हत्केलामा झरेको एक तारा हरिभक्त

हरिभक्तको कविता चर्चा- सन्दर्भः हरिभक्तको ८२ औं जन्मदिन


हो, म त एउटा परिभाषामा पनि बाँधिन चाहन्न भने
तिमीलाई किन बाधूँ मेरो चाहको घेराले
सके बरु प्वाँख थपिदिन्थेँ तिमीमा
जताततै उडिहिँड्न आफ्ना इच्छाहरूसित
(मुक्ति)

रुढ परिभाषाहरूको विपक्षमा यो स्वर थियो हरिभक्त कटुवालको। पश्चिमतिर संरचनावादीहरूको केन्द्रभीरू समय, र नेपालमा आधुनिक, परिष्कारवादी साहित्यकारको हैकम भएको बेला, उनले परिभाषाको तरलताको कुरा गर्नु एक विद्रोह नै थियो। उनले आफैँलाई त्यस्तो तरल परिचयमा व्याख्यातित गरे, र आम मान्छेको भाषामा, आम मान्छेको सरोकारका कविता र गीत लेखेर आफू कुनै पनि परिष्कारवाद र केन्द्रभीरू रुढीवादको विपक्षमा रहेको उद्घोष गरिदिए। यी तिनै हरिभक्त हुन्, जसको कविताको ज्वारभाटा र गीतको मूच्र्छनाहरू मठ, महल र दरवारको भित्ताहरूमा भन्दा सहरका ससाना गल्लीहरूमा, झुग्गी–झोपडीहरू र गाउँगाउँका छाप्रा–पालीहरूमा बढी मौलाए। यी तिनै हरिभक्त हुन्, जो कविता र गीतका तारा थिए, र देशको हत्केलाको बीचमा झर्दा, हत्केलै प्वाल पारेर जमिनमा खसे, र चट्टानमाथि खसेको एक हिउँको टुक्राजस्तो हजार टुक्रममा चोइटिएर तरल, तरल पानी बने, र बगेर फेरि ब्रह्मपुत्रमै मिसिए। तर कुनै परिभाषाभित्र भने उनी कहिल्यै अटाएनन्। बरु लेखेः

नअटुँला सीमित संज्ञाको घेरामा पनि
कठै, कसैको लाज छोप्नै नपाई। (ए म बहुलाइसकेछु)

हरिभक्त कटुवालको जिन्दगी र आनीबानीका कुरा धेरै उठ्ने गर्छन् गल्लीहरूमा। दोबाटामा बसेर कुरा काट्नेहरूका लागि एउटा बाह«मासे भत्तेर हुन् हरिभक्त। रक्यासाहा, मताहा, पागल, हठी, सन्की…केके आत्मगत टिप्प्णीको भद्दा लेपनले सदैव पोतिएको हुन्छ उसको जाज्वल्यमान आभा। हरिभक्त त्यो कोइला हो जिन्दगीको, जसको कालो सबैले देखे, तर जब त्यो जलेर भर्भउँदो आगो फ्याँक्न थाल्यो, त्यसलाई धेरैले थेग्न सकेनन् र पर हटे। हो, हरिभक्त हामी सबैले, जानीजानी बिर्सन लागेको त्यो एउटा विपना हो, जसको छेउछाउ आउन सपनालाई पनि हजार रात कुर्नपर्छ सायद। हरिभक्त हाम्रो हृदयले गाउने मधुरतम गीतको त्यो मूच्र्छना पनि त हुन्, जसको जीवनबोधी ओठ सधैँ हाम्रो चेतनाको भित्री तहमा एक जलतरङ्ग बनेर गुन्गुनाइरहन्छ उज्यालोको गीत। सम्झनाका परतबाट धेरैले, धेरैपटक पुछ्न खोजेको त्यो अभागी छायाँ पनि हुन् हरिभक्त, जुन हाम्रो जीवनको अस्तित्व रहुन्जेल हामीसँगै रहिरहन्छ, र पुछेर कहिल्यै पुछिन्न।

