युट्युबका ‘ट्रेन्डिङ’ गायक


उनी रातो हुडीमा थिए।

‘फोटो पनि खिच्ने हो?’ कपाल मिलाउँदै सुरुमै सोधे।

जवाफ पर्खेनन्। नजर घुमाए।

क्याफेमा आएका दुई युवतीले बारम्बार उनैलाई हेरिरहेका थिए।

‘तपाईंका फ्यान होलान्,’ हामीले भन्यौं।

उनी दंग देखिए।

‘यो निशा बुनेले फोटो खिच्ने बेला जहिल्यै म यही हुडीमा हुन्छु,’ सेतोपाटीकी फोटो पत्रकार निशा भण्डारीलाई इंगित गर्दै उनले भने, ‘घरमा जे भेट्यो त्यही लगाएर हिँड्ने बानी छ। कपाल पनि मिलाएको छैन। राति काम गर्दा गर्दै ढिलो सुतियो। उठ्ने बित्तिकै निस्किएर हिँडेको। ठिकै त देखिएको छु नि?’

सर्रर आफ्नो हुडी र दैनिकीको झल्को दिन भ्याए।

उनी हुन् नयाँ पुस्ताका गायक नितेशजंग कुँवर।

नितेश युट्युबबाट उदाएका गायक हुन्। कुन गीत हिट र कुन फ्लप खुट्टयाउन युट्युब गतिलो माध्यम बनेको छ। उनका गीतले लाखौं भ्युज र हजारौं प्रतिक्रिया पाउँछन्। युवा पुस्तामाझ ‘बिन्दास’ गायकको छवि बनाएका नितेशको ‘हाम्रो नेपालमा’, ‘आस्मा’, ‘सिन्धुली गढी’ लगायत गीत लोकप्रिय छन्।

हामीले उनको गायन यात्राबारे बुझ्न चाह्यौं।

यो उनको पहिलो रोजाइ रहेनछ।

‘करिअर बनाउने उमेरमा गाएरै समय बिताउने धून कहाँ थियो र,’ उनले भने, ‘म त विज्ञान पढ्न होमिएँ।’

उनी आफ्नो ‘विज्ञान यात्रा’ सुनाउन थाले।

‘भर्ना त भएँ, तर पढ्दा पढ्दा कायल भएँ। मेरो वशको कुरा नै होइन रहेछ,’ उनले भने, ‘धन्न विज्ञान पढ्नेलाई अन्य विधामा जान मिल्ने सुविधा छ।’

‘सुरुमै कायल भएको विषयमा होमिने भूत कसरी सवार भयो?’

यसको श्रेय उनले टेलिभिजनमा आउने डिस्कभरी, नेसनल ज्योग्राफी लगायत कार्यक्रमलाई दिए।

‘सानोमा म यी च्यानल खुब हेर्थेँ। रेन्जर बनेर जंगल डुल्ने सपना थियो,’ उनले हाँस्दै भने, ‘त्यो सपना पुरा गर्ने माध्यम विज्ञान विषय हो भन्ने लाग्यो।’

हुनु के थियो, सपना जोड्ने विषय पढ्न सकेनन्, व्यवस्थापनमा जोडिए। पढाइ भनेजस्तो नभएपछि काम पनि गरौं भन्ने लागेछ। फोर्ड मोटर कम्पनीमा गाडी विक्री विभागमा काम गर्न थाले। समय सदुपयोग गर्न काम थालेका उनलाई ती दुई वर्ष त्यसै खेर गएको महशुस हुन्छ।

‘कम्पनीको समय सीमामा बाँधिएर काम गर्दा घुटन हुन्थ्यो। ९–५ को आठ घन्टे काम मेरो लागि बनेकै थिएन,’ उनले भने, ‘मान्छे नै हुँइनजस्तो लाग्न थाल्यो। स्वतन्त्र हुनै नपाएपछि जागिर छाडिदिएँ।’

उनी स्वतन्त्रता खोजीमा भौंतारिए। र, यही खोजमा संगीतको बाटोतिर लम्किए।

‘सुरूसुरूमा कलेज, पार्टी, साथीभाइमाझ रमाइलो गर्न संगीतमा जोडिएको थिएँ। अब मेरो करिअर र सपना भइसक्यो,’ उनले भने।

कलेज पढ्दा उनको ‘फुच्चे’ ब्यान्ड पनि बनेको सुनाए। त्यही ब्यान्डले स्कुलको आइसिएमसी (अन्तर कलेज म्युजिक प्रतियोगिता) मा भाग लिएको थियो। त्यसमा उनी आफैंले माओवादी द्वन्द्वको विषयमा स्क्रिप्ट पनि कोरेका थिए।

‘हाम्रो ब्यान्ड छनोट त भएन। हाम्रो फोटो भने पत्रिकामा आएको थियो,’ उनले भने, ‘एकदम खुसी लागेको थियो। त्यो फोटो अझै मसँग छ।’

‘संगीतमा कसरी जोडिनुभयो?’

