साघुँरोकाे सकस


निर्देशक जोयस पाण्डेलाई फिल्म ‘साघुँरो’ बनाउँने सोच पाचँ वर्षअघि नै आएको थियो। सन् २००८ मा ‘अवेकन आइज’ नामक सर्ट फिल्ममा अभिनेता रहेका उनलाई त्यसको विषयले छोएको रहेछ। सन् २०१३ मात्र फिल्म बनाएपश्चात उनको सपना पुरा भयो।

फिल्ममा सुकुम्बासी बस्तीमा हुने यौन सकसलाई चित्रण गरिएको छ। शुशान्त मैनाली, दिया मास्के, अरुणा कार्की, दयाहाङ राई लगायतका कलाकारले फिल्ममा अभिनय गरेका छन्।

कर्मरसियल फिल्महरु बनिरहेको समयमा पाण्डेले आर्ट फिल्म बनाएका हुन्। उनको फिल्मलाई धेरैले मनपराएता पनि फिल्मले घाटा खायो।

‘राम्रो फिल्म बनेको छ भन्दैमा हलमा चल्ने होइन रहेछ। त्यसमा धेरै कुराको समायोजन हुन पर्दो रहेछ। तर मैले जानिन,’ बिहिबार ‘फिक्सन’को सिनेमा श्रृंखलामा भएको छलफलमा उनले भने, ‘अर्काे फिल्मकाे लागि अनुभव भने भयाे।’

यौन मनोविज्ञानमा केन्द्रित फिल्म भएतापनि सेन्सर बोर्डले कुनैपनि कौची नचलाएकाे पाण्डेले बताए। यधपी, फिल्म राम्रो भएतापनि केही टेक्निकल त्रुटि भएको सहभागीहरुले औलाए। यो कुरा सुइकार्दै पाण्डेले भने, ‘फिल्ममा त्रुटि भएकै हो। अहिले फिल्म हेर्दा ती त्रुटिहरु म अाफैं पनि प्रष्टै देख्छु।’

तिनै त्रुटिमध्येको एक हो सुटिङको लोकेसन। निर्देशकका अनुसार सिनामंगल छेउको सुकुम्बासी बस्ती आउटडोर लोकेसन थियो भने इनडोर लोकेसन भने अर्कै थियो।

‘वास्तविक ठाउँ नजिकै लोकेसन बनाउनु पर्ने रहेछ। त्यसाे नगर्दा हामीलाई धेरै गाह्रो भएको थियो,’ उनले भने।

पाण्डेले दोस्रो फिल्मको तयारी गरिरहेको पनि जानकारी दिए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.