सुनेको छु, पूर्वी नेपालमा कतै हरिभक्त कटुवालको सालिक छ रे, र त्यहाँ छेवैमा गएर आँखा निकैबेर गाढेर हेर्दामात्रै त्यो हरिभक्त हो भनेर चिनिन्छ रे। मलाई यो एउटा रूपक अलङ्कार हो जस्तो लाग्छ, जसमा हामी उपेक्षाका हजार फेहरिस्तहरू सहजै पढ्न सक्छौँ। यत्रो विशाल देशको एक कुनामा, एउटा उपेक्षाको प्रतिविम्ब बन्नका लागि सायद लेखेका थिएनन् हरिभक्तले जीवनका गीत, विद्राह र परिवर्तनका अग्रगामी कविताहरू। तर समयको हुरीले बढारेर उनलाई नेपथ्यको एउटा पात्र बनाइदियो, जसको नाममा आज एउटा उद्यान छैन, एउटा सडक छैन, एउटा प्रतिष्ठान छैन, एउटा पुरस्कार छैन, एउटा स्कुल छैन, एउटा पुस्तकालय छैन। तर यो सत्य हो, नेपालमा “पोखिएर घाको झुल्को” अथवा “मलाई नसोध कहाँ दुख्न घाउ” बोलको गीत नगाउने ओठ छैन। “बा, पाठशाला जान्नँ म, इतिहास पढाइन्छ त्यहाँ मरेका दिनहरूको” र “यो जिन्दगी खै के जिन्दगी” जस्ता कविताका हरफहरू नपढी कविताको फाँटमा अवतरित भएको कुनै एउटा कवि छैन।

हरिभक्तले कहाँ, कहिले र कसरी भेट्टाए आफूभित्र गीत र कविता, त्यो उनी गएसँग गएको एउटा रहस्य हो, तर देशले उनी छँदै भेट्टाएन हरिभक्तलाई। भेट्टायो त फगर रोग, भोक, अभाव र तिरस्कारले खाएको एउटा आप्रवासी, जसभित्रको कस्तुरीलाई चिन्न चिनाउन आज पनि उनका प्रेमी र परिवारलाई हम्मे परेको छ। कतिले उनकै हरफमा टेकेर कविताका महल बनाए, कतिले उनको हराएको भनिएको “रातो डायरी” मा टेकेर आफूलाई चिनाए, कतिले उनका गीत गाएर आफूलाई अजम्मरी गायक बनाए, तर कसैले पनि हरिभक्तलाई सग्लो रूपमा भेट्टाएन। हरिभक्तको सेल्फपोट्रेट उनको हराएको परिचयको स्मारक हुन सक्छः

यस्तो लागिरेछ यसबेला आफैँलाई
कुन म्युजियमको एक कुनामा थन्को लगाइदिऊँ आफ्नै यो जिन्दगी
र लेबिल टाँसिदिऊँ ठूलाठूला अक्षरमा
“यो हरिभक्त कटुवाल हो
जो मृत्युको डरले सधैँ भागिहिँड्छ
यो त्यही कटुवाल हो
जो स्वस्ति गरेर भए पनि
आफ्नो जागिर जोगाउनमा तल्लीन छ।”
(दाइ कविता! खै कविता!)

हरिभक्त कटुवालका कविताको स्वर कस्तो हो — यसको पनि एउटा कुनै निश्चित उत्तर छैन। कविहरूका लागि उनी एउटा आश्चर्य हुन्, सधैँ नवीनता बोकिल्याउने वसन्त हुन्। समालोचकका लागि उनी एउटा समस्या हुन्, कुनै कसीमा नअडिने, कुनै वादमा नबाँधिने, यता राख्यो चिप्लेर उता पुग्ने, उता राख्यो, लम्केर यता आइपुग्ने। कतै यथार्थवादी, कतै आदर्शवादी, कतै ईश्वरवादी, कतै अनिश्वरवादी, कतै स्वच्छन्दतावादी, कतै प्रगतिवादी। सारमा उनी जिन्दगीजस्तै कविता लेख्छन्। जिन्दगी लय मिलाएर, छेउकुना मिलाएर, निश्चित ज्यामितिमा मिलेर, योजनाबद्ध र सधैँ एकै सुरमा कहाँ आउँछ र? जिन्दगी, सारमा अनेक आकस्मिकताहरूको फेरहिस्त न हो, जो आज एउटा रङ्मा हुन्छ, र समयका पर्खालमा ठोकिएर भोलि फेरि अर्कै पनि हुनसक्छ।