‘गितार। संगीतमा तानेकै गितारले हो। औधी मनपर्थ्यो,’ कारण खुलाउँदै उनले भने, ‘गितारबाट निस्कने धूनले मलाई साह्रै लोभ्याउँथ्यो।’
आफ्नो यही लोभ देखेर बुबाले १०–१२ वर्षको हुँदा हातमा गितार थमाइदिएको उनी बताउँछन्। बुबाकै हौसलामा उनले गितारका कर्ड बजाउन थाले। सिक्दै, निखारिँदै गए।

‘त्यो मेरो बुबाले किनिदिनुभएको पहिलो गितार थियो। एकदिन बजाउँदा बजाउँदै छातीमै राखेर निदाएछु। बिहान उठ्दा गितार भाँचिएर दुई टुक्रा भएछ,’ उनी त्यही दिनको मुडमा बहकिएझैं देखिए।

‘बुबा विदेश हुनुहुन्थ्यो। गितारको माया र बुबाको डर दुबै थियो। रोइकराई गरेर ममीलाई अर्को गितार किनिमागेँ,’ उनले भने, ‘पहिलो गितारसँगका क्षण अर्को कुनैले छोप्न सकेन।’

अहिलेसम्म त उनले धेरै गितार किनिसके। आफैंले किनेको पहिलो गितारको सम्झना उनलाई ताजा छ।

‘मैले १५ हजारमा किनेको थिएँ। त्योबेला ठूलै रकम थियो,’ उनले भने, ‘बजाउन थालेको बुबाले किनिदिएको गितारबाट हो, करिअर सुरू आफैंले किनेकोबाट। त्यही गितारबाट मैले धेरै गीतमा संगीत भरेको छु।’

आफूले किनेका गितारसँग अनुभव गाँसिएकाले सबैलाई सुरक्षित राखेको उनले बताए।

‘संगीत पढ्नु पनि भयो?’

‘विषय त पढिएन। काठमाडौंको ‘क्यालिडस्कोप’मा एक महिना गितार सिक्न भने गएँ।’

‘एक महिना मात्र किन नि?’ गितार मनपर्ने मान्छेले एक महिनामै सिक्न छाडेको सुनेर हामीले सोधिहाल्यौं।

‘सिक्न नसकेर,’ उनले हाँस्दै भने, ‘नजानेको होइन नि। डिस्ट्रयाक्ट भएँ।’

‘किन?’ हाम्रो उत्सुकता झनै बढ्यो।

‘एउटी केटी थिई हामीसँगै गितार सिक्ने। म ऊप्रति आकर्षित भएँ। म उसलाई हेरिरहन्थेँ, ऊ पनि मलाई हेरिरहन्थी। अनि कसरी सिक्नु? सायद त्यो केटीले पनि सिकिन होला। पछि हाम्रो भेट पनि भएन।’

उनको पहिलो ‘अफिसियल’ गीत भने सन् २०१६ मा आएको हो। युट्युबमा ‘गफै त हो’ बोलको गीत सार्वजनिक भएको केही दिनमै पाँच हजारभन्दा बढी पटक हेरिएको उनले बताए।

‘त्यसमा सय, डेढ सय कमेन्ट पनि थिए, पहिलो गीत नै त्यति हुनु ठूलो कुरा थियो,’ उनले भने, ‘अहिले त लाखौं भ्युअर्स हुन्छन्। तर त्यो बेलाको हजार भ्युजले दिएको खुसी बिर्सिँदैन।’

नितेशका गीतमध्ये सबैभन्दा बढी सोधिने ‘आस्मा–अ कन्फेसन’ बारे हो।

‘आस्मा कसको लागि कन्फेसन थियो?’

