समालोचना गर्नु भनेको अर्काको बाँझोबारी जोत्नु हो


प्रा. डा. गोविन्दराज भट्टराई नेपाली साहित्यका उपन्यास, कविता, निबन्ध, समालोचना र अनुवादका क्षेत्रमा एक अग्रणी नाम हो। लामो समयसम्म त्रिभुवन विश्वविद्यालयमा अङ्ग्रेजी विषयको प्राध्यापन एवम् प्रशासनिक कर्ममा सङ्लग्न भई भर्खरै अवकाश लिएका प्राध्यापक भट्टराईले नेपाली–अंग्रेजी दुवै भाषा साहित्य सिर्जना तथा अनुवाद र समालोचना क्षेत्रका बृहत् काम गरेका छन्, र यी सबै क्षेत्रमा आफूलाई अब्बल साबित गरेका छन्, यद्यपि उनलाई उपन्यास एवम् निबन्ध सिर्जना, अनुवाद र समालोचनामा बढी चिनिन्छ। मुगलान (उपन्यास, २०३१), मणिपुरको चिठ्ठी (उपन्यास, २०३४), तीनधारा (कथासङ्ग्रहमा सहलेखन, २०३५), एक्लै एक्लै एक्लै (निबन्धसङ्ग्रह, २०६०), एक कल्प (कवितासङ्ग्रह २०६०) प्रकाशित छन्। आख्यानको उत्तरआधुनिक पर्यावलोकन (समालोचना, २०६१), काव्यिक आन्दोलनको परिचय (समालोचना सिद्धान्त, २०६१), पश्चिमी बलेसीका बाछिटा (समालोचना, २०६१), विश्वविद्यालयमा अग्निपूजा (निबन्धसङ्ग्रह, २०६१), उत्तरआधुनिक ऐना (सिद्धान्त र समालोचना, २०६२), सुकरातका पाइला (उपन्यास, २०६२), उत्तराधुनिक विमर्श (सिद्धान्त र समालोचना, २०६४) सँगै बसौँ यो रात (निबन्धसङ्ग्रह, २०६४) गोधूलीमा दश पाइला (यात्रा निबन्ध, २०६६); समयबोध र उत्तरआधुनिकता (सिद्धान्त र समालोचना २०६९) सुकरातको डायरी (उपन्यास, २०६८), मिर्मिरेमा दश पाइला (यात्रा निबन्ध, २०७०) तथा अन्य अनेक अनूदित, सम्पादित एवम् अंग्रेजी भाषामा कृतिहरू प्रकाशित छन्। उत्तरआधुनिकता र डायस्पोरा सिद्धान्तलाई नेपाली पाठकमाझ चिनाउने र ती सिद्धान्तको पक्षमा वकालत गर्ने कार्यमा पनि उनले नेतृत्वदायी भूमिका निर्वाह गरेका छन्। प्रस्तुत छ, सेतोपाटीका लागि महेश पौड्यालले गरेको कुराकानीको सम्पादित अंश।

‘रिटायर्ड लाइफ’ बिताउँदै हुनुहुन्छ। ‘टायर्ड’ चाहिँ कत्तिको हुनुभा’छ? अथवा छैन?

यो सेवा–निवृत्त जीवन सुरु भएको आज नौ महिना पुग्यो। दश वर्ष विद्यालय र पैँतीस वर्ष विश्वविद्यालय गरी ४५ वर्षको अविच्छिन्न सेवा पूरा गरी स्वतन्त्र भएको छु। अस्ति एउटा निबन्ध प्रकाशित भयो। त्यसमा यो लामो काराबासबाट मुक्त हुन पाउँदा मलाई थामिनसक्नु आनन्द भएको छ भन्ने भाव थियो। म अत्यन्तै आनन्दमा छु।

वास्तवमा लामो तपस्याको कर्ममय सक्रिय जीवनभरि यस्तै उन्मुक्तिको प्रतीक्षा गरेको थिएँ। यो दिनले मलाई जीवन सगरमाथामा सफलतापूर्वक आरोहणको सुख दिँदैछ। म आजकल आनन्दले उत्तेजित छु। किनभने प्रत्येक पल अब आफ्नै लागि आफ्नै खुसीले आफ्नै तालिकामा व्यतीत गर्न पाउँछु। अन्य अवरोध छैन, अब त खालि पढ्छु, लेख्छु, छाप्छु, हेर्छु। बाह्रवटा पाण्डुलिपि व्यवस्थापन गर्न नभ्यएको रहेछु विगतका बाह्रवर्षमा। ग्रीस यात्रा, बेलायत यात्रा, अमिरिका यात्रा, रुस यात्रा, हङकङ यात्रा, अफ्रिका यात्रा यस्तै र अरु निबन्धसङ्ग्रहहरू सबै मेरो अन्तिम स्पर्श पर्खिरहेका छन्। अब म तिनलाई प्रकाशनमा ल्याउन चाहन्छु। अहिले नै दुई थान पाण्डुलिपि प्रकाशककहाँ पुगिसके — बेलायती यात्रा, र आत्मसंस्मरण। अरु पनि पुग्ने प्रतीक्षामा छन्। म यस्तै सुखका दिन पर्खिरहेको थिएँ। म उत्साहित, आनन्दित र सक्रिय छु, तपाईंले पनि त देख्नुभयो। मलाई कति खुसी लाग्छ। कति साथीलाई जागिर आधा नपार्दै अख्तियारले खुस्काउँछ, अन्य दशाग्रहले लडाउँछ। क्षणिक जीवनमा प्राध्यापकको तहसम्म पुगेर सेवा–निवृत्त हुन अनि त्यस समयमा कस्सिएर लेख्नपढ्न पाउनु, — धन्य विधाता, यो मुखको विस्कुनमा मेरो भाग्य पनि सुकाउँदै गर, जीवनको घाम ओझेल नपरुञ्जेल।

यहाँले उत्तरआधुनिकताको त नेपालमा ‘मोर्चा’ खोल्नुभयो, र डटेर त्यसको पक्षमा वकालत गर्नुभयो। पूर्वाधार र चिन्तन दुवै हिसाबले पछाडिएको नेपालमा उत्तरआधुनिक चिन्तनको आवश्यकता कसरी महसुस गर्नुभयो?

