‘पुरस्कारको दौडमा कहिल्यै भाग लिइनँ’

‘पुरस्कारको दौडमा कहिल्यै भाग लिइनँ’

मदन पुरस्कारमा सूचिकृत किताबहरु


राजेन्द्र पराजुलीद्वारा लिखित कथा संग्रह ‘शुक्रराज शास्त्रीको चस्मा’मा २० वटा कथाहरु छन्। अधिकांश कथाहरु राजनीति केन्द्रित छन्। तर, प्रेम, पत्रकारिताजस्ता फरकफरक क्षेत्रका विषयहरु पनि संग्रहमा अटाएका छन्। एउटै कथामा फरकफरक क्षेत्रका विषयलाई सफलतापूर्वक ‘ककटेल’ बनाएर लेख्नसक्ने र पाठकमा रुची कायम गराउनसक्ने आफ्नो विशिष्ट शैलीको परिचय दिएका छन्, पराजुलीले आफ्ना कथाहरुमा।

उनका कथामा फरकफरक पेशामा आबद्ध निम्न वर्गका मानिसदेखि उच्च वर्गका मानिससम्म पात्रका रुपमा उभिएका छन्। ती पात्रहरुले आफ्ना दैनिकी, अनुभव, विचार वा जिजिविषाका माध्यमबाट स्वयं आबद्ध क्षेत्रका कैयौं संगति/विसंगतिलाई उदाङ्गो पारेका छन्। कथा पढिरहँदा त्यसका पात्रहरुले हाम्रा जीवनका थरिथरिका भोगाइका फराकिलो सत्यको उजागर गरिरहेका प्रतीत हुन्छ। उनका कथाहरुले मनोरञ्जन कम, तनाव ज्यादा दिन्छन्। कारण, उनी जुन विषयमाथि कथा लेख्छन्, त्यसमा रहेका बेथितिको पर्दा उर्घाछन्। प्रेम जोडिएका कथा हुन् वा पत्रकारिता जोडिएका। उनी फुस्रा सौन्दर्य राग र पेशागत मर्यादा जोगाउनु पर्ने भ्रमबाट बाहिर निस्केका छन् । त्यस्तो कष्ट पनि गरेका छैनन्। देखेको र भोगेको विषयलाई निर्धक्कसित कथाको ढाँचा प्रदान गर्ने आँट गरेका छन्। हामीले भोगिरहेको समाज, राज्य व्यवस्था र अनेक किसिमका अप्ठ्यारा समयका तथ्यलाई आख्यानिकरण गरेर पाठकका दिमागमा ‘स्वीट पेन’ प्रवाह गर्नसक्नु पराजुलीको बिशेष खुबी र आँट हो।

उनका कथाहरुमा समाज संरचनाप्रति प्रचुर व्यङ्ग्य पनि पाइन्छ। समाजको गति, चेतनास्तर, सत्ता र शक्तिको दुरुपयोग, प्रेमलगायतका अनेक क्षेत्रका अनेक विसंगतिमाथि उनले सचेत व्यङ्ग्य प्रस्तुत गरेका छन्। कथाहरु पढिसक्दा उल्लेखित क्षेत्रहरुप्रति उनको आलोचनात्मक चेत महसुस गर्न सकिन्छ। कथाका अनेक घटनाहरुमार्फत उनको सालिन व्यङ्ग्य महसुस गर्न सकिन्छ। उनले सीमान्तकृत वर्गको आँखाबाट हेरिने संसारलाई कथाको रुपमा लेखेका छन्। कुरीतिहरुको जरो पहिल्याउन र त्यसलाई नङ्ग्याउन सफल भएका छन्।

समकालिन समाजका अनेक कुरुपता, ढोंग र अव्यवस्थाका फराकिलो सत्य थाहा पाउन उनका कथाहरु निकै सहयोगी छन्। यही समाज, यही व्यवस्थाहरुको गर्भमा कथाको संरचना निर्माण भएका छन्। उनले समाजको चेतना, असन्तुष्टि, दाउपेच वा ढोंगहरुलाई टपक्कै टिपेर कथा बनाएका छन्। यस्तो लाग्छ, उनले कथा होइन, समाजको चरित्रको दस्तावेज लेखेका छन्। कथाहरुमा हामी हाम्रै अप्ठ्यारा, आक्रोश पाउँछौं। किनकि, हामीले दैनिक भोगेकै पात्रहरु, दैनिक देखेकै घटनाहरु नै कथाका कच्चापदार्थ हुन्।

