गीतमा हरिभक्त र हरिभक्तका गीतहरू

सन्दर्भ: हरिभक्तको ८२ अौं जन्मदिन


गीतकार हरिभक्त कटुवाल र कवि हरिभक्त कटुवाल, यी दुवै नाम स्थापित छन् नेपाली जनमनमा। सिर्जना सामथ्र्य र शिल्पको कसीमा निफनेको चामलजस्तो सर्लक्क सफा दुई धार देखिन्छ उनको व्यक्तित्वको तर यी दुई व्यक्तित्वका बीचमा धेरै समता छन्, अन्तर्सम्बन्ध छन्। दुवै मिसिएको तर नमिसिएजस्तो पनि र नमिसिएर पनि उस्तैउस्तैजस्तो पनि। गीतको चर्चा गर्दा कविता र कविताको समीक्षा गर्दा गीतको हेक्का नगरी हरिभक्तलाई सम्पूर्णतामा छाम्न सकिन्न। उनका गीतमा काव्यिक बिम्ब सुटुक्क प्रवेश गर्नृु र गद्य कवितामा समेत अनुप्रासयुक्त लयचेतना मिसिएर आउनुको दोभानबाट उठेको छ उनको व्यक्तित्व। सघन संवेदना र संप्रेषणको उच्चता कवितामा ज्यादा छ। कोमलता र व्यावहारिक यर्थाथताको ज्यादा वकालत गीतमा देखिन्छ। त्यो कोमलता शैली सापेक्ष छ र व्यावहारिक यथार्थ पक्ष विषय विम्बमाथिको दृष्टि चेतनासँग मिसिएर आउँछ। हरिभक्तको क्षमता नै हरिभक्तको सामथ्र्य र सीमा हो। उनमा कनीकुथी लेखन र ठसठस कनाइको संक्रमण छैन। विषयले उनलाई हिँडाएको छ र शिल्प सामथ्र्यले बलियो पारेको छ।

अम्बर गुरुङको स्वर/संगीत रहेको बदनाम मेरा आँखाहरू, अम्बर गुरुङको संगीत र नारायण गोपालको स्वर रहेको पोखिएर घामको झुल्को भरी संघारमा, नारायण गोपालको स्वर÷संगीत रहेको मलाई नसोध कहाँ दुख्छ घाउजस्ता गीतहरूमा प्रयुक्त आँखासँग बदनामी, घामको झुल्कासँग पोखिनु र पोखाइको भाव र तिमीले सोधेकै शैलीमा उत्तर दिन सक्तिनँ भन्ने आसय लुप्त राखेर घाउ कहाँ दुख्छ नसोध भन्नुको प्रयोगलाई गीतमा कविता कलेबर भरेको रूपमा लिन सकिन्छ। गीतमा सीधा भन्नु, सरल हुनु, मनोरञ्जनको अपेक्षा राख्नु र पछिल्ला दिनमा व्यावसायिक लक्ष्य खोज्नुको सापेक्षतामा हरिभक्तका गीतहरू फरक पहिचानमा उभिएका छन्। उनी गीतमा प्रष्टसँग गीति कथ्य भनिरहेका छन् र त्यो कथा आफैँमा पूर्ण देखिन्छ र त्यहाँ कवितात्मक चेतनाको उज्यालो छ तर उनै हरिभक्त मन त फलामकै भए असल हुन्छ शीर्षकको कवितामा लेख्छन् –
न घात प्रतिघातमा रुन्छ
न सयपत्री र बाबरीले बाटो थुन्छ
मन त फलामकै भए असल हुन्छ।
कसैले चिमोट्यो – एक कप्टेरा त्यतै टाँसियो
कसैले एउटा मुस्कान फ्याँक्यो – उसैको पछ्यौरीमा गाँसियो
जहिले पनि जलेकै छ, जता पनि ढलेकै छ
मनको बह कसैसित नकह कसले बुझ्छ? कसले सुन्छ?
मन त फलामकै भए असल हुन्छ।