मैले त होइन, समयले नै हो त्यो दैलो खोलिदिएको। म त निर्भीकतापूर्वक आश्चर्य मान्दै  भित्र पसेको मात्र हुँ।  अघि पचासको सुरुमा म हैदराबाद विश्वविद्यालय पुगेको थिएँ, विद्यावारिधिको लागि। त्यसबेला देखेँ— दक्षिण भारतका ठूलाठूला बौद्धिक, प्राज्ञिक सम्मेलनमा उत्तरआधुनिकता एउटा केन्द्रीय विषय भएको रहेछ। उत्तरसंरचनावाद पनि त्यसैबेला शिखरमा थियो। विश्व परिदृश्यलाई नजिकबाट बोध गर्न सक्ने भारतीय विद्वानहरूका ती विचार र कर्मले म प्रभावित थिएँ। राम्ररी बुझ्न नसकेको तर बुझ्नुपर्ने यो नयाँ विषय रहेछ भन्ने बोध भई फर्केको थिएँ। हाम्रा कला साहित्यमा पनि यस्ता नवीन धाराको चर्चा भए हुने ठान्दै फिरेको थिएँ।

मेरो विद्यावारिधिको विषय त यो थिएन, साहित्यिक अनुवाद थियो। तर सबै कुरालाई पचाउने, निल्ने उघ्राउने कुरा भने विचार रहेछ। विचारका पनि आ–आफ्ना ब्राण्ड छन्। स्कूल छन्। यता रामको पूजा हुन्छ उता रावणको पनि चलिरहेको छ। अहिले त धेरै इण्डिजिनस ग्रूप पनि थपिएका छन्। यिनका बीचका प्रत्येक देवी–देउताका अथवा भूतप्रेतको पूजा हुन्छ। व्यक्तिगतझैँ सामाजिक जीवन पनि बुझिनसक्नु छ।

अबका वैचारिक ध्रुवहरू कस्ता होलान्, ती कता जालान् वा गएका छन्, त्यो कुरा बुझ्न म उत्सुक भएर पाँच वर्षपश्चात् नेपाल फर्केको थिएँ। सामर्थवान् भएर फर्केको थिएँ। अङ्ग्रेजी भाषाको हतियार आफ्नो हातमा भएपछि अलिक आँट पनि आउँछ, किनभने यसले ‘ओरिजिनल’ भण्डारभित्रै पसेर सामान छान्न पाइन्छ। नत्र त डुप्लिकेटबाट काम चलाउनु पर्ने हुन्छ।

नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठान अन्तर्गतको विद्वत्वृत्तिमा काव्यिक आन्दोलनको परिचय (२०४९) प्रकाशित भयो। त्यसमा आधुनिक कालका कला–साहित्यको क्षेत्रमा भएका विश्वका चिन्तन र आन्दोलनको अध्ययन प्रस्तुत गरेँ। नेपालका पनि कला–साहित्यका आफ्नो गच्छेअनुसारका आन्दोलन र विचारको विस्तार गरेँ। यो त कविवर मोहन कोइरालाको पनि आकाङ्क्षा थियो। मलाई दुई वर्ष लागेको थियो। लागेपनि अरु कला–साहित्य कताको यात्रामा छन्, दुई महासमरले कलाको बाटो कता पु¥यायो, अस्तित्ववाद, विसङ्गतिवादपछि उपनिवेशवाद, कालो साहित्य, नारी साहित्य, लैङ्गिकता कता छ, पूँजीवाद र साम्यवादका अभित्रासक शीतयुद्धले मानिसलाई के सिकाइरहेका छन् र प्रविधिको सीमाहीन प्रगतिले जीवन र कलाको बीचमा कति खेल्ने ठाउँ छोड्यो वा सबै निशेषित ग¥यो — त्यो सोचिरहकेको थिएँ।

यहाँ आएर हेर्छु अग्रगामी विद्वान् निनू चापागाईंले “उत्तरआधुनिकता र भ्रम” शीर्षकमा सानो पुस्तिका प्रकाशित गर्नुभएछ। यसको मुख्य उद्देश्य भने उत्तरआधुनिक भनिएका विचारलाई अथवा वादलाई, प्रवृत्ति र चेतनालाई हृदयदेखि गाली गर्दै यो त्यज्य धारणा माक्र्स, लेनिन, माओ आदिका विचार र वादहरूलाई मास्न त्यसका विरुद्ध आएको हो भन्ने सारांशमा टुङ्एिको छ।

कलाको कुरा गर्दा मलाई राजनीतिसम्म पुग्नुपर्दैन जस्तो लाग्छ। सिर्जनात्मक साहित्यले राजनीतिभित्र पसेर मुछिनु, अनुहारै धसिङ्गरे बनाएर कुद्नु, कराउनु नपरे हुन्थ्यो जस्तो लाग्छ। तर पनि समयले तान्न खोज्दो रहेछ, जबर्जस्ती। कारण, राजनीति भनेको शक्तिसँग जोडिएको हुन्छ। हाम्रो एकथरी कलावाद छ त्यसको प्राण नै राजनीतिले चलाउँछ। शक्तिको शरण परेपछि त्यसले सबै विचारलाई पिटेर धुलो पार्छ। शक्ति मन पर्नेको मात्र रक्षा गर्छ।

यता हेर्छु साथीहरू ठूलाठूला लाठा काँधमा बोकेर उत्तरआधुनिकतालाई ठोक्न तत्पर छन्। मरेर लागेका छन्। तर मैले पढेको थिएँ उत्तउत्तरआधुनिकता भनेको विचारको नवीनता हो, पुरानोको प्रतिष्थापन हो, उच्छेदन हो; अनि अन्त्यको अभावको पक्षधर, स्थिरताको विरोधी, र यथास्थितिको बैरी रहेछ।

तर वाममार्गी मित्रहरूले एकसूत्रीय धारणा बनाएका थिए — यो माक्र्सवाद समाप्त गर्न आएको बहुलवादी, पूँजीवादी, पश्चिमा, दलाली विचार हो। यो सबै त राम्रो अध्ययनको अभावको परिणाम थियो। भारतीय हिन्दी स्रोतले अह्राएको वाममार्गी पथ अनुशरण गर्दा त्यहाँ पुगिएको थियो।

तर मैले निश्चय गरेँ— राजनीतिमा नओर्ले पनि अब डेमोक्रेसी जोगाउने अरु बाटो छैन। अब बहुलताको रक्षा नगर्ने हो भने नेपाल समाप्त हुनेछ। यो परिस्थितिले कुनै डिक्टेटर जन्माउने तयारी गर्दैछ। त्यसपछि त हामीले लेख्न–बोल्न पाउने छैनौँ। अब लडाइँ सुरु भो वान, टु, थ्री! यसमा हाम्रो पराजय भयो भने अधिनायकवादले हाम्रो प्राण लिनेछ; लेख्न,े पढ्ने,बोल्ने, सोच्ने सबै मानवतावादी तत्वका विरुवाहरू उखेलिने छन्। यही सम्झेर म जागेँ, उठेँ र लागेँ। यो वैचारिक युद्ध थियो। नेपालमा उत्तरआधुनिकतावादी चिन्तनको बीजारोपण हुन सकेन भने हामी सबै ‘जनता’ मात्र हुनेछौँ र कुनै अविवेकी उत्तेजनाको बाढीले हाम्रो प्राण लिनेछ भन्ने बुझेर म लागेको थिएँ।

