हास्य कलाकार भन्छन्, ‘व्यङ्ग्य विधा छाडा भयो, अब नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्छ’


नेपाली हास्य व्यङ्ग्य कलाकारहरूले व्यङ्ग्य विधा छाडा हुन थालेकोमा चिन्ता व्यक्त गरेका छन् । मङ्गलबार राजधानीमा गाईजात्राको अवसर पारी आयोजना गरिएको एक कार्यक्रममा कलाकारहरूले व्यङ्ग्य शैली छाडा हुन थालेकोमा चिन्ता व्यक्त गरेका हुन् ।

कार्यक्रममा चर्चित कलाकार मनोज गजुरेलले पछिल्लो राष्ट्रिय तथा अन्तराष्ट्रिय विषयवस्तुको चर्चा गरे । गजुरेलले पछिल्ला वर्षहरूमा गाईजात्रामा प्रस्तुत गरिने शैली छाडा हुन थालेकोमा चिन्ता व्यक्त गर्दै जसलाई जे पायो त्यही भनेर गाईजात्राको नाममा विकृति भित्र्याइएको आरोप लगाए । गाईजात्राको पुरानो संस्कृति र परम्परा हट्दै जानु र छाडा व्यङ्ग्यले प्रश्रय पाउनु दुःखद भएको भन्दै गजुरेलले त्यस्ता प्रवृत्ति रोक्नुपर्ने बताए ।

कार्यक्रममा गजुरेलले प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वराजा ज्ञानेन्द्र शाह र केपी शर्मा ओलीको क्यारिकेचर गरेर मनोरञ्जन प्रदान गरेका थिए।

कार्यक्रममा सहभागी लोकगायक कमलीकान्त भेटवालले प्यारोडी गीतमार्फत समसामयिक समस्यालाई उठान गरे । भेटवालले झम्के गुलेली भाकामार्फत राजधानीको खाल्डा, प्रदुषण, अपहरणका घटना लगायत नेताहरुको गलत प्रवृत्तिको व्यङ्ग्य गरे । उनले नेपाली कालाकारले साधनाबिना नै पैसा र रहरको भरमा गुणस्तरहिन सृजना गर्ने गरेको आरोप समेत लगाए ।

यस्तै नवकलाकार नविन दाहालले नेपाली नेताहरुले काम नै नगरी देशको ढुकुटी रित्याएको विषयलाई व्यङ्ग्य गरे । उनले नेताहरु रामचन्द्र पौडेल, केपी शर्मा ओली, बाबुराम भट्टराई, चित्रबहादुर केसी लगायतको व्यङ्ग्यात्मक क्यारिकेचर गरेका थिए ।

चलचित्र निर्माता तथा हास्य कलाकार दिपकराज गिरीले अघिल्लो पुस्ताले पछिल्लो पुस्तालाई भूमिका हस्तान्तरण गर्नुपर्नेमा जोड दिए ।

गिरीले पछिल्लो समय आफ्नो पुस्ताले नयाँ शैलीको प्रस्तुति दिन नसकेको स्वीकार गर्दै गिरीले सबै पुराना कलाकारले यो विषयमा सोच्नुपर्ने बेला आएको बताए ।

उनले प्रधानमन्त्री शेरबहादुर देउवा लगायत मुख्य दलका नेताको बारेमा व्यङ्ग्यात्मक प्रस्तुति समेत दिए ।

कार्यक्रममा कलाकार जितु नेपालले प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली, रामचन्द्र पौडेल, पत्रकार ऋषि धमला लगायत चर्चित व्यक्तिहरुको क्यारिकेचर गरेका थिए ।

 

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.