यौन स्वतन्त्रताको मतलब- आफ्नो शरीरलाई आफ्नो भन्न पाउने अधिकार हो

यौन स्वतन्त्रताको मतलब- आफ्नो शरीरलाई आफ्नो भन्न पाउने अधिकार हो


जौमाना हडाड संसारको यो पाटोको लागि चर्चित नाम नहोला तर लेबनानमा उनी त्यस्तो सेलिब्रेटी कवि, अभियन्ता र पत्रकार हुन्, जसलाई थोरैले इज्जत गर्छन् र धेरैले घृणा गर्छन्। उनले ‘जसद’ नाममा एक पत्रिका निकालेकी थिइन्, जुन निकै विवादस्पद बन्यो।

‘जसद’ अरब संसारमा प्रकाशित एक मात्र त्यस्तो पत्रिका हो, जसले अरब संसारमा निषेध गरिएका यौनिकता र ‘इरोटिक’जस्ता विषयहरूलाई समावेश गर्थ्यो। उनी महिला अधिकारको ठूलो समर्थक हुन् र जसले ‘आई किल्ड सेचेहराजादो: कन्फेसन अफ एन एङ्ग्री अरब वुमन’ जस्ता किताब लेखेकी छन्। उनी लेबनानको दैनिक पत्रिका एन-नहारको सांस्कृतिक पन्नाहरूको पहिलो महिला सम्पादकसमेत हुन्। उनै होडाडसँग डोब्रिना जेकोबाले लिएको अन्तरवार्ता यहाँ प्रस्तुत गरिएको छ। जसको अनुवाद सुरज सुवेदीले गरेका हुन्।

महिला अधिकारमा कहिलेदेखि इच्छुक देखिनुभयो?

धेरैले बैरूट सहर (जहाँ हडड हुर्किएका थिए) लाई अन्य अरब सहरभन्दा स्वतन्त्र र स्वतन्त्रता दिने अरब सहर भनेर बुझेका छन् तर महिलालाई गरिने व्यवहार र उनीहरूलाई हेर्ने दृष्टिकोणलाई मूल्याङ्कन गर्दा त्यहाँ अहिले पनि विभेदका विभिन्न तहहरू छन्। म हुर्किँदाको समय पनि त्यस्तै थियो जसलाई मैले नजिकैबाट देखेँ/भोगेँ। म एकदमै पुरातनवादी परिवारमा जन्मिएको थिएँ। यस्तो जीवन मैले खोजेको हैन भन्ने बुझेको भनेको मेरो अध्ययनले हो। म भन्छु, किताबले कुनै न कुनै रूपमा मेरो जीवनलाई बचाएको छ र म आज जे छु त्यो किताबले नै बनाएको हो। मेरो बुवा धेरै पुरातनवादी भए पनि धेरै पढ्नुहुन्थ्यो र उहाँले नै मलाई किताब पढ्न र किताबलाई माया गर्न सिकाउनुभयो। र त्यो पढाई साह्रै महत्त्वपूर्ण थियो। किनकि म त्यस्तो सहरमा हुर्किरहेको थिएँ जहाँ लडाईं, हिंसा र डर सँगसँगै खेल्थे। त्यसैको सहायतामा मैले आफूले बाँच्न नपाएको जीवन बाँचेँ। तिनै किताबहरूले मलाई स्वतन्त्रता र छनौटको महत्त्व सिकाइदियो।

