नीलो बह र कर्नाली 

कविताबारे कवि


दिनेश अधिकारीको ‘नीलो बह’ कविता छ।

हामी आठ जना (चालकसहित) सुर्खेतबाट दैलेखतिर उकालो चढिरहेछौँ। हामीलाई कालीकोटको लालुखुलालुसम्म पुग्नुछ।

‘ए आम्मा …! दाइ के गर्नु भा’को? झन्डै गा’को त गाडी भीरबाट। सकिन्थ्यौँ त हामी आठै जना।’

‘नडराउनु न गाडी साइड लगाको, फोटो खिच्न,’ चालकले हामीलाई थमथम्याए।

‘यसरी पनि साइड हुन्छ त? टायर र भीरको दुरी त एक हात पनि छैन,’ हामी झोँक्कियौं।

‘तपाईंले भित्रबाट देख्दा त्यस्तो देख्नु भो। चलाउने मान्छेलाई थाहा हुन्छ नि,’ ड्राइभर झनै झोँक्किए।मेरो मुटु मुखमा आएर अड्कियो।फोटो खिच्यौँ। काफल बेच्न लाम बसेकाहरू बाटोमा खुब भेटिए। मोटरलाई रोकेर काफल किन्ने मन पनि थियो। तर, हिम्मत जुटिरहेको छैन।

हामीभन्दा अगाडि हामीलाई बाटो देखाउने मोटर कुदिरहेछ। उनकै इशारामा हामी पनि कुदिरहेछौँ। गुराँसे आइपुग्छ। मोटर रोकिन्छ। मन अलिकति रोकिन्छ। मुटुको चाल उस्तै बढिरहेकै छ।

‘पानी पिउन साउजी, गुराँसेको पानी,’ सुकिरहेको मुखबाट अलिकति थुक निल्न घाँटी तन्काउँदै पानी माग्यौं।

‘अम्खोरामा छ,’ केटो बोल्यो।

भात खाने टेबलमा बसेर दुई जना भात खाइरहेका छन्। दुईवटा मोटरबाट होटलमा हाम्फाल्ने हामी पन्ध्र भयौँ। भात खाने टेबलमा थालभरी भख्खर टिपेर ल्याएको रातो खुर्सानी छ। टपक्क टिपेर चपाउँझैँ पनि भयो।

‘काँ जान लाग्नु भा हो र?,’ साउनी बोलिन्।

सानो छोरो बोकेर बसौँ बसौँ भन्दै इशारा गर्ने साहुजी हुन् झैँ लाग्यो।

कालीकोट। लालुखुलालु।

ए, कर्नाली!

हजुर!

‘राती पुग्नुन्च, अब तपैंहरु त,’ साउजी बोले।

होटेलको छानोलाई छोएर आरुबखडा ओथारो बसेको छ।

‘के विधि हो आरुबखडा पनि, खान पाइन्छ साउजी?’ सोधेँ।

‘मनलाउँदी पाइन्च,’ साउजीले बोटतिर आँखा तन्काउँदै बोले।

आरु बखेडाको फेदमा आलो रगत बगेको छ। छेउमा रगत लागेको खुर्पा छ। यो खुर्पाले के काटेछन् साउले? खसी हो कि! मैले अन्दाज लगाएँ।

‘साउजी! खसीनै बजाउनु भो कि क्या हो खुर्पाले?’ सोधेँ।

‘हैन, कुख्रा हो हजुर,’ साउजी बोले।

‘कुखुरा बजाउन खुर्पा? करौँतीले काम चल्थ्यो त,’ मैले भनेँ।

‘करौँती नभएर,’ उनी बोले।

‘काफल आयो है,’ हामीलाई बाटो देखाउने गाइड बोले।‘कता छ काफल?’ उनीतिरह हेर्दै सोधेँ।

‘भात खाने टेबलमा,’ उनी बोले।

आरुबखडा खान छाडेर भात खाने टेबलमा पुग्यौँ। झन्डै एक पाथी काफल टेबलमा आएर हाम्लाई हेर्दै रैछ। अघि देखि रातो खुर्सानीले त हेरिरहेको थियो। नुन पनि आयो। मैले एक मुट्ठी काफल समाएँ र एकाएक मुखसम्म पु¥याएँ। ‘काफल खान नजान्नु भा कि के हो? त्यसरी हैन नि त काफल खाने,’ काफल बेच्नेको आँखा मैतिर रै’छ।