तर म राजनीतिमा पसिनँ। किनभने रानजीतिमा माओवादी स्वयम्ले पनि “उत्तरआधुनिक” नाराहरू  बाँड्दै थियो, तिनै बेच्तै थियो। अर्कातिर २०६२ मा विराटनगर पुगेका प्रचण्डले भने— “उत्तरआधुनिकता हाम्रो शत्रु हो, यसलाई यो देशमा समाप्त गर्नुपर्छ।” अरुले जोड ताली पिटे। त्यही भाषणमा उनले थपे— “अब प्रत्येक भाषाको रक्षा, जातिको रक्षा, जातीय, क्षेत्रीय अधिकार विविधतापूर्ण नेपाल, एउटा जोडदार अग्रगामी छलाङ…” यो एउटा विरोधाभाष थियो। उनीहरूलाई थाहा थिएन— उत्तरआधुनिकता भनेको के हो; महाआख्यानिक परम्परा ढल्दैछ, अब लघु–आख्यानहरूको जन्म हुँदैछ, त्यसलाई उनीहरूले स्वीकारे र यसरी माओवादीहरू ले माक्र्सवाद ढुट्याउँदै, माओवाद ढुट्याउँदै प्रजातान्त्रिक समाजवादको लागि ठूलो योगदान पु¥याए र आज यो परिवर्तन देख्न पाइयो। त्यही आशाले म लघु–आख्यानको मार्गमा लागेको थिएँ। एमालेहरू भने बीचमा उभिएर दुवैतिर इशारा गर्थे; केही पुरातनपन्थी प्रजातन्त्रवादी पनि यो नवीन चेतनालाई बाटो ढुकेर ढुङ्गा हान्थे।

उत्तरआधुनिकताको विरोध गर्ने पनि एउटा ठूलो जमात छ नेपालमा, विशेष गरी माक्र्सवादीहरूको। कहाँकहाँ र कस्तो खाले अप्ठेरो प¥यो, अथवा परेन उनीहरूको विरोधले?

विरोध गर्ने ठूलो जमान थियो — पहिलो जडसूत्रवादीहरूको र दोस्रो यथास्थितिवादीहरूको। पहिलो समूहलाई उत्तरआधुनिकताले गर्दा अधिनायकतावाद आउन सक्तैन होला भन्ने चिन्ता थियो। नभन्दैे त्यस्तै भयो। सट्टामा बहुलवाद आयो। अनेक विचार आए। अनेक केन्द्रमा मानिसको इच्छाहरू विभाजित भए। दोस्रोलाई यथास्थिति समाप्त भयो भने आफ्नो स्थान र महव रहने छैन भन्ने चिन्ता थियो; त्यस्तै भयो। आज हरेक क्षेत्रको संरचनावाद बढारिएर कहाँ पुग्यो! यहाँ पनि नवीनता र विविधताको आवश्यकता र अपरिहार्यताले यथास्थितिवादी आकाङ्क्षालाई परास्त ग¥यो। म नलागे कोही लाग्थ्यो। समयले नयाँ कुरा आफैँ ल्याउँथ्यो। प्रा. कृष्ण गौतम पनि यही कुरा बुझाइरहनुभएको थियो।

अहिले त केही छैन, सबैले स्वीकारेका छन्। नयाँ चेतना एवम् अग्रगामिताको विजय हुने रहेछ भन्ने सबैलाई बोध भएको छ। विश्वभरि अहिले एउटै चेतना–लहर र प्रवृत्ति आएको छ; जीवन–शैली नै एकरूप हुँदैछ भन्ने सबैलाई थाहा छ। ग्लोबलताको हुरी चलेको बेला कुनै पुरानो सिद्धान्तको दीयो बाँकी नरहने रहेछ भन्ने चेतना सबैमा आएको छ। सिद्धान्त जेजे भन्दै हिँडेपनि यथार्थ जीवन अहिलेको लागि उत्तरआधुनिकता, बहुल चेतनाको रहेछ भन्ने सत्य प्रत्येक आत्माले स्वीकार गरेको छ। भृकुटी पब्लिकेशनले उत्तरआधुनिकतावाद विशेषाङ्क नामक बृहत् ग्रन्थ छापेर पनि यसतर्फ ठूलो योगदान पु¥यायो।

तर ती दिनमा यस्तो थिएन डेढ–दुई दशक अघि। माओवाद अकासिएको समयमा अरु कुनै धारणा, विचार चिन्तन, पद्धति बाँकी रहलाजस्तो लाग्दैनथ्यो। किनभने यो सर्वनाशक छलाङ थियो, सम्पूर्ण उत्तेजनाले जन्माइएको। तर जब प्रचण्डजस्ता नेताले समयको आह्वान बुझेर बहुलवादी सिद्धान्तको अभ्यासलाई स्वीकारिसके त्यसपछि नवीनताको विरुद्धमा उठ्नेहरू मत्थर हुँदै गए। त्यसलाई समयले नै निस्तेज गराउने रहेछ। तर उनीहरू पनि धर्मसङ्कटमा थिए, किनभने माओवादको सुरक्षा गरौँ भने समयको माग अर्कै छ; समयको आह्वान सुनौँ भने माओवाद/माक्र्सवाद भत्किन थालेको छ।

माक्र्सवादले आह्वान गरेको अग्रगामिता धेरै पुरानो समयको, भिन्न भूगोल र संस्कृतिको कुरा थियो। आज त्यो क्युरिओजस्तो भएको छ। अझै पनि केही मित्रहरू त्यसैको बिस्कुन सुकाउँछन्, पिस्छन्, धुलो उडाउँछन्। त्यस्ता कुरा राजनीतिमा एकछिनलाई काम लाग्छन्। किनभने त्यहाँ धु्रवीकरणको भ¥याङ चढ्ने  खुड्किला हुन्छन् र माथि पुगेर प्रयोग गर्ने केही ‘प्याटेन्ट’ शब्दहरू र विम्बहरू हुन्छन्। तर आजको मानिस सालखोल भएको छ, वर्गीकरणले। एउटा सिद्धान्तले नछुने, अनेक पक्षले दृष्टिले, विचारले मनोविज्ञानले  हेरिनुपर्ने। अब ऊ सपाट छैन। अहिलेका चुनावहरू हेर्नाेस् न! भोट हाल्दा कोही जाति भएर, कोही वर्ग भएर, फेरि लिङ्ग भएर, फेरि धर्म भएर, कोही क्षेत्र भएर, कोही पेशा भएर— चिराचिरामा विभक्त हुन्छ, फेरि कतै जोडिन्छ। राजनीति त एउटा अन्तिमको कम्पोनेन्ट भइसक्यो। डेमोक्रेसी आएपछि राजनीति मधुरो हुन्छ।

