अघिल्लो ‘ए मेरो हजुर’ को ‘सिक्वेल’ भने होइन। उनी यो नाम राखेर गुरू शिव रेग्मीलाई ‘गुरूदक्षिणा’ दिन चाहन्थिन्। शिवकै कारण सिनेक्षेत्रमा सफल भएकाले आफ्नो पहिलो फिल्मलाई उनकै फिल्मसँग जोड्न चाहन्थिन्। श्रीकृष्ण पनि यही फिल्मसँग जोडिएकाले एउटै नामबाट दुवैलाई श्रद्धाञ्जलि दिन सकिने उनले ठानिन्।

‘म नयाँ पुस्तासँग उहाँहरूको सम्झना बाँड्न चाहन्थेँ,’ झरना भन्छिन्, ‘केही दृश्यमा उहाँहरूको स्टाइल र संवादसमेत नक्कल गरेको छु।’

‘आखिर मभित्र जे छ, त्यो उहाँहरूकै कारण त छ,’ उनले भनिन्।

सबै तस्बिर: नारायण महर्जन/सेतोपाटी

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.