कथाहरु शक्तिशाली छन्। तिनले स्वयंको उद्देश्यलाई न्याय पनि गरेका छन्।

हालै मदन पुरस्कारको उत्कृष्ट नौभित्र पर्न सफल यस कृतिका यसका लेखक राजेन्द्र पराजुलीसँगको अन्तरवार्ता पनि यहाँ प्रस्तुत गरिएको छ।

मदन पुरस्कारमा मनोनित हुनुभयो। कस्तो लाग्दैछ?

रमाइलो लागिराख्या छ। मदन पुरस्कार गुठीले उत्कृष्ट ९ को सूची सार्वजनिक गरेलगत्तै केही प्रकाशक मेरा अन्य पुस्तकप्रति पनि चासो दिन थालेका छन्। शुक्रराज शास्त्रीको चस्मा कथासंग्रहको नयाँ संस्करण निकाल्नका निम्ति ती तम्तयार छन्, पारिश्रमिक राम्रो दिन्छु भनिरहेका छन्। नतिजा, मेरो पुस्तक अझै बढी पाठकका हातमा पर्नेछ। यसो हुनु राम्रो हो नि, हैन र!

पुरस्कारप्रति तपाईंको धारणा के हो?

उत्तिसारो चासो लाग्दैन मलाई पुरस्कारप्रति। फुटकर कविता, कथा र निबन्धमा पुरस्कृत हुनुबाहेक मैले आजसम्म कुनै पुरस्कार पाएको छैन। म पुरस्कार पाउँदा उत्तेजित हुने वा धेरै खुसी हुने र नपाउँदा दुःखी हुन्न। पुरस्कार पाइएला वा सम्मानित भइएला भनेर साहित्यमा लागेको होइन। यसको अर्थ म पुरस्कारको विरोधीचाहिँ होइन, तर आजका मितिसम्म पुरस्कारका निम्ति मैले एक पाइला चालेको छैन न त कसैलाई एक कल फोन नै गरेको छु। लेखकको काम राम्रो लेख्ने प्रयास गर्ने मात्रै भन्ने लाग्छ।

तपाईंको किताबमा त्यस्तो के छ, जसले मनोनित गरायो?

यो त मेरो पुस्तक जो–जसले छान्यो उसैलाई थाहा होला। मेरो कथासंग्रहमा मेरो मेहनत छ, त्यत्ति हो।

मान्छेहरु यसले पाउँछ, यसले पाउनुपर्छजस्ता चर्चा गरिरहेका छन्। तपाईंकै कुरा सुनौं न, कुनले पाउला? या कुनले पाउनुपर्छ?

उत्कृष्टमा परेका ९ मध्ये कुनै एकले नै पाउँछ। बजारमा चर्चा चल्नु स्वाभाविक कुरा हो, तर त्यस्तो चर्चाले पुरस्कारमा कुनै असर गर्ला जस्तो लाग्दैन। सामाजिक सञ्जालका चर्चाले फाइदा भने गरेकै छ, कम्तीमा लेखक र पुस्तकका नाम थप पाठकले सुन्न पाएका छन्।

आफ्नैले पाउनुपर्छ या पाउँछ भन्नुहुन्छ भने किन?

लेखनको करिब साढे तीन दशकको अवधिमा म कहिल्यै पनि पुरस्कारको दौडमा भाग नलिएको मान्छे। मसँग कसरी होला र यो प्रश्नको जवाफ!

तपाईंका कथाहरुले बिभिन्न क्षेत्रका फरकखाले सत्यको उजागर गर्छ। तिनले मनोरञ्जन कम, तनाव बढी प्रवाह गर्छन्। तनाव बाँड्ने कथा किन लेख्नुहुन्छ?

