‘महिलाले एउटा उपन्यास लेख्नु पुरुषले १० वटा लेख्नु बराबर हो’


हरिमाया भेटवालको पहिलो उपन्यास ‘कल्ली’ शनिबार सार्वजनिक भएको छ। उपन्यासको वरिपरि रहेर उनीसँग सेतोपाटीले केही प्रश्न सोधेको थियो।

कल्ली उपन्यास के हो ?
कल्ली गरिब, मध्यम र धनी जीवनस्तरका महिलाको अहिलेको अवस्था हो। जसमा परिवार जोडिन्छ, समाज जोडिन्छ, पति जोडिन्छ, धर्म जोडिन्छ आर्थिक अवस्था जोडिन्छ, रुढिवादी परम्परा जोडिन्छ। यी तीन अवस्थाका महिलाको पुष्टी गर्न कथा र उपकथा जोडिएको आख्यान हो कल्ली।

कल्ली नाम नै किन राख्नुभयो? यससँग तपाईंको बाल्यकाल या कुनै समयको स्मृति जोडिने भएर हो कि!

मेरो समयको भन्दा पनि जोडिएर आउने कथाको पात्रसँगको बाल्यकाल हो कल्ली। यो उपन्यास पढ्न थालेपछी कल्ली नाम किन राखियो भनेर प्रश्न उठ्दैन। नामको पुष्टी पनि उपन्यास भित्रै छ।

कविता/कथा लेख्नुहुन्थ्यो। मोटो उपन्यास लेख्दाको अनुभव कस्तो रह्यो?

एकदिन एकहप्ता वा एक महिनामा लेखेर सकिने कविता वा कथा जस्तो होइन उपन्यास! यो त असनको गल्ली जस्तो बक्र रेखैरेखा हिँड्नु पर्ने बाटो हो। असनको गल्लीमा हराइयो भने बाटो सोधेर पनि फर्किने बाटो भेटिन्छ तर उपन्यासमा कसैलाई सोधेर बाटो भेटिदैन। आफ्नो बाटो बनाउन आफैंले बनाउनुपर्छ। आफ्नै पैताला उठाउनु पर्छ। अझै बाटोमा बिषालु सर्प वा जनाबरहरु भेटिए भने हतियार पनि उठाउनु पर्छ। हतियार चलाउन जान्दिनँ भनेर हुदैन! परेपछि झटारो पनि हान्नु पर्छ। कहाँ बास बस्ने,कहाँ पुगेर हिँड्न सुरु गर्ने! के खायो भने बिरामी भइन्छ वा बिरामी हुँदा के खानुपर्छ त्यो सबैको हेक्का हुनु पर्ने कुरा सिकायो उपन्यासले।

त्यो घटना, जसले तपाईंलाई उपन्यास लेख्न घच्घच्यायो। किन लेख्नुपर्छ भन्ने लाग्यो? पुस्तकमार्फत् तपाईंले भन्न खोज्नुभएको के हो?

कान्तिपुर दैनिकको फ्रन्टपेजमा ठूलो फोटो थियो त्यो दिन। एउटी बाईस चौबीस उमेरकी यौवना बाँसको सोतेले चुलोमा आगो फुकिरहेकी र छेउमा टुक्रुक्क एक बृद्ध उसका ससुरा बा निरास भएर त्यही बलेको आगो हेरिरहेको फोटोले मेरो ध्यान तानियो र मैले सबै लेख पढे। उनका छोरा पैसा कमाउन खाडी मुलुक गएका रहेछन्। तर उतै मान्छे मारेको अभियोग लागेर मृत्यू दन्ड पाएका, बिना अपराध। मार्ने भारतीयहरु थिए तर भाषा नबुझेको कारणले नेपालीले सजाय पाए। मारिनेको परिवारले ब्लडमनीबापत पचासलाख रुपैया मागे। पाँच हजार कमाउन नसकेर घर साहुको बन्दकीमा राखी विदेशीएका ती युवाले पचास लाख कहाँबाट ल्याउने? गरिबीको पहाड पल्टाउन हिँडेको युवालाई त्यही पहाडले किचेको बेला उनका आफन्तको मनोविज्ञान कस्तो होला? मनभित्र चर्के कमिलोले टोके जस्तै दुखेर लेख्न थालिएको हो यो उपन्यास। एउटा सत्य घटनालाई समातेर लेखिरहँदा अर्को सत्य घटना जोडिन आयो र त्यसलाई उपकथा बनाएँ। लेख्दै मेट्दै गरेछु छ वर्ष! कहिले मनमै लेख्यो र मनकै ईरेजरले मेट्यो, कहिले खातामा लेख्यो, पछिल्लो समय ल्यापटपमै लेखियो। ईरेजरनै चाहिएन माउस भए पुग्ने!