सुरुमा मुस्किल थियो। पोखरामा सम्मेलन गर्थे उत्तरआधुनिकताबारे। त्यहाँ चुनिएका बाममार्गीहरू त्यसको प्रतिरोध गर्न काठमाडौँदेखि जान्थे। बुटवलमा गर्थे। त्यसको लागि पार्टी क्याडर पुग्थे। सुर्खेतमा गर्थे। त्यहाँ झन् महसूरहरू पुग्थे। उता नेपालगञ्जमा गरे। त्यहाँ त्यस्तै महसूर। पोखरा, पाल्पा माथि सुर्खेत — जहाँको लागि पनि गाली गर्न सक्ने, पूँजीवादी दलालहरूलाई खित्रिक्कै थलापार्न सक्नेहरू पुग्थे, पु¥याइन्थे। साथीहरू पार्टीकै निर्देशन पालना गर्थे। अहिले तिनीहरू प्राज्ञिक–बौद्धिक तहका ठूला पोष्टमा पुगेका छन्।

२०५९ सालमा बिराटनगरदेखि सुरु भएको उत्तरआधुनिकताविरोधी अभियानमा एक दशक बोलाइएँ, पु¥याइएँ। उत्तरआधुनिकतावादको महŒव, चरित्र, विशेषता नौलो कुरा थियो। म कार्यपत्र पेश गर्थेँ अनि साथीहरू उत्तेजित भएर त्यसलाई परास्त गर्न उचालिन्थे। वास्तवमा यो उग्र वाममार्गीलाई आफ्नै अनुहार देखाउने ऐना पनि भएको थियो। म एक दशक घुमेँ, मैले एक दशक निरन्तर लेखेँ। तर त्यसपछि आएर त विश्वविद्यालयको पाठ्यक्रयक्रममा पनि त्यो समावेश गरियो र पठनपाठन हुन थाल्यो। तर आश्चर्य छ, उत्तरआधुनिकतावाद पढाउन भने तिनै वाममार्गी र संरचनावादी गुरहरू तत्पर भए। यो रमाइलो पक्ष हो।

त्यतिबेलासम्म म लेख्तै गएँ, बुझाउँदै गएँ, भन्दै गएँ। एक दशकमा चारवटा सिद्धान्तका कृति छापिए, एक दशकमा अनेक विचारक, समीक्षकले उत्तरआधुनिकता विषयमा लेखेका ५६ कृति आए। यसको लागि डा. लक्ष्मण गौतमकृत नेपाली साहित्यमा उत्तरआधुनिक समालोचना (२०६६) हेर्दा हुन्छ। उत्तरउपनिवेश, उत्तरविचार र उत्तरचेतना आइसकेपछि सबै यथास्थितिवादी जग चर्किए, ढल्न र भत्किन थाले। नारीवाद, कालावाद, डायास्पोरा, पर्यावरण, विद्युतीय संस्कति, लैङ्गिकता, अनेक आयो। केहीले थामेन। मैले त भन्दै आएको थिएँ, कि यस्तो रुढता छोडिदिनोस्; नत्र तपाईंहरूले लेख्ने विषय अबको दश वर्षपछि केही बाँकी रहने छैन।

कुनै अप्ठेरो परेन। यो नयाँ विषय आयो। समालोचना जगत् अर्कै भयो। दृष्टिकोण अर्कै आयो। माक्र्सवाद एक दृष्टिकोण थियो; अरु बीसवटा थपिए। ठूलो हुरीबतास उत्पन्न गरेर, आँधीसँग ठूला ठूला डिस्कोर्श सुरु भए। त्यसो त अझै पनि माक्र्सवादको रुढता गाउनेहरू छन्। उनीहरुलाई त्यो संरचनाको घेराबाहिर आउन मुस्किल परेको छ। तैपनि नयाँ समयका बहुलविधा पक्रेर त्यहाँ काम गर्दैछन्। नारी, जनजाति, पर्यावरण, सवाल्टर्न — यस्ता दशाँै विषय खुलेका छन्। साथीहरूले बडो सहजताका साथ ती पक्रेका छन्। प्रा. राजेन्द्र सुवेदीका समालोचना सङ्ग्रहहरू पढ्दा थाहा हुन्छ।

उत्तरआधुनिकतावादले परिकल्पना गरेजस्तो लेखन कत्तिको आयो नेपाली सर्जकहरूबाट? यहाँकै शब्दमा भन्दा, लेखनभित्र त्यो “उज्यालो” कतिको पसेको पाउनुभयो यहाँले?

सर्वप्रथम ता नेपाली स्रष्टाको अघिल्तिर धेरै बाटा छन्, विचार छन् भन्ने कुुरा सुनाउनु थियो। विश्वपरिस्थिति बद्लियो, अब नयाँ चेतना र बाटाहरू सुनौँ–हेरौ भन्नु थियो र उनीहरूलाई धेरै पुरानो जडसूत्रीय कारखानाबाहिरको कला –साहित्य देखाउनु–बुझाउनु थियो।

अधिकांश नेपालीले त्यो देखे, बुझे। तर हेर्नाेस्, राजनीतिमा धेरै पिङ खेलियो भने लेखनमा तिनै शब्द र पदावली मात्र आउँछन्। जस्तो माक्र्सवादीको कलममा हुन्छ। त्यसैले ज्यादा उत्तरआधुनिकताको रटान गरियो भने यो पनि त्यस्तैमा परिणत हुन्छ। एउटा ग्याण्ड–न्यारेटिब भत्काउन हिँडेको मान्छे अर्काे ठड्याउँछ भने के काम लाग्छ? त्यस कारण सैद्धान्तिक रूपले शब्दको मचान बनाउनु लेखनको हितमा छैन। जस्तो कि हिजोआजको प्रत्येक एनजीओले भन्छ— दलित, महिला, पिछडिएका, जनजाति…यस्तै यस्तै। सिद्धान्तले लेखाउँदैन, लेखिँदैन। चेतनाले, क्षमताले र बरदानले लेखाउँछ। उत्तरआधुनिक विचारले ती कुरा न थप्न न घटाउँछ। यसले त जगत्बारेको चेतना मात्र बढाउँछ, सयौँ वर्षको रुढीवाबाट फुकालेर मानिसलाई एक नयाँ र असुरक्षित मैदानमा ल्याउँछ। उसले फेरि पनि निरन्तर सोचिरहनुपर्छ; यो अन्तिम सिद्धान्त भनी पक्रेर बस्ता माक्र्सवादी समालोचकको जस्तै स्थिति आउँछ। नयाँ विचारलाई काम लागुन्जेल फक्रिने, नलागे फ्याक्ने र फेरि नयाँ खोज्ने चेतना चाहिन्छ।