हरिभक्त कटुवालको कविताको विविधालाई जोड्ने कडी भनेको उनको त्यो विश्वदृष्टि हो, जसको केन्द्रमा सधैँ मान्छेका सुखदुख छन्। त्यसैले त्यहाँ मायाप्रेम छ, त्यहाँ राष्ट्रप्रेम छ, त्यहाँ स्वाभिमानको तर्क छ, त्यहाँ उज्यालोको खोजी छ। सारमा, हरिभक्त एक जीवनवादी कवि हुन्, र जीवनलाई सार्थक बनाउन जेजे चान्हिन्छ, ती सबै उनको कविताको उपकरण हुन्, अवयव हुन्।

हरिभक्तको कथा हामी धेरैलाई थाह छ – भारतको असम प्रान्तको पनि अति दुर्गम ठाउँमा जन्मिएका उनी आफूलाई खोज्दै नेपाल आएका थिए। उनी नेपालको मायाले सम्वेदित भएपछि हेलिँदै आएका थिए। त्यसैले डायस्पोराहरूभित्र दुखिरहने पितृभूमिको माया उनका धेरैवटा कवितामा प्रतिध्वनित भएको पाउँछौँ। भारत–पाक युद्ध होस् अथवा भारत–चीन युद्ध होस्, त्यहाँ मर्ने नेपाली सपूतहरूप्रति सम्वेदित छन् उनी, तिनका विधवाहरूप्रति सम्वेदित छन्, तिनका आमाबाहरूप्रति सम्वेदित छन्। तिनका बलिदानहरूको कथा समयको प्रवाहले कसरी मेटाउँदै लगेको छ भारतमा, र कसरी ती फगत एक बिर्सिएको सपनाजस्ता भएका छन्, त्यसप्रति उनको मनमा गहिरा प्रश्नहरू छन्। भारत–पाक युद्धका नेपाली सहिदलाई एक ठाउँ उनी भन्छन्ः

ती जो त्यहाँ मर्नै नजानी मरिरहेकाछन्
तिनका लागि आफ्नै देशमा मर्ने ठाउँ पर्याप्त छ
तिनले यहाँ भीरमा सडक बनाउँदै मरे हुन्छ
नदी–नालामा पुल हाल्दै मरे हुन्छ
मर्नु नै छ भने नेपाल बनाउँदै मरे हुन्छ।
(रातको घेरामा एक्लै म )

यो एक राष्ट्रिय स्वाभिमानको प्रेमले सिर्जिएको कविता हो। भलै असममा जन्मेका होलान्, तर उनले आफ्नो कर्मक्षेत्र नेपाललाई नै बनाउन चाहे, र पूर्ण सचेतनाका साथ चाहे। नेपाल आउनुमा सामन्यतः अन्य मानिसको जस्तो केवल रोजीरोटी र जागिरको प्रश्न थिएन उनीसँग। रोटी दिन असमका फाँटहरू र ब्रह्मपुत्रका छालहरू काफी दिए। तर आफूभित्र सिर्जनाका ज्वारभाटा भएको, र छातीमा स्वाभिमानको सगरमाथा भएको मान्छे कुनै दुर्गम ठाउँमा अटाएन र पोखियो काठमाडौँका पत्थरजडित सडकहरू। हरिभक्तले असमबाट नेपाल आउँदा ल्याएको हृदयको उद्गार यस्तो थियो :

बल्ल आइपुगेको छु आमा! तिम्रो न्यानो काख खोज्दै
माया देऊ — मलाई मायामको भोक लागेको छ।

यतिका दिनसम्म त्यसै भौँतारिँदै हिँडेँ वारिसबिना
केवल दाँत ङिँच्याउँदै अरुको भुकाइमा–थुकाइमा
तर आमा! जहाँ थिएँ – म तिम्रै छोरो थिएँ।
(मर्न सकूँ तिम्रा लागि)

