१० लाख लिएर फिल्म लेख्दैछन् बुद्धिसागर


स्वभावैले ‘फिल्मी’ बुद्धिसागर दुईवटा उपन्यास लेखनपछि अब फिल्म लेख्दैछन्।

कुनै दिन यस्तो थियो–  यी ‘हिट’ लेखक बुद्धिसागरलाई साथीहरुले अभिनयको हुटहुटी जगाइदिए।

हट्टाकट्टा ज्यान भएका बुद्धिसागर हरेक कोणबाट ‘हिरो’ देखिने ती साथीको तर्क थियो। ती साथीमध्ये एक थिए, रंगकर्मी कृष्ण शाह ‘यात्री।’ हवाईपत्रिकाको माध्यमबाट मित्र बनेका यात्रीले भने, ‘साँस्कृतिक संस्थानमा अभिनयको अडिसन खुलेको छ, ट्राई मार।’

हो न हो, बुद्धिसागर हौसिए।

अडिसनका लागि नाचघर पुगे। निर्णायकमध्ये एक थिए, रंगकर्मी अशेष मल्ल। मल्लले बुद्धिसागरलाई अडिसनका लागि अभिनय गराउनुअघि नै सोधे, ‘के गर्नुहुन्छ?’

‘कविता लेख्छु सर,’ बुद्धिसागरले जवाफ दिए।

‘सुनाउनुस् त एउटा।’

एउटा मात्र किन, खल्तीभरी कविताको मुठै थियो। बुद्धिसागरले सुनाए।

कविता सुनेपछि मल्लले यस्तो जवाफ दिए, जुन सुनेर बुद्धिसागर न दुःखी हुन सक्थे, न खुसी नै। एकातिर उनी अडिसनमा फेल भएका थिए भने, अर्कातिर कविताबाट तारिफ मिलेको थियो। मल्लले बुद्धिसागरलाई अडिसनमा ‘फेल’ भएको संकेत गर्दै भनेका थिए, ‘कविता राम्रो लेख्नुहुँदो रै’छ, त्यतातिर तपाईंको भविष्य राम्रो छ।’

नभन्दै पछि बुद्धिसागरलाई पहिलो कवितासंग्रहले नै राम्रो कविका रुपमा खडा गर्यो। राष्ट्रिय कविता महोत्सवमा प्रथम नै भए।

बुद्धिसागरसँग यही समयको अर्को ‘रोचक कहानी’ पनि छ। उतिबेला बुद्धिसागरजस्तै अहिलेका चल्तीका अभिनेता दयाहाङ राई पनि कवि बन्ने दौडमा थिए। दुवैसँग अभिनयसमेत गर्ने ठूलो रहर। साथी–सर्कलमा चर्चा चल्यो, विजय विष्फोटले निर्देशन गर्न लागेको नाटकको लागि कलाकार चाहिएको छ। बुद्धिसागर र दयाहाङ राई दुवै हान्निए। हट्टाकट्टा ज्यानधारी बुद्धिसागरले दयाले भन्दा ठूलै भूमिका पाए। तर, बुद्धिलाई न राम्रोसँग डायलग बोल्न आउँथ्यो, न हाउभाउ दिन नै। रिहर्सल चल्दै जाँदा उनको रोल क्रमशः घट्दै ठिंग उभिरहने गेटपालेमा खुम्चियो। न डायलग थियो, न हाउभाउ नै।

‘कवितामा गोल्डमेडल जितिसकेको मान्छेले यस्तो रोल पनि गर्छन्, मान्छेले के भन्लान् जस्तो लागेर गायव भइदिएँ,’ बुद्धिसागर सम्झिन्छन्, ‘दुई–चार दिन खोजी गरे अरे भन्ने सुनेको थिएँ। पछि गुरूकुलमा नाटक मञ्चन भयो, म हेर्न गइनँ।’

सँगैका साथी पछि अभिनेता बने। बुद्धिसागरको कवि परिचय फेरिएर उपन्यासकार बन्यो। बेला–बेला दयाहाङसँग भेट्दा बुद्धिसागर भन्दा रहेछन्, ‘म कवि बन्न हिँडेको कवि रहिनँ, तिमी कवि बन्न हिँडेको कविता भयौ।’

