८० वर्षअघिकाे पाेखरा


पोखराका जगन्ननाथ उलक तस्बिरका सोखिन थिए। यही सोखले उनलाई २०१० सालबाट तस्बिर खिच्न र संकलन गर्न प्रेरित गरेको थियो। तिनै तस्बिरलाई उनका छोरा सुनील उलकले  बबरमहलस्थित आर्ट काउन्सिलमा प्रदर्शन गरे।

शनिबारदेखि आइतबारसम्म भएकाे प्रदर्शनीमा पोखराको ८० वर्ष पुरानाे स्वरूप देख्न सकिन्थ्याे। सुनील उलकका अनुसार नेपालसहित विभिन्न देशका फोटोग्राफरबाट पुरानाे तस्बिरहरू संकलन गरिएको हो। यी तस्बिरहरू पोखरेली दिदीबहिनी समूहको सहयोगार्थ विक्रीका लागि राखिएको थियो।

‘हाम्रो समूहले पोखरामा रहेका दिदीबहिनीलाई सीप सिकाउने, सामाजिक विकास लगायतमा सहयोग गर्दै आएको छ,’ समूहकी निवर्तमान अध्यक्ष विमला शाक्यले भनिन्, ‘यो रकमले क्यान्सर पीडित महिला, विपन्न बालबालिकालाई सहयोग गर्नुका साथै सांस्कृतिक उत्थान गर्न चाहन्छौं।’

प्रदर्शनीमा रहेका तस्बिरबाट पुर्खाले सिर्जेको पुरानो कला संस्कृति, धरोहरहरू देख्न सकिन्छ। करिब ५० हजार पुराना तस्बिरहरू आफूसँग संकलनमा रहेको सुनीलले बताए। प्रदर्शनीमा भने ९७ वटा तस्बिरहरू थिए बाँकी प्रोजेक्टरबाट पनि देखाइएको थियो।

‘आधुनिकतासँगै पोखराको पुरानो स्वरूप पनि मासिसक्यो। ८० वर्ष पुरानो पोखरा काठमाडौंले पनि देखोस् भनेर प्रदर्शनी गरेको हो,’ उनले भने, ‘नयाँ पिडीसँगै बुवाको नाम पनि मेटियो, त्यसको जगेर्ना पनि गर्न चाहन्छु।’

बुवाले खिचेका तस्बिरहरूको एकल प्रदर्शनी गर्ने सोच पनि रहेको उनले बताए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.