गीत र कविता बीच त्यतिपरको साइनो त हैन/छैन। गीत पनि आफैँमा कविता हो तर पनि यस कवितामा देखिएको लयचेतना र श्रुतिमधुर अनुप्रास कवि हरिभक्तमाथि गीतकार हरिभक्तको प्रभाव हो। यसमा देखिएको सरल प्रवाह र अनुप्रासले पाठकलाई निकै हुरुक्क बनाउँछ। यो कविता ज्यादा सम्प्रेष्य हुनुमा शैली पनि प्रमुख कारण हो र त्यो शैली गीतबाट आएको छ, तर कटुवालले गीतमै पनि आफूलाई यसरी बगाएका छन् –
बतासले झारेका फूलहरू सँगाली
विरहको आँसुले तिनै फूल पखाली
माला गाँसी राखे है भरे भेट्न आउँला
कर्म आफ्नो अभागी चोखो फूल कहाँ पाउँला?
स्वर/सङ्गीत : अम्बर गुरुङ

बन्धन र बाध्यतामा बाँच्नु पनि के बाँच्नु
आँसु लुकाई गहमा हाँस्नु पनि के हाँस्नु

यो घर जहाँ म बस्छु यो भित्ता चर्कँदै छ
सायद त्यो ढल्नलाई भैँचालो पर्खँदैछ
छोरो आफैँ बनाउला उसलाई चाहिने घर
गर्दै होला ऊ अहिले भैँचालो ल्याउने तरखर।
स्वर : नरबहादुर दाहाल / सङ्गीत : अशोक राई

कविताका नाममा पढ्दै आएको पहिलो उदाहरण र गीतका नाममा सुन्दै आएको पछिल्लो दुई उदाहरणका बीच रेकर्ड हुनु र नहुनुको सीमा मात्र फरक हुन्। भाव विनिमय, शिल्पको सज्जा, लेखन प्रवाह र कथ्यको सुस्पष्टता उस्तैउस्तै लाग्छ। गीति छन्द वा मिटरको सवाल अलग कुरा हो। प्रयोगशील सङ्गीतकारका लागि यो कुनै आइतबार पनि हैन। गीतलाई कतिपयले भन्ने गरिएकैजस्तो हल्का सीमामा नराख्नु र जीवनसँग जोड्नु र कवितालाई गीतको नजिक ल्याउन खोज्नुको बीचमा छन् गीतकार हरिभक्त कटुवाल।

तिमी फूलहरूमा (स्वर/सङ्गीत : तुङ्गनाथ उपाध्याय), जुनेलीमा आउँछु (स्वर/सङ्गीत: माया ठकुरी), सपनीमा आज (स्वर: भक्तराज आचार्य/सङ्गीत : बुलु मुकारुङ), भन्न सकिन्नन् (स्वर : ओमविक्रम विष्ट/सङ्गीत : उदय शमशेर), वेदनाको आँसुभरि (स्वर/सङ्गीत : दीपक जङ्गम) र हाँगाहाँगा वनपाखा (स्वर : अरुणा लामा/सङ्गीत : मणिकमल क्षेत्री) आदि केही गीतहरू हुन्। यी गीतहरूमा वेदनाको शिखर भेट्न सकिन्छ तर त्यही वेदनामा बाँच्ने आशा पनि छ। बाँच्न चाहेको, हाँस्न चाहेको तर बचाइ र हँसाइमा व्यवहारको खग्रास ग्रहण अनुभूत गरेको तथ्य भेटिन्छ। आशाहरू उद्यत छन् हिँड्न तर गोडाहरू मानिरहेका छैनन्। फूल छ गीतमा, जुनेली छ गीतमा, वेदनाको विरह छ र वनपाखा छ तर ती सबैसँग कतै न कतै आँसुको विस्कुन छ र जीवनको आकाशमा वादल लागेको अनुभव छ। भत्किएको छ हृदय तर त्यही भत्किएको ठाउँबाट निर्माणको जग उठाउन पाए हुन्थ्यो भन्ने सङ्कल्प पनि छ। निराशाहरू टेकेर उठेको यो आशामा म जीवनको प्रेरणा भेट्छु। हरिभक्तका गीतले स्वयं हरिभक्तलाई सम्झाइरहेझैँ लाग्छ – हेर बाबु हरिभक्त बाँच्नु छ, जसरी पनि बाँच्नु छ तर सिर्जनाहीन भएर बाँच्नु हुन्न है। हरिभक्तका हरगीतमा जुन मूच्र्छना छ, त्यो हरिभक्तको हृदय खोपिएको मूच्र्छना हो तर सिर्जना सार्वजनिक भएपछि सबैको हुँदोरहेछ, हरिभक्तका गीत आज सबै नेपाली स्रोताको साझा संवेदना भएजस्तो लाग्छ। निधनको झण्डैझण्डै ४ दशकपछि पनि रोजाइको उत्तिकै उपल्लो स्थानमा रहनुको पछाडि उनको काव्यिक संवेदनाले काम गरेको छ। गीतकार हुन होइन, उनी गीत लेख्न गीतकार भएका हुन्।