‘खान नजानेको हैन, एकैचोटि मुखमा हालौँ र स्वाद लिउँ भनेर नि,’ म जान्ने पल्टिएँ।‘भात नरुच्ला नि फेरि काफल खाएर,’ उताबाट ‘भात साउजी’ बोले।

‘नरुचे नरुचोस्, छ महिनादेखि खाएको भात हो। एक छाक नखाएर केही हुन्न। काफल फेरि यसरी खान पाइने हैन,’ मनमनै जवाफ फर्काएँ र एउटा खुर्सानी लिएर त्यसलाई आधा भाँचेँ। नुन चोपेँ र चरप्प चपाएँ। ‘ओहो मुखबाट पानी आयो, के सारो चपाउनु भा’को,’ हाम्रा ड्राइभर बोले।
‘तपाईं नि चपाउनु न,’ मैले भनेँ।

कुखुरा पनि तयार भैसकेको थियो, खुर्पा पनि अघिकै थियो होला!…खाना खाएर हामी गुराँसेबाट ओरालो लाग्यौं।‘अघि तपाईंहरूले चाल पाउनु भएन, गाडीको बे्रक फेल भो। मैले तपार्इँहरूलाई नभनेको, आत्तिनुहुन्छ भनेर। भन्न पनि भएन नि,’ गाडी चलाउने दाइ बोले। सातो गयो! तै बचिएछ!यत्ति भन्दा नभन्दै मैले गाडी रोक्नलाई अनुरोध गरेँ र भुईंमा पसारिएर लामो सास फेरेँ। ‘हामी आठ जना त एकै चिहान पो हुने रैछौँ त,’ आकाशतिर आँखा फर्काउँदै ड्राइभर दाइलाई धन्यवाद भनेँ।

उनले गाडीको टायर छामे र भने, ‘आगै निस्किन्छ कि के हो टायरबाट। उनले गाडीबाट दुई बोत्तल मिनरल वाटर निकाले र टायरमा खन्याउन लागे। पाइन दे’को जस्तो भो।

‘चिन्ता नगर्नु है, म जसरी पनि पु¥याउँछु। बाटो यही हो। हामी आठै जनालाई बाटो थाछैन क्यारे।’ हामीलाई बाटो देखाउने मोटर हामीभन्दा धेरै पर पुगिसकेको छ,’ ड्राइभर बोले।

‘बाँचिन्न कि के हो, बाटो नै यस्तो छ, कसरी पुग्नु कर्नाली?’

तपाईं एकचोटी आउनेलाई त यस्तो छ, यहाँका बासिन्दालाई कस्तो होला,’ ड्राइभर दाइले सम्झाउन थाले।

रातको १०ः४५ बजे कालीकोटको लालुखुलालु पुग्यौँ।…अस्ती राती त जसोतसो टर्च बालेर भीर छिचोल्दै तुइन चढेर लालुखुलालु पुग्यौँ। तुइन चढ्ने बेलामा घरबाट फोन आएको थियो।

फोन उठाउन नपाउँदै घरबाट सोधियो, ‘कस्तो रै’छ कर्नाली?’

जवाफमा मैले भनेको थिएँ, ‘खै बत्ती छैन, एउटा टर्चको उज्यालोमा चार जना हिँडेका छौँ। भीरालो बाटो छ भन्नु भएको छ। अब केही छिनमा तुइन तर्नुपर्छ भन्नु भएको छ। अहिले त कर्नाली सुसाएको बाहेक केही देखिँदैन। जताततै अँध्यारो छ। जताततै कालो छ। कालो छ कर्नाली।’…जाँदा बात गर्न नपाए पनि फर्कँदा तुइनको लट्ठा तान्दै गरेका एक दाजुसँग बात गर्न पाएँ। उहाँको दुई हात तुइनको लट्ठा समाइरहेको हुन्थ्यो। मुखको हाउभाउचैँ मेरो अनुहारमा आएर ठोकिन्थ्यो।

‘दाइ धेरै भो है, तपाईंले यो लट्ठा तान्न थाल्नु भा’को?’