तर, बुद्धिसागर पनि अभिनेता बनिछाडे। करिब ६ महिनाअघि रिलिज भएको फिल्म ‘लभ सासा’मा उनी लेखककै भूमिकामा देखिएका थिए। फिल्मकी सासा अर्थात्, अभिनेत्री केकी अधिकारी उनकी ‘फ्यान’ हुन्छिन्। निर्देशक प्रचण्डमान श्रेष्ठको सोचमा पर्दामा छाएका उनै बुद्धिसागरले अब छुट्टै फिल्मी संसार निर्माण गर्ने भएका छन्।

हाल लेखनको चरणमा रहेको फिल्म पश्चिम नेपालको परिवेशमा खिचिने बुद्धिसागरले जानकारी दिए। कथाबारे विस्तृत खुलाउन चाहेनन् तर, आफू जोडिएको कथा हुने उनले संकेत दिए। फिल्मलाई कबड्डी निर्देशक रामबाबु गुरुङले निर्देशन गर्नेछन्। रामबाबु गुरुङ तिनै हुन्, जसले अर्का कवि तथा लेखक उपेन्द्र सुब्बालाई फिल्म लेखनतिर तानेका थिए।

चपली हाइट, फिटकिरीजस्ता फिल्मका निर्माता अर्जुन कुमारले निर्माण गर्ने फिल्मको लेखनतिरका कथा, पटकथा, संवाद सबै बुद्धिसागरले नै भ्याउनेछन्। यसका लागि उनले १० लाख लिएको स्रोत बताउँछ। बुद्धिसागरले यसलाई स्वीकार गरेका छन्। एउटै फिल्म लेखेर यति रकम नेपाली फिल्म क्षेत्रमा अहिलेसम्म विरलै लेखकले पाएका छन्।

बुद्धिसागरलाई फिल्म लेख्न घच्घच्याउने पनि निर्माता अर्जुनकुमार नै रहेछन्। ‘कर्नाली ब्लुज निस्केपछि अर्जुनकुमारले भेटेपिच्छे फिल्म लेख लेख भनिरहन्थे,’ बुद्धिसागरले सेतोपाटीसँग भने, ‘रामबाबु गुरुङ पूर्वको भएकाले यो कथामा जोखिम र चुनौति मोल्न चाहेपछि प्रक्रिया अघि बढ्यो।’

त्यसो त, बुद्धिसागरको लेखकीय स्वभाव नै ‘फिल्मी’ छ। समीक्षकहरु उनको लेखाइमा ‘चलचित्रमा जस्तै दृश्य हेर्न पाइने’ बताउँछन्। लेखनमा मात्र होइन, कुनै घटना, किस्सा, कथा सुनाउनुपरे शरीररलाई भावअनुसार चलाउने उनी राम्रा कथावाचकसमेत हुन्। अनुहारलाई उस्तै तोडमरोड गर्छन्। सायद, यसैकारण होला, उनको साथी–सर्कलसमेत ‘फिल्मी’ छ।

काठमाडौं आएदेखि नै उनी त्यस्ता साथीका संगतमा परे, जो अत्याधिक फिल्म हेर्थे। संसारभर बहस चर्काएका फिल्म हेर्ने साथीका कारण बुद्धिसागर पनि फिल्मको लतमा परे। उनका साथीमध्येका यज्ञश, दीपेन्द्र लामा त फिल्म लेखक नै भइसकेका छन्। लामा त ‘घामपानी’बाट निर्देशक नै भए। यज्ञशको लेखनमा बनेको ‘फिटकिरी’लाई अहिले उनकै निर्माता अर्जुनकुमारले निर्माण गरेका थिए।

अर्जुनकुमार नयाँ सोच बोकेर आउने नयाँ निर्देशकलाई भित्र्याउने निर्माता मानिन्छन्। उनले यसपटक भने उपन्यासकारलाई लेखकमा भित्र्याए।

उपन्यास लेख्दाको थकान हटाउन र छुट्टै विधाको आनन्द लिनका लागि अर्जुनकुमारको प्रस्तावलाई स्वीकारेको बुद्धिसागरको भनाइ छ। ‘उपन्यास लेख्दा–लेख्दा एकखालको थकानले गाँजेको थियो,’ बुद्धिसागरले सुनाए, ‘राइटर्स ब्लकजस्तो समस्या देखिएकाले नयाँ विधामा काम गर्दा अर्कैखाले आनन्द पाइएला। लेखकीय मर्म बुझ्ने र आफूले खोजेजस्तो सिर्जनात्मक स्वतन्त्रता दिने निर्माता/निर्देशक भएपछि लेख्न खोज्दैछु।’