त्यसैले ‘नट द लेटर बट द स्पिरिट’ भनेझैँ शब्दको रटानले, अधिक प्रयोगले, सिद्धान्तको हिटेड डिस्कशनले लेखनको “उज्यालो” आउँदैन। मान्छे शब्द–जालमै बेरिएर रहन्छ। कुनै लेखकलाई सिकाएर, पढाएर हुँदैन। हुनुछ भने आफैँ हुन्छ। तर रुढता बसिरह्यो भने लेखन पनि त्यस्तै होला र जगत्लाई परिवर्तित दृष्टिले हेर्न नसक्ला भन्ने चिन्ताले उत्तरआधुनिकताको सहारा खोजेको हुँ। जुनसुकै होस् सफल लेखनको शक्ति अर्कै छ, सिद्धान्त होइन। त्यसकारणले नेपाली स्रष्टाहरू त्यो वैचारिक नवीनतातिर छन्, तर बाटैमा छन्, टुङ्गोमा पुगेर बिसाएका छैनन्। साँच्चो कलासाधना यद्यपि आंशिक लक्षण देखिएका छन्। उत्तरआधुनिकताले लेखनमा विविधता ल्यायो; समालोचनामा नयाँ सिद्धान्तहरू पनि ल्यायो, तर नेपाली लेखनमा त्यस्तो उज्यालो आउन सकेको छैन। सर्वप्रथम त्यस्ता प्रतिभा जन्मिनु प¥यो।

उत्तरआधुनिकताले बहुलताको पक्षमा वकालत गर्ने र सीमामा दबेर रहेका स्वरहरूलाई वाचाल बनाउने काम गर्दछ। नेपालमा पनि त्यो भयो। तर, साथसाथै कतिपय अवस्थामा जातीय विद्वेष र फाटो पनि बढ्यो भन्छन् नि जानकारहरू। यसमा सरको मत के छ? के उत्तराधुनिकता “ब्याकफायर्ड” भएको हो?

यतिखेर नेपालमा ठूलो परिवर्तन आएको महसूस हुन थालेको समय छ। कतिपय कुल्ली, श्रमिक र मजदूर दुखी छन्, तर मानिसले अब हेपेर बोल्न छोडेको छ। सबैको सम्मान बढ्दैछ। काठमाडौँका सवारी सह–चालकहरूमा मात्र यो सुधार आउन बाँकी छ। आमूल परिवर्तनको समय छ, तर सुदूरमा शिक्षा छैन, चेतना छैन। कुसंस्कारको लामो इतिहास बद्लिन युगौँ लाग्ने रहेछ। यता सिद्धहस्तहरूबीच ठूला कुरा, चर्का नारा, अन्तर्राष्ट्रिय डिस्कोर्श हुन्छन्, तर धेरैजसो ती एलिट वर्ग वरिपरि चल्छन्। यद्यपि सरकार पनि सकारात्मक भएकाले वञ्चितको पक्षमा कानूनी अडान लिएर उभिएकाले अब परिवर्तनको तीव्रतालाई महसूस गर्न थालिएको छ। यसपालिको इलेक्शनसम्ममा कति कुरा आइसके— खासगरी नारीको उपस्थिति, दलित सदस्यको अनिवार्यता आदि। हो, जातीय जनजातीय विषयमा हामीले ‘मार्जिनल स्टडिज’ आयो भन्यौँ, त्यसको व्याख्या ग¥यौँ, सवाल्टर्न स्टडिजको व्याख्या ग¥यौँ, जेण्डरको ग¥यौँ। चारैतिरबाट तोक्चे लाएर उठाउने बल गरेका गरेकै छौँ। यो सारा त उत्तरआधुनिकताको देन हो; बहुलता र विविधताको सिद्धान्तले उठाएको कुरा हो।

नभन्दै एउटा उदाहरणको लागि हाम्रा जनजातीय मित्रहरूले खुसी प्रकट गरेर सचेत भएर तिनको प्रयोग हेर्न थाले। तर तपाईंले भनेजस्तै मैले पूर्वका लिम्बू स्रष्टामा एउटा विमार पसेको देख्तैछु। त्यो हो ‘पहिचानको सर्वाेच्चता’। कथा, कविता, नाटक जहाँ पनि उनीहरू पहिचानको अधिक प्रयोग गर्दैछन्। अघिल्लो दशकमा आवश्यक पनि थियो र ठीक थियो। तर मैले यसपालि “लिम्बू स्रष्टाहरूको नेपाली साहित्यमा योगदान” विषयमा लामो अध्ययन गरेर एउटा सारतत्व तयार पारेँ। यसको सारांशमा आउन लिम्बू स्रष्टाका प्रायः सबै कृति पढेँ; कतिमा त लेखेकै पनि छु। उनीहरू केवल पहिचानलाईमात्रै जोड दिँदैछन् र केवल आफ्नो सांस्कृतिक परिवेश र ऐतिहासिक नोष्टाल्जिया लेख्छन्। मैले प्रश्न गरेको छु, त्यहाँ पनि अबको लेखन त्यो मात्र होइन अरु पनि त्यस्तो दृष्टिकोणले कताकति असहिष्णुता पनि प्रकट गरेको छ। यसले हामीबीचको हार्माेनी बिग्रन सक्छ। साहित्य त्यो मात्र होइन। मुख्य त राष्ट्र हो, अनि अर्थाेक पनि हो। यसरी हामीले मानेको सिद्धान्तले लेखनको, सिर्जनाको नयाँ शक्तिलाई सिथिल बनाउने हो कि भन्ने चिन्ता छ। यस्तो अभ्यास राई स्रष्टाहरुमा पनि छ। जातीयता ठूलो कुरा तर सार्विकता झन् ठूलो हो। हाम्रो सिर्जना युनिभर्सल ह्युमन भ्याल्युरहीत भयो भने, के काम लाग्ला र?

हाललाई उत्तरआधुनिकतालाई यहीँ छोडौँ र लागौँ डायस्पोरा सिद्धान्ततिर। नेपालबाहिर बसेर लेख्ने कतिपय नेपालीहरू अस्थायी प्रवासी हुन्, मुलुक फेरिरहन्छन्, उताका नागरिक पनि होइनन्, र नेपाललाई पूर्णतामा छोडेका पनि होइनन्। यिनीहरूलाई पनि “डायस्पोरा” मा समेटिएको पाइन्छ। यो त सैद्धान्तिक विचलन भएन र?