‘धेरै भो गयो नि। कति भो कति भो। जहान बच्चा पाल्या छु, यही लट्ठा तानेर,’ अनुहारबाट पलाएको पसिनाको ढिक्का निरन्तर भुइँमा खसेर फुटिरहेको थियो।

‘तुइनको लट्ठा सारै बलियो हुन्छ है।’ म बोलेँ। तुइन तान्ने दाइको हातले कानको ध्यान पनि लट्ठातिरै खिचेको थियो सायद! बोलेनन्। हो कि, फतर फतर बोलिरहेको मेरो झर्को लाग्यो! बोलेनन्।तुइनमा आउने जानेको क्रम चलिरहेको छ। अबको केही छिनमा म तुइन चढेर पारी हुनेछु।

‘बलियो त बलियै हुन्छ नि। बलियो भएन भने त कसरी तार्नु सारा भारी। भारी के गाउँलाई नै तार्नु पर्छ। तर यसपाला चैँ यो लट्ठा अलि कमसल पर्यो। हेर्नुस् त, खिइँदै गइरहेको छ,’ लौ! सुनेका रै’छन् त! प्रश्नको आश मारिसको थिएँ। उत्तर दिए। खिइँदै गएको लट्ठा देखाउँदा मेरो खुट्टा र मन एकैचोटी काँप्यो। अब तुइनमा चढ्ने पालो मेरो।

‘यो तुइनबाट कोही खसेका त छैनन् नि कर्नालीमा?,’ यो प्रश्नकोचाहिँ जवाफ आएन।

पारिपट्टी भारीमा एउटा सिङ्गै पसल बोकेर एक जना दिदी तुइनको पर्खाइमा थिइन्।

‘त्यता नजानुस् है, चिप्ल्यो कि गयो त। अस्ती नै एकजना यहीँबाट कर्नालीमा गए। अलि अस्ती नै दुई जना एकैचोटी गए। आजसम्म भेट्टाका छैनन्। भेट्टाइन्न पनि,’ हत्त न पत्त गोडालाई पछाडि चलाइहालेँ।

‘दिदीले त पसलै पो ल्याउनु भो त?’

‘के गर्नु नल्याएर, सधैँ सकिन्न। बच्चाहरू छन्। बूढाले सक्दैनन् थला परेका छन्, भीरबाट खसेर। पाता भाँचिएको भन्छन्।  जचाउन लैजान पा’छैन। पैसा पनि छैन।  यति नगरे त बच्चाहरू भोकले मर्छन्। लोग्ने त यसै मर्ने नै भैगए।’ दिदीले मनको बह कहिन्।

करौँती जस्तो पहाड मेरो टाउकोमाथि थुपुक्क बसेको छ।

‘कति जना बच्चा छन्, हजुरका?’

‘तीन्टा छन्?’ तीन्टै छोरी।

‘थाप्लो दुख्दैन है दिदी?,’ तुइन उनको अगाडि आएर रोकियो। तीन जना फेरि झरे। उनले पहिला आफ्नो भारी तुइनमा राखिन्। अनि आफू बसिन्। तुइन कर्नालीको बीचमा एकाएक पुग्यो।

‘थाप्लो दुख्दैन है दिदी?,’ यसको पनि उत्तर आएन। हामी विस्तारै उकालो लाग्यौँ।

बाटो देखाउँदै अगाडि जानेले भने, ‘पछाडि फर्केर नहेर्नुस् हैँ रिँगटा लाग्ने मान्छे त जान्छ त सोझै कर्नालीमा। समाउने ठाउँ छैन। पात पनि छैन,’ अघिको दिदीलाई हेरेँ। तुइन पारि पुगिसकेको थियो।

हिजोको रात सम्झिएँ। ओढ्ने नभएर घरी लगाएको सर्ट र घरी टिसर्ट ओढ्यौँ। सिरानी नभएर झोलालाई सिरानी बनायौँ। जुत्ता पनि फुकालेनौँ। तन्ना त कहाँ पाउनु। काठको फलेक जिन्दावाद! निद्रा लागेन। मनमा नीलो कर्नाली आइरह्यो। मनमा नीलो बह आइरह्यो।

मैले भेटेको र कुरा गरेको पच्चीस वर्षको मान्छे किन पैँतालीस वर्षका देखिएका होलान्? केले चुसेछ तिनीहरुलाई? मनमा कर्नाली सल्बलाइरह्यो।