सूर्यविक्रम ज्ञवाली, लैनसिंह वाङ्देल, अम्बर गुरुङ र हरिभक्त कटुवालहरू केही समयको फरकमा सँगसँगै जसो नेपाल आए। जसले बोलाएको भए पनि वा जसरी आएको भए पनि बोलाइँदा वा ल्याइँदा दर्शाइएको प्रेम र बाँडिएको भावुकता दिगो रहेन। कल्पनाको चुली चढाएर निम्तो गर्नेले आएपछि आवश्यक चुलोचौकोको चाँजोसम्म मिलाइदिएनन् सायद्। विरक्तिको बिउ झाँगिएपछि निराशाले घर बनाउँछ।

हरिभक्तका गीतहरूमा तिनै निशारा घनीभूत भएर देखा पर्छन्। उनी कँसिलो भाव र सघन चेतनाका उपल्लो कवि हुनाले निराशाको घरलाई उनले काव्यिक धुरी दिए। त्यही भयो उनको गीतको विशेषता र उनी फरक कोटीको अब्बल गीतकारका रूपमा स्थापित छन्।

उनले कस्तो लुगा लगाए वा केके खाए अथवा कुन घरमा डेरा बसे वा कोसँग उनको प्रेम थियो? मेरो पुस्तालाई त्यसको खासै सरोकार छैन। सरोकार छ त उनको गीति विषय र त्यसले आज मलाई र मेरो पुस्तालाई पारेको प्रभाव। उनी यर्थाथवादी गीतकार हुन् तर यथार्थको नाममा कलाको मुहार उनले कुरुप पारेका छैनन्, झन् उजिल्याएका छन्। प्रेमको भावुकताभन्दा यथार्थसँग जोडिएको सहजताबीच उनी उनकै पारामा उभिन्छन् –

कति कति आँखाहरू बाटो छेक्न आउँछन्
परेलीमा बास मग्न कति आँखा धाउँछन्
यति धेरै मानिसका यति धेरै आँखा
मलाई भने तिम्रै आँखा रोजूँ रोजूँ लाग्छ।

सीधा बुझिने यी पङ्तिहरूमा फरक फरक अर्थ बोध गर्न सकिन्छ। स्रोताले पनि विषयलाई आआफ्नै सीमामा राखेर आफ्नै पाराले बुझ्न पाउँछ। भावको विचरणमा स्रोता र पाठकले खेल्न पाउनु राम्रा स्रष्टाले पाठक÷स्रोतालाई दिने काव्यिक स्वतन्त्रता हो। लेख्नकै लागि त सरल लेखन झन् गाह्रो कुरा हो तर सरल भएर पनि सम्प्रेष्य हुनु र विषयबोध र दर्शनको बाछिटा लिएर आउनु त निकै माथिल्लो क्षमता हो, जो हरिभक्तमा प्रष्ट देखिन्छ।