यो उनको नेपालप्रतिको प्रेम थियो। उनको जीवनकालमा नेपालको बागडोर सम्भालेकाहरूले, उनलाई जागिर दिन्छु भन्नेहरूले, उनले जागिर खाएको प्रज्ञा–प्रतिष्ठानका प्राज्ञहरूले, उनका हाकिमहरूले उनलाई चिने कि चिनेनन्, त्यो उनीहरूको विवेकको कुरा हो, तर सधैँ भोक र अभावको दोसाँधमा, सधैँ जीवन र मृत्युको दोभानमा, सधैँ रोग र शोकको आगोमा छोटो समय बाँचेर पनि हरिभक्तले नेपाललाई जे दिएर गए, त्यसको लेखाजोखा शब्दमा सायदै गर्न सकिएला। उनका उछ्वासहरू, उनका त्रासहरूमा, अभावले आक्रान्त आकाशहरूमा कवि हरिभक्तले माटोप्रति, समाजप्रति र मान्छेप्रतिको जिम्मेवारीवोध कहिल्यै बिर्सेनन्। आफू जति नै जीर्ण जिन्दगीका पर्खालहरूमा झुण्डिए पनि, समग्र मानवताको हित गर्नुपर्ने कविको एक सार्विक मानवधर्मिताबाट आफूलाई कहिल्यै च्यूत गरेनन्। उनको कवित्वको मानवतावादी आवाज यस्तो छः

जाती हुन्थ्यो बरु म कवि नभएर
त्यही रित्तो भाँडोभरि मट्टीतेल हुन सकेको भए
मेरो देशको एउटा घरमा एक रात एक छाक बल्न सक्थेँ
एउटा वृद्धाको खिन्न अनुहार केही क्षण उज्यालो पार्न सक्थेँ।
(म कवि)

झट्ट हेर्दा हरिभक्तका अधिकांश कविताको स्वर प्रेम, पीडा र विद्रोहको हो, तर उनको कविताका हरफहरूभित्र सदैव सकारात्मकताको एउटा उज्यालो भेटिन्छ। यो सत्य हो, हालसम्म मान्छेले गरेका अविष्कारका सीमबाट पनि उनी परिचित छन्, त्यसैले चाहन्छन्, यी सीमाबाट माथि उठेर, र परेको खण्डमा नयाँ अविष्कार गरेरै भए पनि मान्छे सभ्यताको वर्तमान उचाइबाट अझ माथि उठ्नुपर्छ। नवनिर्माणको पक्षमा, विकासको पक्षमा, स्वतन्त्र चिन्तन र अध्ययनको पक्षमा, प्रगतिको पक्षमा हरिभक्त एक सर्वकालिक प्रेरणाको नाम हो। आजको बालबालिकालाई हेरेर उनी लेख्छन्ः

उनीहरूलाई छेक्न नखोज!
आफूलाई चाहिने घर
आफूलाई चाहिने सडक
आफूलाई चाहिने मन्दिर
उनीहरू आफैँ बनाउनेछन्
निश्चित छ — भोलिको नेपाल उनीहरूले चाहेजस्तै हुनेछ।
(भोलिको नेपाल)

हरिभक्त कहिल्यै आदर्शवादी थिएनन्। उनी यथार्थको जिन्दगीमा पे्रम र कल्पनाको लेपन गरेपछि त्यो अझ चम्कन्छ भन्ने विश्वास गर्थे। पीडा जिन्दगीको यथार्थसँगै गाँसिएर आउने चीज हो । संसारका पीडालाई पनि सङ्गीतमय उत्सवमा परिणत गर्न सकैले सक्यो भने त्यो हरिभक्त कटुवालले सक्यो। आँसुलाई जिन्दगीका इन्द्रेणी निर्माण गर्न सक्ने प्रिज्म बनाउन कसैले सक्यो भने त्यो हरिभक्तले सक्यो। अभावका सुस्केराहरूलाई गीत बनाएर कसैले गायो भने, त्यो पनि हरिभक्तले गायो। जिन्दगीले आफ्नो पोल्टामा लिएर आएका सम्पूर्ण अट्टाहास, व्यङ्ग्य र विपर्यासहरूलाई छातीभरि सजाएर पनि मुस्कानकै खेती गरिरहने हरिभक्त एउटा दुर्लभ दार्शनिक उज्यालो हो, जसको प्रकाशमा आज पनि हामी जीवन खोजिरहेका छौँ, गीत खोजिरहेका छौँ। उनलाई जीवन एउटा भारी हो भन्ने थाह छ, र यस भारीलाई अक्कर र उकालाहरूमा घिस्याउनुपर्ने बाध्यता मान्छेसँग छ भन्ने पनि थाह छ। त्यसलाई स्वीकार गर्नु, र अगाडि बढिरहनु जीन्दगी हो। मुक्त त ढुङ्गामात्रै हुन्छ, मन्छेसँग त मान्छे हुनुसितै टाँस्सिएर आएका भारहरू छन्, हारहरू छन् र पहारहरू छन् :

