पत्रकारद्वय मधु र विनीताको ‘चोली टिमिक्कै’ (भिडियो)

पत्रकारद्वय मधु र विनीताको ‘चोली टिमिक्कै’ (भिडियो)

तीजगीतमा आत्मनिर्भर महिलाको आवाज


मध्यपहाडी लोकजीवनमा खस–आर्य एवं मगर, गुरुङ लगायतका जनजातीय समुदायमा महिलाको चाडको रुपमा परिचित सांस्कृति तीजमा केन्द्रीत रहेर हरेक वर्ष गीत रिलिज हुने गरेको छ । पुराना तीज गीत हराउँदै गएको र नयाँ गीतमा तीज परम्परा नसमेटिएको गुनासो छाइरहेको बेला दुई कला पत्रकारले बजारमा नयाँ तीज गीत ल्याएका छन्।

कान्तिपुरकर्मी मधु शाहीको शब्दलाई संगीतकार ज्योतीप्रकाश विकको संगीतमा अन्नपूर्णकर्मी विनिता मरहट्टाले स्वर दिएकी हुन् । ‘माइत नी जानी हो/दर पनि खानी हो/टिमिक्कै चोली कसे कसिन्छ’ बोलको गीतले तीज पर्वसँग जोडिएको परम्परा उजागर गरेको छ।

तीज पर्वलाई महिलाले माइत गएर दर खाने, साथीसँगी जम्मा भई नाचगान गर्ने चाडको रुपमा लिइन्छ । बिहेबारी गरी घरबार गर्न माइतीगाउँ छोडी टाढा–टाढा गएका समवयी साथीसँगीसँग भेट हुने र दुःखसुख साट्ने भएकाले तीजलाई सांस्कृतिक पर्वको रुपमा पनि लिइन्छ ।

पत्रकारद्वयको गीतले तीजको त्यही परम्परालाई जोड दिएको छ । सासु–बुहारीको झैझगडा वा लोग्ने–स्वास्नीको गनगनमा रुमल्लिएका तीज गीतको सन्दर्भमा यो गीतले जीवनशैलीमा आएको आधुनिकता व्यक्त गर्छ । परिधानदेखि यातायातको साधनमा आएको आधुनिक परिवर्तन समेट्न भ्याएको छ गीतले । गीतले आत्मनिर्भर महिलाको स्वतन्त्रता अभिव्यक्त गरेको पाइन्छ, जसमा कसैको भर नपर्ने आफ्नै खुट्टामा उभिएका महिलाको गाथा गाइएको छ ।
पोहोरको तीजमा भाइ लिन आयो
यो तीजमा स्कुटी सरर
जाने हो माइत बाआमा भेट्न
उडाउँदै कपाल फरर
विन्दवासिनी म्युजिक प्रा.लि.ले बजारमा ल्याएको म्युजिक भिडियोमा गायिका मरहट्टा, गीतकार शाही र मुना पन्थीले अभिनय गरेका छन् ।

सुमन सागरजंग केसीले म्युजिक भिडियो निर्देशन गरेका छन् भने खेमराज, ज्योतिप्रकाश र नवराजले संयुक्त रुपमा छायांकन गरेका छन् ।

भिडियोका सम्पादक सुरेश राउत हुन् ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.