‘रिसाइरहेकी एक साथीका लागि लेखेको हुँ,’ उनले भने।

उनी योभन्दा बढी खुलेनन्। भने, ‘सामाजिक सञ्जालमा कुराहरू भाइरल गरेर ‘कन्ट्रोभर्सी’ निम्त्याउन चाहन्नँ।’

उनको फोनको घन्टी बज्यो। अघिदेखि नै बजिरहेको थियो। अर्को ठाउँमा जानुपर्ने नितेशलाई धेरैबेर अल्झाउन चाहेनौं। फेरि उनका बारे सोध्यौं।

त्यही बेला वेटर हामीतर्फ लम्किए। नजिक आए, तर हाम्रा वार्ता सुनेर हो वा के सोचेर केही नभनी फर्किए। हामी नितेशमै केन्द्रीत भयौं।उनले युट्युबमा केही समयअघि सार्वजनिक भएको ‘स्टोरी यलरर्स’को भिडियोबारे बताए। उक्त भिडियोमा उनले एउटा घटना सुनाएका थिए।
त्यो एसएलसीपछि उनको समूहमा भएको एउटा झगडाको विषयमा थियो।

‘मेरा धेरै साथी थिए। हाम्रो समूह नै थियो,’ उनले भने, ‘एक दिन म एक्लै भएका बेला अर्को समूहले आक्रमण गरे। म अस्पतालै भर्ना भएँ।’
यही घटनापछि सबै साथीभाइ छाडेर एक्लै रमाउने बानी लागेको उनी बताउँछन्।

‘त्यही बेलादेखि हो, धेरै गीत सुन्न थालेको,’ उनले भने।

‘अचेल पनि एक्लै नै हो?’

‘त्यस्तो त होइन, तर मलाई भन्न मन लागेका कुराहरू कसैलाई भन्नु भन्दा संगीतमै पोखिन्छ। एक्लै हुँदा मनमा आउने भावनाहरू लेख्छु,’ उनले भने, ‘लेख्छु भनेर बस्नुभन्दा आफैं आएका शब्दले अर्को मन पनि छुन्छ।’

‘भनेको?’ हामीले उनका गीतका शब्दबारे जान्न खोज्यौं।

‘म जस्तै जो आफ्ना कुरा भन्न सकिरहेका हुँदैनन्, गुम्साइरहेका हुन्छन्, त्यस्तालाई मेरा गीतले छुन्छ जस्तै लाग्छ,’ उनले भने।

‘उसो भए मनका भावना पोख्न मात्र गाउने हो? करिअर हिसाबले भर पर्न सकिन्न?’

‘संगीत साधना हो। प्यासन हो,’ दुवै प्रश्नको जवाफ दिँदै उनले भने, ‘यो करिअर बन्छ। यसका निम्ति धैर्य र मिहिनेत बेजोड चाहिन्छ।’

नितेश आफैं पनि लामो संघर्ष गरेर यो क्षेत्रमा जोडिएका छन्। संगीतमा लाग्न चाहनेलाई यो क्षेत्रमा भविष्य छैन भनेर निरुत्साहित गर्न चाहँदैनन्। फेसबुक, इन्स्टाग्राम, युट्युब लगायत सामाजिक सञ्जालले झनै ‘र ट्यालेन्ट’ हरूका निम्ति बाटो खुलेको उनले देखेका छन्।

अनि यसमै उनी थप्छन्, ‘नेभर स्टप डुइङ। तर, अब चाहिँ जानुपर्छ।’

उनी जान हतारिए। छुट्टिनै लाग्दा आफ्ना केही आगामी योजना सर्सती सुनाउन भ्याए।

अप्रिल र मे महिनामा दुई–दुई वटा गीत रिलिज गर्ने उनको लक्ष्य छ। तयारी गरिरहेका छन्। अप्रिलको कोटाको पहिलो गीत ‘हलन्ते’ रिलिज भइसकेको छ। यो अहिले युट्युब ट्रेन्डिङमा तेस्रो छ।

‘अर्को वर्षभित्र एउटा एल्बम निकाल्ने सोच छ,’ यति भनेर बजिरहेको फोन उठाउँदै उनी छुट्टिए।

हामी पनि क्याफेबाट निस्कन लाग्दा अघि टेबल नजिक आएर फर्केका वेटरलाई सोध्यौं, ‘अघि के भन्न खोज्नुभएको थियो? बीचैमा फर्कनु भयो नि।’

‘भित्र भएका ती केटीहरूले नितेशसँग फोटो खिच्ने भनिरहेका थिए,’ उनले भने।

तस्बिर : निशा भण्डारी

भिडियो : रमेश कार्की

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.