मुक्त त ढुङ्गा हुन्छ
न उसको दुख्ने मुटु हुन्छ
न देख्ने आँखा हुन्छ
कसैले पर्खाल लगाए पर्खाल बन्छ
सडक बनाए सडक बन्छ
सायद त्यसैले त्यसको पूजा हुन्छ
ऊ ईश्वर बन्छ।
(मुक्त)

अभवाहरूको किनारबाटमात्रै, त्यो पनि धोरैमात्रै जिन्दगी उघाउन भ्याएका हरिभक्तले जति उघाए, उज्यालोमात्रै उघाए। उनी कवितलाई एउटा उज्यालो मान्थे, जुन धेरै कुराहरूको रूपक अलङ्कार थियो। यही उज्यालो, यही सकारात्मकताले उनलाई पश्चिमका, र पूर्वका पनि निस्सारतावादी र अस्तित्ववादीहरूको भिडबाट पृथक राख्यो। उही कहिल्यै निस्सारताको दुन्दुभि बजाउँदै जीवन शून्य हो भन्नेहरूको कित्तामा उभिएनन्, उद्यपि ती निस्सारतावादीलाई भन्दा धेरै बढी कोर्रा जिन्दगीले हरिभक्तलाई लगाएको थियो। कवि हुनु भनेको, आखिर, आँधीमा ननिभ्ने एउटा दीयो बन्नु हो, अँध्यारोले पनि पिएर नसकिने एउटा बत्ती बन्नु न हो। हरिभक्तले आफूभित्रको त्यस सूर्यलाई समयमै चिने, र कहिल्यै निभ्न दिएनन्। आफ्नो विश्वासलाई कहिल्यै डग्मगाउन दिएनन्ः

मेरा आँखाको आकाशमा यसबेला मध्याह्न छ
त्यहाँ ज्योतिपुञ्ज एउटा सूर्य जाज्वल्य छ – प्रदीप्त छ।
(ए प्रणम्य!)

मलाई विश्वास भइसकेको छ आज
मैले उज्यालोको स्पर्श पाइसकेको छु।
(आश्वस्त छु)

यो सकारात्मकताको उज्यालो र यो विश्वास हरिभक्तले आफूभित्रमात्रै सीमित राखेनन्। कवितमार्फत्, गीतमार्फत्, उनले सबैलाई बाँडे। उनले परिवर्तनको पक्षमा बाँचुञ्जेल वकालत गरे, र त्यस परिवर्तनको नेतृत्व पुरानो, खिया लागेको विचारले गर्न नसक्ने मत पनि जाहेर गरिरहे। “खिया लागेका कलका पूर्जाहरूमा” उनको विश्वास थिएन। त्यसैले, “मरेका दिनहरूको इतिहास” मा पनि उनलाई विश्वास थिएन। उनलाई विश्वास आजका तन्नेरीहरूमा थियो, जसले आफूलाई चाहिने घर, सडक अथवा मन्दिर आफैँ बनाउनेछन्। उनको विश्वास तन्नेरीहरूमाथि थियो, जसले अरू कुरामा अल्झनुभन्दा आफूलाई राष्ट्रको निर्माणमा समिर्पत गर्नेछन्ः

अब यहाँ कुनै तन्नेरी कसैको लाश कुरेर जिउँदैन
अब यहाँ कुनै तन्नेरी कसैको लासभित्र जिउँदैन
अब यहाँ कुनै तन्नेरी कसैको लास बोकेर जिउँदैन
(आजको तन्नेरी)

श्रद्धाञ्जली, प्रिय हरिभक्त। टाढा छौ, थाह छ। तर गुनासो गर्दिनँ। आखिर, टाढाकै घाम हेरेरै त यहाँ बाँचिरहेका छन् सबै, जुगजुग।
नजिकै छौँ, थाह छ। तर छुन सक्दिनँ। तर पनि, गुनासो छैन। सधैँ, छुन नसकिने मुटु छ भनेरै त बाँचिरहेका छन् यहाँ सबै, जुगजुग।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.