आफ्नै मनले अनुमानित उत्तर दियो, ‘लाग्यो–नेताहरूले चुसिसकेछन् कर्नालीलाई। कर्नाली बगेको हैन, पीर बगेको जस्तो लाग्यो।
अनि याद आयो दिनेश अधिकारीको कविता! कण्ठजस्तै कविताका हरफहरु याद गर्दै ओठ चलाउन थालेँ। अनि कवितासँगै निदाएँ! जुन कविता मलाई निकै मन पर्छ।

 

कविताः नीलो बह

                       –दिनेश अधिकारी

 

देश एउटै हो भन्नुहुन्छ

झण्डा एउटै हो भन्नुहुन्छ

कानून एउटै हो भन्नुहुन्छ

सरकार एउटै हो भन्नुहुन्छ

 

तर हामी

किन आकाश–पाताल जस्तै फरक छौं?

तपाईंको शरीर हो कि लुगाबाट

यी! कस्तो मग्मगाउँदो बास्ना आइरहेछ

र, तपाईंकै भाषामा

मेरो शरीर भने

लुगासहित

पर … पर … सम्म डुङ्डुङ्ति गन्हाइरहेछ

म मुगुको बासिन्दा– पूर्णबहादुर विश्वकर्मा!

तपाईं राजधानीमा बस्नेसँग सोधिरहेछु–

हजुर! हामीबीचको समानता तपाईं कहाँ देख्नुहुन्छ?

 

तपाईं

हवाइजहाज चढेर

रारा हेर्न आउनुभयो

र, यसको सुन्दरताको बखान गर्नमा

घण्टौं घण्टा खर्च गर्दै हुनुहुन्छ

म छु–

यहीँ जन्मेर मर्ने उमेरको भइसकेँ

फेरि पनि राराले

मेरो मन भने अझै खिच्न सकेको छैन

कहीँ तपाईंको पेट सधैँ भरिएको

र, मेरो पेट सधैं भोकाएकोले यस्तो भएको त हैन?

 

होइन भने

तपाईंलाई प्यारो लाग्ने

रारा र यो जुनेली रात

मलाई किन आङ्गभरि काँढा उमार्ने भएर रहेको छ?

तपार्इं सरकारको ढुकुटी चलाउनेसँग सोधिरहेछु–

हजुर! हामीबीचको समानता तपाईं केमा नाप्नहुन्छ?

 

उसो त तपाईं र म

सँगसँगै

केहीबेर एउटै बाटो पनि त हिँड्यौं नि

 

हिँड्दा पनि यो बाटोलाई

तपाईंको जुत्ता र मेरो खुट्टाले नापेको छ

धुलो उड्दा त्यसको बिझाई

तपाईंको चस्मा र मेरो आँखाले भोगेको छ

पानी पर्दा तपाईंको छाता भिज्यो

मेरो भने

फेरि घामले नसुकाएसम्म

भएको आङको तातो पनि हराएको छ

 

संविधानको कुनै धाराले समानताको घोषणा गर्नु अर्कै कुरा भयो

होइन र त्यो भोग्य पनि हुनु पर्छ भन्ने हो भने

तपाईं देश दर्शनमा आउनेसँग सोधिरहेछु–

हजुर! हामीबीचको समानता तपाईं कहाँ भेट्टाउनु हुन्छ?

 

देख्नुभयो नि तपाईंले

राराको नीलो दह

हो! हाम्रो बह पनि त्यस्तै नीलो छ

 

सुख–शान्ति त डाँडापारीकै कुरा भयो

यताका, हामी त

सास पनि राम्ररी फेर्न सक्तैनौं

औषधीमूलो केही छैन

र, घाँटीकै बीचमा पिलो छ

दस्तुर तिरेर लिनु पर्ने

नागरिकताको प्रमाणपत्र बाहेक

अरु के पाएका छौं हामीले तपाईंले सरह?

 

अनुभूतिको तहमा ओर्लेर नढाँटी भन्ने हो भने

कर्नालीतिरका हामी सबैका छातिमा

राजधानीले गाडेको फलामे किलो छ

तपाईं देशलाई दिमागले नाप्न बस्नु भएको योजनाकारसँग सोधिरहेछु–

हजुर! हामीबीचको यो असमानतालाई

तपाईं कहिलेसम्म समानता ठानिरहनुहुन्छ?

 

नढाँटी भन्नुस त

के तपाईंसँग कर्नालीको नक्सा छ?

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.