दुनियाँमा सुख असाध्यै कम र दुःख अधिक रहेको देख्छु। सदाचार, विश्वास, इमानदारी हराउँदैछ। राजनीति टुच्चा र विकृत बन्दै जाँदो छ। किनारीकृतका दुःख थपिँदो छन्, विभेदमा रत्तिभर कमी आएको छैन। धनी झन् धनी र गरिब झन् गरिब बन्दैछन्। समाज क्रमशः विशृंखलित, विखण्डित र ‘स्याडिस्ट’ बन्दैछ। यो अवस्थामा एउटा लेखकले के लेख्ने? यौन, प्रकृति वा म्याजिकल रियालिज्म–स्पिरिचुअल रियालिज्म अथवा परिकथा? म आफूले देखेको, भोगेको, सुनेको समाज, मेरो समय, म उभिएको जमिन र मान्छे लेख्ने प्रयासमा छु। सायद यसैलाई यो प्रश्नमा मैले कथामार्फत् ‘तनाव प्रवाह’ गरेको भनिएको हुनुपर्छ। ‘चारैतिर छलकपट व्याप्त भएको यो जमानामा सत्य बोल्नु एउटा क्रान्तिकारी कार्य हो,’ विश्वविख्यात लेखक जर्ज अरवेलले कतै भएका थिए। एउटा सत्य के हो भने, म साहित्य लेख्दा मनोरञ्जनचाहिँ लेख्न रुचाउन्न।

केही कथामा पत्रकारलाई नै पात्र बनाउनुभएको छ तर, तिनले देखाइरहेको सत्यचाहिँ उत्साहजनक छैन। आफैं पत्रकार भएर (आफू वा आफूजस्तैका) कथा लेख्न सहज भएर हो वा यस क्षेत्रको ‘कुरुपता’ देखाउन खोज्नुभएको हो?

म लामो समयदेखि पत्रकारिताका माध्यमबाट जीवन निर्वाह गरिरहेको छु। मैले पत्रकारिताभित्रका विकृत अनुहार थुप्रै देखेको र भोगेको पनि छु। निश्चितरुपमा पत्रकारिताको ‘सत्य’ उत्साहजनक छैन। जुन पेशामा म रातदिन संलग्न छु, त्यसका राम्रा–नराम्रा पक्ष मैले नलेखे कसले लेख्ला? अर्को कुरा कथामा पत्रकारका चिन्ता, पेशागत मर्यादाजजस्ता कुरा उठाउने जिम्मा मेरो पनि हो भन्ने ठान्छु।

‘भर्‍याङ’ शीर्षकको कथामा एउटा ‘झुर’ उपन्यासलाई मदन पुरस्कार पाउन लायक भनेका छन् समालोचकले। यही प्रसंगमा जोड्दा तपाईंका कथाहरु तपाईं स्वयंलाई कत्तिको ‘झुर’ लाग्छ?

केही वर्षअघि कान्तिपुर दैनिकमा ‘म एउटा औसत लेखक’ शीर्षकको आलेख (कन्फेसन) लेखेको थिएँ। त्यसबखत मेरा कतिपय शुभेच्छुकले ‘आफूलाई त्यसरी होच्याउनु हुन्न’ भनी सल्लाह दिएका थिए। म अहिले आफ्नो लेखनलाई त्यो औसतबाट माथि उठाउन कडा मेहनत गरिरहेको छु।

तपाईंको कथामा प्रतिनिधित्व गर्ने पत्रकार, नेता, साहित्यकार, प्रेमी कति प्रतिशत वास्तविक हुन्, कति कल्पना हुन्?

एक पटक मेरा कथाहरु पढिदिन आदरणीय पाठकलाई हार्दिक अनुरोध गर्दछु। अवश्य पनि यो प्रश्नको जवाफ मिल्नेछ। मेरा कथाका कतिपय नियमित पाठकले मलाई ‘आफ्नै कथा हो कि वा मैले पात्र पत्ता लगाएँ नि’ भनेका छन्। मैले कथामा उभ्याएका पात्र, घटना धेरै सत्यका नजिक हुन्छन्, तर त्यसमा आफ्नो क्षमताले भ्याएसम्म प्रचुर कला भने भर्ने गरेको छु।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.