रहिनन् ‘हाउ फन्नी’ निर्देशक

रहिनन् ‘हाउ फन्नी’ निर्देशक

तस्बिर स्रोत- स्ट्रिटनेपाल


फिल्म निर्देशक निलु डोमा शेर्पाको निधन भएको छ। बताइएअनुसार हृदयघातका कारण शनिबार बिहान उनको निधन भएको हो। पारिवारिक पक्षले उनको निधनबारे विस्तृतमा खुलाउन चाहेको छैन। उनको पार्थिव शरीर त्रिभुवन शिक्षण अस्पतालमा राखिएको छ।

शुक्रबार मात्र उनी निशा अधिकारी र शरद भेषवाकरको बिहेमा पुगेकी थिइन्।

उनी लामो समयदेखि मधुमेह रोगबाट ग्रस्त थिइन्। निकट स्रोतका अनुसार उनी उपचारका लागि बेला-बेला भारत जाने गर्थिन्। केही समययता उनको शरीर अस्वाभाविक रुपमा मोटाएको देखिन्थ्यो।

निलुको डेब्यु निर्देशनमा बनेको ‘हाउ फन्नी’ गत वर्ष रिलिज भएको थियो। दयाहाङ राई, प्रियंका कार्की, निशा अधिकारी, केकी अधिकारीलगायत अभिनित फिल्मलाई माल्भिका सुब्बाले निर्माण गरेकी थिइन्। भारतको एसियन फिल्म एकेडेमीबाट फिल्म पढेर आएकी निलुका केही सर्ट फिल्म रुचाइएका छन्। जसमध्ये ‘कागज’ एक हो।

दस वर्षदेखि फिल्मक्षेत्रमा सक्रिय निलुले पुन्टे परेड नामक फिल्ममा अभिनयसमेत गरेकी थिइन्। केही समय टेलिभिजनमा कार्यक्रमसमेत चलाउने उनी नयाँ फिल्म निर्देशन गर्ने तयारीमा थिइन्। जसको घोषणा छिट्टै हुनेवाला थियो।

निलु खुलेर आएअनुसार नेपालको पहिलो लेस्बियन फिल्म निर्देशक हुन्।

 

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.