यिनीहरूलाई कसले डायस्पोरामा समेट्यो थाहा छैन। तपाईंले त्यस्तो लेख्ने व्यक्ति वा कृतिको नाम लिनु भएको भए संवाद स्पष्ट हुन्थ्यो। बरु तपाईंका नै एक दुई डायास्पोराका यस्ता लेखमा यस्ता अस्पष्ट कुरा पढ्न पाएको छु र आज स्पष्ट पार्दछु।

नेपाललाई डायास्पोराको सिद्धान्तबारे लेख्ने, यसको परिचय गराउने र तीनवटा प्रथम अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिएर डायास्पोरा बारेका कार्यपत्र प्रस्तुत गर्ने, प्रथम डायास्पोरा पुरस्कारहरू प्राप्त गर्ने सौभाग्य प्राप्त गरेको व्यक्ति म हुँ। तीनजना विद्यावारिधि शोधार्थीलाई उतारिसकेँ। तपाईंले यहाँ (मेरो स्टडिमा) पनि देख्नुभएकै छ। ती तीन ¥याक पुस्तक मेरा डायास्पोरा विषयक छन्। त्यतिमात्र नभै एकेडेमीमा मेरो डायास्पोरा सिद्धान्त र समालोचना शीर्षक कृति आउनैलागेको छ। विनाआधार केही कुरा बोल्ने मेरो आँट छैन। अरु कसैले त्यसै गरे उसैलाई भन्नु होला।

नेपाली डायास्पोरा बारेमा रुटलेजको नेपाली डायस्पोरा इन् अ ग्लोबलाइज्ड इरा (२०१५) हेर्नुभयो होला। रक्ष राई र मिजास तेम्बेकृत डायास्पोरा सिद्धान्त तथा समालोचना (२०७२) पनि हेर्नुभयो होला। यस्ता अरु पनि कृति आउँदैछन्, अध्ययन विस्तृत हुँदैछ; कृति बढ्दै छन्। तपाईंले कुन कृतिमा त्यस्ता कुरा पढ्नुभयो म भन्न सक्तिनँ। तर आजसम्मको अध्ययनले भन्छ त्यस्तो अस्थायी आवागमन समूह “लेबर डायास्पोरा” भित्र पर्छ। मैले त नभूली उल्लेख गरेकै छु। नयाँ विषय छ, राम्ररी नबुझे पनि सबैलाई बोलौँ लाग्छ। धेरै पढेर थोरै बोल्नेको विजय हुने ठाउँमा मात्रै यस्तो हुन्छ।

अन्य देशका डायस्पोराको साहित्य हेर्दा गृहदेशमा लेखिएको साहित्यभन्दा पनि उच्चस्तरको साहित्य उनीहरूले लेखिरहेको पाइन्छ। नेपाली डायस्पोराको साहित्यले, अपवादबाहेक, खासै स्तरीयता ग्रहण गरेको देखिँदैन। यहाँलाई कस्तो लाग्छ, कारणसहित भनिदिनस् न।

यो सत्य हो। गाँस, बास र जीवनको न्यूनतम लक्ष्य पूरा गर्ने उद्देश्यले वर्षाैंसम्म अराजकता र अधिनायकवादले पिसिएको, राजनीतिक अस्थिरताले निलेको मुलुकबाट निस्केर त्राण खोज्दै अनेक मुलुक पुगेका नेपाली धन्य छन्। तर सबै नेपाली जाति “न्यू डायस्पोरा” हुन्।

निकोलास् भ्यान हिअरको न्यू डायस्पोराज् (१९९८) ले यस्तो कुरा प्रष्ट्याएको छ। त्यस कृतिमा बर्माबाट उच्छेदित रोङगिया र नेपाली जातिको दृष्टान्त छ। संसारभरि कि न्यू डायस्पोरा छन्, कि लेबर डायास्पोरा छन्, कि पर्मानेन्ट डायास्पोरा छन्। ‘शिफ्टिङ डायस्पोरा’ ता सबैको साझा चरित्र नै हो। डायस्पोराको अन्तिम गन्तव्य हो ‘ट्रान्सन्याशनलिजम्’ अर्थात् पारदेशीयता। तिनीहरू ‘शिफ्टिङ डायस्पोरा’ नै रहन्छन्। उनीहरू सर्दै हिँड्दै सबै देशका नागरिक हुनेछन्।

संसारभरिका सबै नेपाली डायस्पोरा नयाँ हुन्। जीवनको प्रारम्भिक संघर्षमा डुबेका; पहिलो पुस्ता। उनीहरूसँग भाषिक हतियार पनि दह्रो छैन। सांस्कृतिक–हतियार नयाँ छ। त्यसकारण यता सिकेको नेपालीका भरमा जीवन संघर्षबाट उभ्रेको नेपालीमा समयमा जो जति सिर्जना गर्दैछन् त्यो धन्य छ।

भारतीयसँग हाम्रो तुलना हुन सक्तैन। उनीहरूले तीनसय वर्षदेखि बहिर्गमन खपेर डायस्पोरालाई आफ्नो कल्चर बनाएका छन्। नेपाली नयाँ विरुवा हो। शक्तिशाली अङ्ग्रेजीमा सिर्जना गर्न सक्ने पुस्ता जन्मोस् तब त्यसले अमेरिकी बा बेलायतीसँग प्रतिष्पर्धा गर्नेछन्। नैपल, रुश्दी अरुन्धती राय जस्तै, नेल्सनको राइटर्स अव् दि इण्डियन डायास्पोरा (२०१०) हेर्नाेस् न। छक्क परिन्छ।

यहाँले नेपाली साहित्यमा एउटा सर्जकको रुपमा प्रवेश गर्नुभयो। पछि, यहाँको सर्जक छविलाई समालोचकको छविले किचेको पनि पाइयो। यी दुई परिचय — सर्जक र समालोचक — बीच, कहिलेकाहीँ यहाँभित्रै अन्तरद्वन्द्वको स्थिति उत्पन्न भएको छ? अथवा छैन?

त्यो अन्तद्र्वन्द्व रातोदिन खपेर बसेको छु। अबचाहिँ खपिनसक्नु भएको छ। सानामा आमाले हामीलाई आलिका भटमासमा चरा रुङ्न पठाउनुहुन्थ्यो। तर त्यहाँ चरामात्र होइन, बाख्रा र बाँदार पनि पसेर सर्वनाश गर्थे। मेरो स्रष्टाको जीवनमा त्यस्तै भएको छ। बाँदर, चरा, मुसा, बाख्रा सबैको आक्रमण छ। मलाई समालोचना मन नपर्ने होइन, तर सिर्जनाको तुलनामा समालोचना एक सेकेन्डरी कर्म हो जस्तो लाग्छ। रोलाँ बार्टले उसलाई एक अधिभाषामा खेल्ने व्यक्ति भनेका छन्, स्रष्टा जस्तो होइन।

मसँग यस विषयको सचेतता छ। तापनि नयाँ समयका संकेतहरू र परिवर्तित दिशाबोधहरू पढ्नमा मेरो धेरै समय गयो। ती दिनमा मानिसले समालोचनाका लागि केही कृतिहरू मेरो तालिकामा घुसाए र गरिदिएँ। त्यसपछि मैले चारवटा समालोचना र सिद्धान्तका कृति निकालेँ।