र, पछि जब मैले लेख्न थालेँ, ती सबै कुराहरू मेरो दिमागमा अझै प्रस्ट भएर छापिन थाले। जब तपाईँ लेख्नुहुन्छ तब के जानेको छ त्यो मात्र लेख्नुहुन्न, आफ्नो शब्दमार्फत् पुग्न सक्ने कुराहरूलाई खोतल्न पनि थाल्नुहुन्छ। र, शब्दहरूले तपाईँको औंलालाई बलियो बनाउँदै जान्छन्। यो एक प्रक्रियाझैँ भएको छ मेरा लागि। मलाई लाग्छ, मेरा कविताहरूमा मैले मेरो विश्वभर महिलाहरूको दर्दनाक अवस्था देखेर धेरै रिस पोखेको छु। जब मैले ‘जसद’ प्रकाशित गर्न थालेँ, जुन अरब संसारमा पहिलोपटक प्रकाशित हुँदै थियो, मैले महसुस गरेँ कि चाहे त्यसको पक्षमा आएका हुन् वा विपक्षमा आएका हुन्, सबै प्रतिक्रियाहरूले अरब संसारमा भएको विभिन्न तहगत भेदभावहरूलाई छताछुल्ल पारिरहेका थिए।

Related image
हडाड सम्पादक रहेको जसद म्यागेजिन

हामीलाई २००८ मा लिएर जानुहोस्, जतिबेला तपाईंले ‘जसद’ प्रकाशित गर्ने सोच्नुभयो।

मैले सोच्न त २००८ देखि नै सोचेको थिएँ तर पहिलो अङ्क २००९ मा प्रकाशित भयो। म एक म्यागेजिन निकाल्न चाहान्थेँ र अझै चाहान्थेँ कि त्यो पहिला भएभन्दा फरक होस्। मानव अधिकारको अवस्था र विषयमा संसारमा नभएको खाले छलफल म अरब संसारमा लिएर जान चाहान्थेँ। म यसलाई महिला अधिकार मात्र भन्दिनँ किनकि अरब संसारमा महिला र पुरुष दुवै यौनको मामिलामा विभिन्न खाले दमनको सिकार भइरहेका हुन्छन्। विभिन्न सांस्कृतिक निषेधहरूले उनीहरूलाई सताइरहेको हुन्छ। महिलाहरू अलिक धेरै परेका मात्र हुन् नत्र पुरूषहरू पनि उत्तिकै पीडामा छन्। यसैको बारेमा म केही गर्न चाहन्थेँ। मैले अरब संसारमा भएका विभिन्न कलाकार तथा लेखकहरूको नेटवर्क पनि बनाएको थिएँ जो यस्तै खाले विषयहरूमा काम गर्न इच्छुक थिए। यसैले गर्दा पनि मैले इरोटिक र शरीरलाई केन्द्रबिन्दुमा राखेर म्यागेजिन निकाल्न सुरु गरेको हुँ।

यसको प्रकाशन रोकिनुभन्दा पहिला हामीले दुई वर्षसम्म नियमित अङ्कहरू निकाल्यौं। मैले रोकिनु किन भनेको हुँ भने दुई वर्षपछि हामीलाई कुनै आर्थिक सहयोग तथा विज्ञापन प्राप्त हुन छोड्यो। धेरै ग्राहक तथा विज्ञापन कम्पनीहरूले के भने भने उनीहरूलाई हाम्रो जस्तो प्रकाशनमा आफ्नो ब्राण्डलाई प्रचार गर्न जोखिम र अप्ठ्यारो दुवै भयो। यसले पनि अरब संसारमा भएको पाखण्डीपनलाई स्पष्ट पार्छ। किनकि यदि तपाईँ बैरूट आउनुहुन्छ भने सडकमा हेर्नुहोस् जहाँ राखिएका बिलबोर्डहरूमा महिलाको शरीरलाई बेचेर विभिन्न उत्पादनहरूको विज्ञापन गरिएको हुन्छ। त्यस्तै टिभीमा पनि देखिन्छ। म चाहान्थेँ मेरो पत्रिकाले यी सबै मुद्दाहरूलाई सामाजिक र सांस्कृतिक रूपमा उठाओस्। स्मार्ट तरिकाले प्रस्तुत गरोस्। तर त्यो ठूलै महत्वाकांक्षा र साहस साबित भयो।

त्यसमा आमपाठकको सुरूवाती प्रतिक्रिया कस्तो थियो?