फिल्मको कथासँग आफू पनि जोडिएकाले बुद्धिसागरसँग कथा तयार छ। तर, जसरी उनले उपन्यासमार्फत् ‘कथालाई मिहिन ढंगले बुन्न सिपालु’ परिचय पाएका छन्, फिल्ममा पनि उनले यही शैलीलाई नै प्रयोगमा ल्याउनेछन्। फिल्ममेकिङ तथा लेखनसम्बन्धि कुनै औपचारिक कक्षा नलिएका उनी फिल्म पनि आफ्नै शैलीमा लेख्ने बताउँछन्।

‘लेख्न समय लाग्दैन, सोच्न समय लाग्छ,’ बुद्धिसागर आफ्नो शैली आफैं प्रष्ट्याउँछन्, ‘लेख्दा मलाई एकदमै डिटेलिङमा लेख्नुपर्छ। र, मलाई ओपनिङ एकदमै गज्जब हुनुपर्छ भन्ने लाग्छ। पाँच-सात पेजसम्म तानेन भने पाठक अघि नबढ्न सक्छन्। फिल्म पनि त्यस्तै हो। पाँच–सात मिनेटसम्म झिँजो लाग्यो भने अगाडि नहेर्न सक्छन्। फिल्म हेर्दा म पनि त्यस्तै हो। जस्तोसुकै तारिफ पाएको फिल्म होस्, पाँच–सात मिनेटसम्म तानेन भने हेर्नै बन्द गरिदिन्छु। हेर्दा–हेर्दै म भएको भए यस्तो गर्थें भन्ने लाग्छ, अब गर्दैछु। जबसम्म सुरुदेखि अन्त्यसम्म खर्रर सुनाउन सक्ने हुँदिन, तबसम्म लेख्दिनँ। सुन्नेलाई आनन्द आयो भने मात्र लेख्न बस्छु।’

जसरी उनले उपन्यास लेखन अनुभवलाई फिल्म लेखनमा उपयोग गर्दैछन्, उनको उपन्यास लेखनी पनि ‘फिल्मी’ छ। लेख्दालेख्दै कुनै पात्रको हाउभाउ चित्रण गर्नुपरे उनी लेखनकक्षमा अभिनय गर्न थाल्छन्। अभिनय गर्दा आफ्नो शरीर जता लच्किन्छ, जस्तो हाउभाउ निस्कन्छ, शरीरले जस्तो ताल पक्रिन्छ, त्यसलाई खुसुक्क लेखनमा घुसाइहाल्छन्। त्यसैले उनी आफूलाई ‘कोठे अभिनेता’ मान्छन्।

त्यति मात्र होइन, उपन्यास/कथा लेख्दासमेत उनको दिमागमा क्यामरा ‘फिट’ भएको हुन्छ। क्यामराले जसरी खिच्छ, लेख्दा क्यामराकै कोणबाट खिचेर लेख्ने बताउँछन्। फिल्म लेख्दै गर्दा उनले पुरै सुटिङमा कलाकारको हाउभाउसमेत सोचिसके।

त्यसो त, बुद्धिसागर फिल्मको लतबाट मुक्त हुन नै कहाँ सकेका छन् र! त्यसैले उनको यो फिल्म लेखन फिल्मप्रति धन्यवाद ज्ञापन हो रे।
‘जतिबेला म अत्यन्तै विचलित थिएँ, त्यस्तोबेला फिल्मले मलाई बचाएको छ,’ बुद्धिसागर भन्छन्, ‘लामो समय फिल्म मेरो साथी बनेको छ। फिल्मले मलाई बाँच्ने ऊर्जा दिएको छ। त्यतिबेलै मैले सोचेको थिएँ, कुनै न कुनै दिन फिल्म लेख्छु। फिल्म लेखक नै बन्छु भनेर लेख्न थालेको होइन। फिल्मलाई ‘थ्यांक्स गिभिङ’ हो।’

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.