समालोचना सिद्धान्तका कृति निकाल्नुको तात्पर्य डायस्पोरा, पर्यावरण, लैङ्गिकता, अभिघात जस्ता सिद्धान्त नेपाली वैचारिक जगत्लाई चिनाउनु थियो। विश्वपरिवर्तनको व्यापक दिशाबोध गराउनु थियो। समालोचना गर्नु होइन, समालोचना बुझाउनु थियो। तर मान्छेले ठान्दै लगेका छन्—  यो समालोचक पो रहेछ। अनि मलाई थिच्न थाले। मलाई डेड–लाइनमा बाँध्न थाले।

एउटा उर्बर लेखकको निम्ति समालोचना साँच्चै नै व्यर्थ कर्म हो। यो गर्नु भनेको अर्काको बाँझोबारी जोत्नु हो। मकै फल्छन् बोट छोडेर घोगा भाँचेर उसैले लान्छ। तपाईं सदाको ज्यलादारी मात्रै। आफ्नो काम गर्नाेस्, सिर्जनाका सारा विधा तपाईंलाई नै पर्खिरहेका छन्। त्यहाँ कल्पना र कलासँग खेल्नोस्। समालोचनाको साङ्लामा किन बाँधिएको? मजस्तो लेखकलाई यो अभिशाप हो। मुक्तिमार्ग खोज्ने भक्तलाई सांसारिक मायाले पछारेजस्तै भएको छ मलाई। म बारम्बार पछारिएको छु यसरी। त्यसैले म कुनै समालोचना कर्मप्रति गौरव गर्दिनँ किनभने यो त अर्काको बारीमा कति डोका मकै भाँच्न सघाएँ भनेजस्तो मात्रै हो। अँ,  तपाईंसँग सिर्जनात्मक शक्ति वा क्षमता छैन भने समालोचना पक्रिनोस्। यो अधिभाषा हो; यसले सिर्जनात्मक भाषा जान्दैन, केवल अधिभाषामा (मेटाल्याङ्गुएजमा) खेल्न सिक्नोस्। साहित्यकार नभने पनि मान्छेले ‘समालोचक’ भनिदेलान्, बस् त्यति।

म नित्य द्वन्द्वमा छु। नयाँ समयलाई नयाँ चेतनाको दिन आयो भनेर केही नयाँ सिद्धान्त देखाउन यति गरेको हुँ। कोही त अभाङ्गार्द चाहियो। म भएको मात्र हुँ। नेपालमा विश्वविचारका तरङ्ग र नयाँ बाटो ल्याउनमा सहयोग पुगोस् भनी यो बाटो खनेको हुँ। तर मेरो आफ्नै हृदय नहिँड्ने बाटो खनेँछु। म हिँड्न नखोजे पनि अरु हिँड्लान् भन्ने छ। म त उपन्यास, निबन्ध, कविताजस्ता सिर्जनाका स्वतन्त्र विधामा नाच्न चाहन्छु।

समालोचना स्वतन्त्र छैन। तपाईं एउटै पटुकाले दुई जनाको भूँडीमा बाँध्नु हुन्छ। यता कस्ता तपाईं मरेँ भन्नुहुन्छ; उता कस्ता लेखक मरेँ भन्छ। यसरी दुई जनाको भुँडी कसेर हिँड्ने कर्म व्यर्थको छ। तर पनि दुईतिर कस्ने नयाँ पटुका वा डोरी चिनाउन कति वर्ष लाग्थ्यो! यथास्थितिले कहिल्यै नयाँ घाम छिर्न नदिने ठाउँमा नयाँ उज्यालाको काम कस्तो कठिन हुन्छ!

समालोचना निकै प्राज्ञिक, जटिल र अपजसिलो काम हो। यसले व्यक्तिलाई विवादमा तानिरहन्छ। यत्तिका वर्ष समालोचनामा विताएपछि यहाँलाई यस कार्यप्रति कतिको सन्तुष्टी छ?

अघि मैले भनेँ— यो सेकेन्ड क्लास कर्म हो र एउटै पटुकाले दुई जनाको भुँडी कस्ने कामको दृष्टान्त दिएँ मलाई स्वतन्त्र हुन मन छ। अर्थात् सिर्जनामा रमाइरहने तिर्खा छ। बाँकी जीवन म सिर्जना बाहेक केही छुन्नँ।

अन्त्यमा, यहाँसँगको कुराकानीमा छुटाउनै नहुने विषय छ — अनुवादको। यहाँ, अनुवादमै विद्यावारिधि गर्ने पहिलो नेपाली अध्येता पनि हुनुहुन्छ। वर्तमानमा नेपालमा भैरहेको नेपाली साहित्यको अङ्ग्रेजी अनुवाद कस्तो पाउनुभएको छ? हाम्रो अनुवादले विश्वमा चर्चा पाएको त खासै सुनिँदैन। कहाँकहाँ छन् अड्चन?

यो मर्मको घाउ जस्तो भएको छ— छुँदा दुख्ने, नछुँदा पनि। अनुवादले नै नेपाली साहित्य यहाँ पुगेको हो, संस्कृतको र अन्य साहित्यको। सिद्धान्तले भन्छ हरेक साहित्यमा २०% साहित्य अनुवादमा आओस् र त्यति नै प्रतिशत अनुवाद भएर जाओस्। फेरि अति–अनुवादले आफ्नो भाषा अरुमा बिलाउनु हुँदैन भने अर्कातिर अनुवादरहिनता पनि रोग हो। त्यस्तो स्थिति रहन दिनु हुँदैन। नेपाली साहित्यमा सिर्जना र अनुवाद सँगसँगै त्यसैगरी बढे। महाकविको जीवनकाल अनुवादको लागि अर्पित थियो। तर यता आएर अनुवाद कर्मको लागि उपयुक्त वैज्ञानिक आधारशीला स्थापना गर्न सकिएन र अनुवाद अपहेलित, पछि परेको, अनिर्देशित कर्म भयो। एकातिर यसको अपरिहार्यता यति बढेको छ, त्यसको बयान गरिसाध्य छैन। अर्कातिर अनुवादबारेमा कुनै नियम धर्म, आचरण, परम्परा, कपिराइट — कुनै संस्कार स्थापित नभएकाले गर्दा यो दोबाटामा झुण्डिएको मादल भएको छ। पिट्नोस्, छोड्नोस्, विनाखर्च, विनाशुद्धी, विनाइमानदारी।