साँच्चै भन्ने हो भने यो मेरो लागि नर्कको ढोका खोलेजस्तै भयो तर मलाई त्यस्तो हुन्छ भन्ने थाहा थियो। म आश्चर्यमा परिन। २००९ आजभन्दा अलिक सहज थियो किनकि त्यस बेला अतिवाद उचाइमा थियो। तर पनि त्यो अवस्थालाई हेर्दा त्यस्तो म्यागेजिन प्रकाशित गर्ने कुरा सोच्नै नसक्ने विषय थियो। अझ आगोमा घिउ थपेझैं त्यो पत्रिका एक महिलाले प्रकाशित गरिरहेकी थिई। त्यो म थिएँ। त्यसैले मलाई सबै प्रकारको नाम दिइयो र सबै प्रकारका धम्कीहरू आए। तर मैले कसैलाई पनि मतलब गरिनँ त्यसैले अगाडि बढिरहन सकेँ। मैले सेन्सरसिप पनि छलेँ, जसमा मलाई आन्तरिक मन्त्रालय र सूचना मन्त्रालयका दुई जना मानिसहरूले धेरै साथ दिए। उनीहरू म्यागेजिन निकाल्न रोक्नु भनेर आएका सबै दबाबहरूलाई झेलेर मलाई पत्रिका निकालिरहन सघाए।

तपाईं यौन र यौन स्वन्त्रताको विषयमा वकालत गर्नुहुन्छ। यो अरब संसारको नारिवादका लागि कति महत्त्वपूर्ण कुरा हो?

मलाई लाग्छ, अरू दुई अधिकारको बारेमा कुरा नगरिकन महिला अधिकारको कुरा गर्नु हुँदैन। ती दुई मुख्य मुद्दालाई छोडेर महिला अधिकारको बारेमा कुरा गर्नै सकिँदैन। पहिलो धर्म र दोस्रो अरब संसारमा धर्मको प्रभाव। यसले ठूलो समूहलाई ब्रेनवास गरेर नियन्त्रण गरिरहेको छ र महिलाप्रति हुने भेदभावलाई बढाइरहेको छ। धेरै मानिसहरू महिला अधिकार र महिला गौरवको विषयमा बोल्छन् तर उनीहरू धर्मको बारेमा कुरा गर्न डराउँछन्।

र, अर्को कुरा गर्नैपर्ने विषय भनेको यौन स्वतन्त्रता हो। जब म यौन स्वतन्त्रता भन्छु, अरब संसारमा धेरैले यसलाई गलत बुझ्छन्। यसको मतलब कोही महिला नाङ्गै भएर सडकमा हिँड्नु तथा भेटेजति पुरुषहरूसँग यौन सम्पर्क राख्नु हो भनेर मैले भनेको हुँ भन्ने बुझ्छन् उनीहरू। यो मैले उठाइरहेको कुरालाई कमजोर बनाउने सोच हो। जब म यौन स्वतन्त्रताको विषयमा कुरा गरिरहेको हुन्छु यसको मतलब हुन्छ कि मानिसले आफ्नो शरीरलाई आफ्नो भन्न पाउनुपर्छ र शरीरसँग के गर्ने के नगर्ने भन्ने अधिकार उनीहरूको हातमा हुनुपर्छ। दैनिक १० जना मानिससँग सुत्ने होस् वा विवाह गर्नुभन्दा पहिला कसैसँग नसुत्ने होस् यसको अधिकार आफूसँग हुन पाउनुपर्छ। यसको निर्णय आफैंले गर्न पाउनुपर्छ। यदि यौन सम्पर्क गर्ने कसैको इच्छा छ भने उसले विवाहसम्म ‘भर्जिन’ भइराख्ने बन्धनबाट मुक्त हुन पाउनुपर्छ। यदि कसैले यही छनौट वा स्वतन्त्रताको लागि हरेक दिन लडिरहनुपर्छ र यसको कारण पीडादायी जीवन बिताइरहनुपरेको छ भने यो छनौटको कुरा हैन, जबरजस्ती लादिएको कुरा हो। म त्यसको विरोध गर्छु।