हरिभक्तको चर्चा कतै कुनै न कुनै कुरासँग निरपेक्ष होइन। रेकर्डिङका हिसाबले केही वर्षहरू यताउता भए पनि नेपाली सुगम संगीतको लागि २० र ३० को दशक स्वर्ण युग भन्ने गरिन्छ। त्यही कालखण्डमा आए अजम्बरी स्वर÷सङ्गीत र रचनाका उच्च कोटीका स्रष्टाहरू। यादव खरेल (वि.सं.२०००), किरण खरेल (वि.सं.१९९६), राजेन्द्र थापा (वि.सं.२०००), रत्नशमशेर थापा (वि.सं.१९९४) कालीप्रसाद रिजाल (वि.सं.१९९६), कृृृष्णहरि बराल (वि.सं.२०१०), दिनेश अधिकारी (वि.सं.२०१६), लगायतका थुप्रै गीतकारहरू कोही स्थापित भइसकेका र कोही प्रारम्भिक लेखनमा सक्रिय रहेको अवस्था हो त्यो। ‘किन्नर किन्नरी’ चर्चित भइसकेका माधव घिमिरे (वि.सं.१९७६) जस्ता सुप्रसिद्ध कवि तथा गीतकारको निरन्तरता मात्र हैन, गोपाल योञ्जन (वि.सं. २०००) जस्ता रचना÷सङ्गीत र स्वरको त्रिवेणी अद्वितीय सङ्गीत साधकले प्रवेश पाएको युगखण्ड हो त्यो। कवितामा उच्च पहिचान भएका भूपि शेरचन (वि.सं.१९९२) र ईश्वरबल्लभ (वि.सं.१९९४)हरूको गीतियुगको निरन्तरता पनि त्यही हो। त्यस कालखण्ड र त्यसको अघिपछि सङ्ख्यात्मक र गुणात्मक रूपमा पनि निकै धेरै स्रष्टाको उपस्थति र आगमन छ। यस आलेखको सीमा र प्रयोजन त्यो समयको उत्खनन् नभएर हरिभक्तसँग जोड्नु/जोडिनु भएकाले सबै स्रष्टाहरूको उल्लेख असंभव छ। रेकर्डिङको अघिपछि वा पुस्तक प्रकाशनको क्रम आफ्नै ठाउँमा होला तर उपर्युक्त स्रष्टाहरूसँग गीतकार हरिभक्तले कुनै न कुनै रुपमा स्पर्श गरेका छन्, संगत गरेका छन्, सहकार्य गरेका छन् र सिर्जनामा सामेल भएका छन्। नौ लाख तारा उदाए गीतले अम्बर गुरुङलाई जति उचाइ र अवसर दियो, त्यस्तै उचाइ र अवसर अगम सिंह गिरीले पाए÷पाएनन् वा लिन चाहे÷चाहेनन्? कतै विश्लेषण भएको पाइन्न। इतिहास निष्ठरी छ – हरिभक्तका सिर्जनामा रचना छनक खोज्नुभन्दा उनले खाने पानसुकुमेलको पसल कहाँ थियो भनेर हेर्न दुकुर्नेहरूलाई त हरिभक्तकै गीत काफी छ –
म जे छु ठिकै छु बिथोल्न नआऊ।

हरिभक्तको जन्म सन् १९३५ मा भएको हो र निधन सन् १९८० मा। उनको भौतिक जीवन त्यति लामो रहेन। त्यही बीच पनि असम र काठमाडौँको ओहोर दोहोर। स्थिरसँग एक ठाउँमा रहने र निश्चित विषयको साधना गर्ने अवसर रहेन। फूलका सौखिन कटुवालको जीवन भोगाइ काँडाजस्तो बन्यो र त्यही जीवन कतिलाई गीत गाउने मेलो बन्यो तर हरिभक्तमाथि दुनियाँले गाएको गीत चौतारीमा सुकेर गयो, हरिभक्त आफैँ एउटा बलियो गीत बनेर बसे पाठक/स्रोताको मनमा।

परिवार नियोजनको एउटा विज्ञापन छ – दोस्रो बच्चा कहिले पहिलो स्कुल जान्छ जहिले। यो हरिभक्तले लेखेको विज्ञापन हो। कहाँ गयो होला मेरो मीठो बैँस आज, न सुहाउने भयो भन्छन् तन्नेरीको माझ। यस गीतमा उनले कतिखेर बुढ्यौलीको कल्पना गरे होलान्? रञ्जित गजमेरको सङ्गीत र दीपानारायण झाको स्वर रहेको डालीडाली फूल फुल्यो अथवा कहाँ जान्छौ कहाँ जान्छौ पुतलीका हूल, जहाँ जहाँ फुलेका छन् मीठा मीठा फूलजस्ता बालगीत। विषय वैविध्यका यी केही उदाहरण हुन्। उनीभित्रको कमलो स्पर्श पाएपछि सबै प्रकारको भावहरू गीति छनकमा देखा परेका छन्। बल गरेजस्तो वा जबर्जस्ती कोचेजस्तो वाक्य कतै भेटिन्न र कुवा थुनेजस्तो नसासिँदो थुप्राइ पनि कतै भेटिन्न। सरल प्रवाह र भावको प्रस्टतामा उनी खुल्छन्। अन्जुदेवी हुन् वा निर्मला श्रेष्ठ, वसन्त खड्का हुन् वा माया ठकुरी, यी प्रतिनिधि कलाकार हुन्, जसले हरिभक्तलाई स्वरले भेटे तर तिनको स्वरले पनि यथागच्छे गीतलाई न्याय गरेकै छ। यसबाट हरिभक्तको गीत वितरण र कलाकार छनौट बीच पनि सन्तुलनजस्तो देखिन्छ।