धन्य त्रिवि! स्थापनाको ४० वर्षपछि अनुवाद पठन–पाठन र अनुशन्धानको विषयका रूपमा स्वीकृत भयो।  धन्य एकेडेमी! स्थापनाको ५० वर्षपछि अघिल्लो पालि कुलपति बैरागी काइँला र उपकुलपति गङ्गा उप्रेतीको पालामा अनुवाद विभागको स्थापना भयो। तर अनुवाद कर्मप्रति नोपली मानसिकता सकारात्मक छैन। यसको नियम छैन, अनुवादकको लागि योग्यता, क्षमता, त्यसका आवश्यक मान्यता, पारिश्रमिक, प्रकाशन कुनै विषयमा अनुगमन गर्ने निकाय नभएकाले कहिले अनुवादक स्वयम्ले सर्वनाश गर्दछन्। धेरै जस्तो मूलकृति लेखक, वा स्पोन्सरले र बाँकी प्रकाशकले ढुट्टो पारेका छन्। इन्टरन्र्याशनल फेडेरेशन आफ ट्रान्सलेटर्सको सदस्यता नलिएको देशमा यस्तै मनपरी हुन्छ। जसले सक्छ, उसले सिध्याउँछ।

अन्तर्राष्ट्रिय जगत्मा अनुवाद मौलाएको क्षेत्र हो र त्यसको लागि कडाइसाथ नियम पालना गरिन्छ। जगत्मा अनुवादका ठूला ठूला पुरस्कार पनि रहेका छन्। हाम्रो छिमेकी भारतमा पनि प्रत्येक वर्ष संविधानको अनुसूचीमा परेका त्यहाँका भाषाभित्र गरिएका नामी अनुवादलाई साहित्य एकेडेमीले ५० हजार भारुको पुरस्कार दिन्छ। २०१६ का अनुवादमा एकेडेमी पुरस्कार प्रापक असमका ज्ञानबहादुर छेत्री भर्खरै यहाँ आएका थिए। तर नेपालमा कतै पनि अनुवाद पुरस्कार सुनिएको छैन। हाम्रो जस्तो बहुभाषी मुलुक अनुवादको सम्मान नगरी कसरी अघि बढ्छ? मलाई घोर चिन्ता छ।

नेपालमा तीनजनाले अनुवादमा विद्यावारिधि गरिसके, अरु गर्दैछन्। तर यो विकृतिबीच घस्रिरहेको छ। यसबाट भाग्नु, लुक्नु स्वान्तसुखाय सबैथोक विर्सनुभन्दा एकपल्ट जागेर उठ्ने तपाईंहरूजस्ता त्यागी श्रमिकलाई उठाउने र अुनवादलाई ससम्मान स्थापित गर्ने कार्यमा लाग्ने मैले प्रतिज्ञा गरेको छु।

त्यसो त एकेडेमीबाटै वार्षिक रुपको “अनुवाद पुरस्कार” रहोस् भन्ने आवाज उठाएका छौँ। कुलपति उप्रेतीज्यूले आश्वासन पनि दिनुभएको छ। यदि त्यो भएछ भने नेपालमा एउटा नयाँ दिन उदाउने छ। त्यस्तै, यसका अन्तर्राष्ट्रिय नियमहरूको पालना अपरिहार्य छ।

एकेडेमीमा हालकी अनुवाद विभागीय प्रमुख प्रा. उषा ठाकुरको नेतृत्वमा अनुवादक परिचय कोश निर्माण गर्ने कार्यमा हामी लागको छौँ। तपाईंले देख्नु भो ४२५ जना अनुवादकको विवरण आइसक्यो। बाँकीबाट पनि आउला। र, सबैभन्दा हर्षको कुरा त नेपालीमा प्रथम अनुवादक परिचयकोश प्रकाशित होला भन्ने छ। प्रज्ञाको यस टोलीलाई त्यसको श्रेय जानेछ।

सबैभन्दा ठूलो कुरा त अनुवाद गराउने भावनामा परिवर्तन नगरी नहुने स्थिति छ। अनुवादकलाई सकेसम्म ठग्ने र झुक्याउने संसार बढिरहेको। उनीहरू अनुवादलाई तत्काल उक्लिने भ¥याङ बनाइरहेका छन्। यसपालिको प्रस्तावित शब्दकोशमा मानिसले बुझाएका अनुवादक प्रविष्टिमा धेरैजस्तो अनुवादक अस्पष्ट छन्। धेरै ठाउँमा छलछाम गरेर स्रष्टा आफैँ अनुवादकजस्तो  देखिएका छन्। अनुवादकलाई कुनै कुनामा लगेर बिनापरिचय छ्यास्स नाम लुकाएर छापेका छन्। के ऊ गौण वा अनिच्छत पात्र हो? त्यति मात्र होइन, मैले भोगेको कुरा झन् डरलाग्दा छन्।

एकजनाले अनुवाद गरिदिने अनुरोध गरे र कथाहरू ल्याएँ। गरिसकेपछि पैसा उठेन, त्यो श्रम व्यर्थ गयो। यो शरम लाग्दो बञ्चना मैले खपेर बिताइरहेको छु। एकदिन सार्वजनिक गर्नेछु। अर्कालाई मैले एउटा कृति अनुवाद गरेर भूमिका लेखेर दिएँ। उसले छाप्यो तर मलाई नसोधी। मेरो भूमिका हटाएर अर्कैको राख्यो। त्यसैगरी अर्कालाई अनुवाद गरेर दिएँ तर सम्पादक अर्कैलाई राख्यो र प्रकाशकीयको चेपमा, नदेखिने ठाउँमा मेरो नाम राख्यो। ठगहरूले पैसा दिन्छन्, तर पैसा सबैथोक होइन। अनुवादकको सम्मान गर्न नजान्ने छन्; उनीहरू त केवल हली किन्न चाहन्छन्।

म अनुवादको मान्छे। यी मूल ठग भए खुद्रा ठग अरु छन्। कति मूर्ख छन्— तिनको पनि अलिक औषधी नगरी नेपालमा अनुवाद गर्नु अझै अपमानको विषय छ, यद्यपि  अनुवादले हामीलाई धेरै सिकाएको छ। यो जटील विषय भएकाले यसको मर्म र महŒव नखुलाउनाले अभैm बाँदरका हातमा नरिवल भएको छ।

हामी एउटै मार्केटमा ठगिन्छौँ— यहाँ जीवा लामिछानेजस्ता उदारमना अनुवादलाई संस्थागत गर्न चाहने व्यक्तिको अभाव छ। धेरै जसो एक जनाबाट ठगिएर अर्कामा उफ्रने मात्र हो। राम्रा अनुवादक पनि छैनन्। अनुवाद नगरी पनि भएको छैन। अन्तर्राष्ट्रिय जगत्मा हाम्रो कीर्ति पुगेकै छैन। वेक अव् दि ह्वाइट टाइगर जस्ता, ब्लू मिमोसा जस्तो एक दुई कृति टाढासम्म पुगे हुनन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.