तपाईंले अरबी महिलाको बारेमा गलत बुझिरहेका पश्चिमा मानिसहरूप्रति लक्षित गरेर ‘आई किल्ड सेहेरजादो’ नामको किताब लेख्नुभयो। पश्चिमा विश्वले आधुनिक अरब महिलाहरूको बारेमा के जानुन् भन्ने चाहनुहुन्छ?

मैले ‘आई किल्ड सेहेरजादो’ किताब दुईवटा कारणले लेखेको हुँ। पहिलो, तपाईंले भनेजस्तै पश्चिमा अरबी महिलाहरूको बारेमा भएको होलसेल सामान्यीकरणले म वाक्क भएको थिएँ। र दोस्रो, कारण के हो भने मैले यो अरबी महिलाहरूको लागि लेखेको हुँ किनकि हामी विभेदको सिकार हुन्छौं तर त्यहाँबाट आफूलाई स्वतन्त्र गर्न कुनै प्रयत्न गर्दैनौं। जस्तो कि- धेरै महिलाहरूले महिला अधिकार र स्वतन्त्रताको बारेमा कुरा गर्छन् तर यो धेरै मेहनतपछि र विशेषगरी आर्थिक रूपमा सबल नभई आउँदैन भन्ने कुरा थाहा पाँउदैनन्। महिला साँच्चै स्वतन्त्र र उन्मुक्त हुनुछ भने सबैभन्दा पहिलो सर्त आर्थिक सबलता हुनैपर्छ। यही एक मूल्य धेरैजसो अरबी महिलाहरूले अहिलेसम्म चुकाउन सकेका छैनन् वा चुकाउन चाहिरहेका छैनन्। त्यहाँ महिलाको ठूलो हिस्सा छ, जो पढ्नको लागि कलेज त जान्छन् तर उनीहरू यस्तो तरिकाले हुर्किएका छन् कि महिलाहरूको मुख्य उद्देश्य राम्रो श्रीमान् पाउनुभन्दा अरू पनि हुनुपर्छ भन्ने थाहा छैन। यसले उनीहरूको अध्ययनलाई केवल ‘टाइम पास’ मात्र बनाइरहेको छ। त्यसैले त्यो किताब अरबी महिला तथा अरबी आमाहरूको लागि पनि थियो। कसले यत्रा सबै दमदार मर्द र कमजोर निरीह महिला भनेर हुर्काइरहेको छ? महिलाहरू आफ्नो खुट्टामा आफैं बन्चरो हानिरहेका छैनन्?