धेरैले उनलाई मुडी, घमण्डी वा लहडी भनेको पनि पाइन्छ। गम्भीर सिर्जनाअघि मान्छेमा कुनै न कुनै रूपमा एउटा पागलपन आउँछ नै। भान्सामा दूध उम्लियो होला, धारामा पानी आयो होला, छोरालाई स्कुल पु¥याउनुथियो र हिजो अफिसमा त्योसँग झगडा परेको थियोजस्तो बेअर्थ भाव मनमा राखेर गीतकार बन्ने रहरमा कापी च्यापेर बस्नेहरूका कुरा बेग्लै हो तर हरिभक्तजस्ता विषयबोध गरेर त्यसैमा डुब्दै उत्रँदै डुब्दै उत्रँदै गर्ने गहिरा साधकमा अन्तर्मुखी रचनाधर्म स्वाभाविकै हो। उनको मुड गीतको गेडामै भेटिन्छ तिख्खर भाव भएर।

केही वर्षअघि असम पुगेर उनकै निवासमा उनका छोरी र नातिनीहरुलाई भेट्दा तिनका आँखामा निराशा र विषादको रेखा देखिन्थ्यो। हरिभक्तका रचनाको चर्चा कम र जीवनवृत्तको भाका ज्याद भयो भन्ने गुनासो थियो। मैले बीबीसीका लागि बनाएको एउटा रिपोर्टमा नातिनी नवनिता क्षेत्रीले भनेकी थिइन् – म हजुरबाका गीतहरू खूब सुन्छु, हरफ हरफ सुन्छुु, कविता पढ्छु अक्षरअक्षर पढ्छु। मेरो पुस्तालाई पनि मन छुने भाव पाउँछु तर हजुरबाको साँचो समालोचना किन नभएको? मैले खासै ठूलो जवाफ दिइनँ सायद्। आवाज रेकर्ड गरेर फर्केँ।

मनमा अझै छ – तिनले खोजेको समालोचना के हो? पुरु लम्सालले बनाएको डकुमेन्ट्रीले पनि उत्तर दिँदैन सायद् र मधुवनमा प्रसारण गरिएका हरिभक्तका कविताले पनि आफ्नै कुरा गर्ला तर हरिभक्त चिनाउने नयाँ तरिका के हो? सबै कुराका लागि फेरि पनि हरिभक्तका रचना नै हुन् र रचना र रचनाको पुनर्पठन अबको खाँचो हो। आजको समय र समयले उठाएको विविध जटिलाबीच उनका रचना बाँचिरहेका छन्। उनले भोगेको विशृङ्खल जीवनशैली र आजको सुष्क समय बीच केही न केही समता छ। त्यो पञ्चायत र यो गणतन्त्र। तात्कालीन राजा स्वयंले आमन्त्रण गरेर ल्याइएका भनिएको र उनको दुखपूर्ण बसाइ र आजको जनताको शासन भनिएको गणतन्त्र र सत्ताबाहेक सबैतिर उदासिन राजनैतिक नेतृत्वबीचको दूरी मापन गरेर मात्र उनको गीतकारिता खोज्नुपर्ने छ। खोज्नु भनेको केवल टिपोट मात्र हैन, इतिहासको मूल्याङ्कन पनि हो। उनको जीवनजस्तै छ उनको गीत र गीतजस्तै छ उनको जीवन किनभने उनले जीवनकै लागि जीवनको नयाँ पाटो खोज्न आफूूलाई गीतमा पोखे। खासमा हरिभक्तको गीत हरिभक्तकै जीवन हो र जीवनले भोगेको सुकुमार भोगाइहरूको ऐना हो। त्यही ऐनामा हेर्न सकिन्छ उनी बाँचेको समयखण्ड र नेपाली सुगम सङ्गीतको एउटा सफा र उच्च शिखर तर एउटा सत्य कुरा चाहिँ यो पनि हो – हृदय हरियो नहुनेहरूले जतिसुकै सुने पनि गीतका हरफ त बुझ्लान् तर हरिभक्तका गीतले संकेत गरेको जीवनको पाटो भने कहिल्यै बुझ्ने छैनन्।

[email protected]

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.