जुन विषयमाथि तपाईंले उपन्यास लेख्नुभयो, जुन सुरुमा बुझ्दा अर्कै थियो होला र लेख्दै जाँदा अर्कै पाउनुभयो होला! केही त्यस्ता घटना छन्, जसले तपाईंको बुझाईलाई नै बदलिदियो?

सुरुमा लेखिएको कति कुरा मेटियो लेख्दै जाँदा अरुको कति उपन्यास पढियो। सजिलो ठानेर लेख्न सुरु त गरियो तर लेख्न थालेपछि थाहा भयो बरु गर्भवति हुँदा वर्ष दिनमा बच्चा जन्माइन्छ तर उपन्यास? त्यो भन्दा नि गाह्रो काम हो। लेख्न जान्या छ भनेर जे नि लेख्नु भएन! रातको निद्रा मात्रै जादैनँ बसालेको तरकारी डढेर जान्छ,डिप्रेसन पनि हुन्छ। सुगरको मात्रा नि बढ्छ। प्रेसर कहिले माथि त कहिले तल झर्छ। एउटा लेखक त्यो माथि पनि महिला लेखकले उपन्यास ल्याउनु भनेको एउटा पुरुषले १० ओटा उपन्यास ल्याउनु बराबर हो। लेख्नु भनेको एक्लिनु हो, महिलाहरु एक्लिन कमै पाउछन्। यो उपन्यासमा विदुषी पात्रको भुमिकामा एक शिक्षित महिला जो मास्टर्स पढेकी छे, कमाउछे, सबै अधिकारको कुरा बुझेकी छे तर घरभित्रै अधिकार विहिन छे। किन तल्लो वर्गदेखि माथिल्लो वर्गसम्मका महिलाका भावनात्मक पीडा एउटै हुन्छन्? उपन्यास लेख्न सुरु गर्दा विदुषी पात्रको भुमिका पत्रकारको थियो पुरै कथा लेखिसकिएपछि फेरि अर्को पीडाको सत्य कथांस बोकेर एक फेसबुककी बैनी मेरो अघि आइन्, उनको कथाले मनमा पहिरो गयो। धेरै सोचेपछि फेरि लेखिसकिएको तिनै बैनीको जीवनलाई विदुषीको जीवन बनाएँ। ती महिलाको जीवनमा सोचाइको दरिद्रताले पारेको सम्बन्धको सकसलाई प्रस्ट पार्न उनकै कथांस लेखियो अनि। शहरी जीवनमा धेरै विदुषी पात्र छन् मैले देखेका। राजनेतादेखि कलाकार, साहित्यकार, प्राध्यापक आदि ईत्यादि।

तपाईंको उपन्यास पढ्ने लक्षित वर्ग को हुन्? तिनले किन पढ्ने?

उपन्यासमा सत्तरी प्रतिशत जुन वर्गको जीवन छ ती वर्गसम्म उपन्यास नपुग्ला कि भन्ने चिन्ता छ। तर पनि तिनै वर्गको उपन्यास किन लेखियो त प्रश्न उठ्न सक्छ। जो दमित छ जो पीडीत छ जो आफ्नो पिडा लेख्न सक्दैन तर भोग्न सक्छ असली नायक तिनिहरु नै हुन् मेरा लागी। ती नायकहरुलाई राज्यले देखोस, पिडा दिने व्यक्तिले देखोस्। तिनीहरुको पीडा सार्वजनिक हुन् र पीडा मुक्त गर्न सम्बन्धित पक्षको ध्यान जाओस् भन्ने एउटा आशा हुँदोरहेछ। अर्को कुरा, केही व्यक्तिलाई हेरेर अधिकांशलाई एउटै दृष्टिकोण बनाइन्छ, त्यो गलत हो । समग्रतामा चियामा थोरै चिनी घोलेर यो चिनी खानोस् भनिँदैन, चिया खानोस् भनिन्छ। तरकारीमा थोरै नुन राख्दैमा यो नुन खानोस् भनिँदैन, तरकारी खानस् नै भनिन्छ तर कतिपयले तरकारीलाई नुन बनाइदिएकाछन्, त्यो पनि ‘आयो नुन’। उदारणको लागि जस्तै औलामा गन्न मिल्ने केहि उच्च वर्गका महिलाको जीवनलाई हेरेर राज्यभरिका सबै महिला सम्पन्न भए भन्नु गलत हो।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.