र पश्चिमले अरब महिलालाई हेर्ने दृष्टिकोणको कुरा गर्दा ‘सबै मुस्लिमहरू आतङ्कवादी हुन्। सबै मुस्लिम महिलाहरू दबिएका छन्’ भन्नुजस्तै हो। उनीहरू सबै मानिसहरूलाई एउटै टोकरीमा हालेर नाम दिन सिपालु छन्। यसलाई कम गर्नुछ भने यहाँका मान्छेहरूको व्यक्तिगत सङ्घर्ष र सफलताका कथाहरूलाई ‘फोकस’ गर्नुपर्छ अनि मात्र अरबी संसार बारेका गलत बुझाइ र धारणाहरू परिवर्तन हुन्छन्। यहाँ धेरै कलाकार, लेखक, विद्वान, बिजनेस वुमन, तथा बिजनेस म्यानहरू छन् जसले गज्जब काम गरिरहेका छन्। र कहिलेकाहीँ नै सही, उनीहरू १२ वर्षमै जबरजस्ती बिहे गरिएकी तथा डरलाग्दो यौन हिंसामा परेकी बालिकाको कथाभन्दा पहिला प्रकाशित हुन लायकको काम गरिरहेका छन्। म भेदभाव र दुर्व्यवहार तथा हिंसाको कथाको महत्वलाई नकारिरहेकी छैन तर समुदायमा चेतना फैलाउन माथि भनेजस्ता राम्रा मान्छेहरूको कथा पनि लेखिनु जरुरी छ। यस्ता सामाग्रीहरूले सबै अरबी महिला तथा पुरुषहरू त्यस्ता छैनन् है भन्ने सन्देश पनि जान्छ र एकतर्फी सोचाइमा सन्तुलन पनि ल्याउँछ। किनकि सबै अरबी मानिसहरू एकै छैनन्। यो समयमा मानिसहरूलाई व्यक्तिगत रूपमा हेर्नु जरुरी छ किनकि हरेक दिन हामी कुनै न कुनै देशमा भएको आतंकवादको समाचार मात्र सुनिरहेका हुन्छौं। मान्छेले मान्छेको घाँटी काटिरहेको समाचार कति भयानक छ जसको नजिक हामी बाँच्नु परिरहेको छ।

न्यु योर्क टाइम्सले तपाईंलाई लेबनानकी ओप्रा (ओप्रा विन्फ्रे एक चर्चित अमेरिकन टिभी सो होस्ट हुन्) भनेको छ। यस्तै तपाईंलाई बैरूटकी क्यारी ब्राडसो (एचबिओको चर्चित सिटकम सेक्स एण्ड दि सिटी को मुख्य पात्र) पनि भनिन्छ। यस्तो तुलना सुन्दा कस्तो लाग्छ?

बैरूटकी क्यारी ब्राडसोको भनिएको बारेमा भन्दा म यसलाई अनावश्यक प्रशंसा हो भन्दिन किनकि मैले त्यो सिरिज हेरेको छु र अरूलाई जस्तै मलाई त्यो मन पर्छ। यसमा केही राम्रा कुराहरू पनि थिए। तर, तपाईं न्युयोर्क जस्तो सुविधासम्पन्न सहरमा बसेर यौनिकताको बारेमा लेख्ने महिला लेखकलाई बैरूट सहरमा बसेर यौनिकता र यौनिक स्वन्त्रताको बारेमा लेख्न सङ्घर्ष गर्ने लेखिकासँग तुलना गर्न सक्नुहुन्न। बैरूटमा हरेक शब्दहरूको कारण तपाईंमाथि आक्रमण हुन सक्छ वा धम्की र बेइज्जतीको सामना गर्नुपर्छ। त्यसैले मलाई लाग्छ, हामीले सबैलाई छुट्टाछुट्टै प्रसङ्ग र सन्दर्भमा राखेर बुझ्नुपर्छ। मलाई लाग्छ, हामीले यहाँ पाउन खोजेको उद्देश्य बिल्कुलै भिन्न छ। क्यारी ब्राडसोको उद्देश्य एक हिसाबले भन्दा मनोरञ्जन हो तर त्यसमा पनि आंफैलाई खोज्ने थोरै प्रयत्न भने भएका छन्। म त्यसको सम्मान पनि गर्छु तर मेरो उद्देश्य भनेको त्यस्तो मान्छे बन्नु हो जसले गलत बुझिएको सत्यलाई परिवर्तन गर्न सक्छ। र यहाँ यो सत्य धेरै धेरै कडा छ।

अर्कोतिर म ओप्रासँग कुनै हातलमा पनि मिल्दिन। उनी जो हुन् र जे गरेकी छन् म त्यसको ठूलो फ्यान हुँ। मेरो तुलना उनीसँग हुनु मेरो लागि ठूलो कुरा हो र मलाई आशा छ एकदिन म पनि त्यस्तै उचाइमा पुग्नेछु।

साभार- एलीडटकम

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.