३५ वर्षपछि सर्वनाम थिएटरमा नाटक ‘अतिरिक्त आकाश’

अन्तर्राष्ट्रिय एकल नाटक महाेत्सव सुरू


‘शान्तिलाई शान्तिजस्तै निलो रंग मन पर्छ। गाडा निलो।’

यो अशेष मल्लद्वारा लिखित एवं निर्देशित नाटक ‘अतिरिक्त आकाश’को संवाद हो। यो संवादलाई विभिन्न देशका भाषामा अभिव्यक्त गरियाे भने कस्तो सुनिएला?

३५ वर्षअघि मञ्चन भएकाे नाटकको संवादलाई विभिन्न देशबाट आएका नाट्यकर्मीले आफ्नै देशकाे भाषामा सुनाए। यही नाटकको मञ्चनसहित थिएटरमा सोमबारबाट ‘अन्तर्राष्ट्रिय एकल नाटक महोत्वसव’ सुरू भएको छ।

आफ्नी पत्नीको बलात्कारीलाई हत्या गरेर जेल गएको एक व्यक्तिको कथा नाटकमा उधिनिएको छ। अशेष मल्लकै निर्देशन रहेको नाटकलाई राज शाहले कला निर्देशन गरेका हुन्। यो नाटकलाई मल्लकै छोरा अभिनितले प्रस्तुत गरेका थिए। ३५ वर्षअघि लेखिएको भएता पनि यो नाटक अहिलेको समयमा पनि सान्दर्भिक छ।

सोमबार बेलायतका माइकल वुडवुडद्वारा निर्देशित नाटक ‘द कोट’ र चीनको ‘ग्रास स्टेज’ले प्रस्तुत गरेको नाटक ‘जम्प’ पनि मञ्चन गरिएको थियो। नाटक ‘द कोट’ले पेरिसको एक पसलमा किनेको कोटले अमेरिका हुँदै युरोपसम्म तय गरेको यात्रालाई देखाउँछ। त्यस्तै, नाटक ‘जम्प’मा वु जियामानले युवकले जीन्दगीको विषयमा बनाउने कल्पनालाई प्रस्तुत गरे।

महोत्सवमा नाटक लिएर बेलायत र चीनसँगै भारत, स्कटल्याण्ड, बंगलादेश, फ्रान्स, हङकङ र नेदरल्याण्डबाट पनि नाटककर्मीहरू आएका छन्।

सर्वनामको स्थापना भएको लामो समय भएता पनि अशेषको अन्तर्राष्ट्रिय नाटक प्रदर्शन गर्ने सपना अधुरै रहेछ। यही सपना ३६ अाैं महाेत्सव मनाइरहँदा पुरा गरेका उनले भने, ‘आगामी वर्षमा पनि महोत्सवलाई निरन्तरता दिन चाहँन्छु।’

त्यस्तै, भारतबाट आएका नाटककर्मी सुवोद पटनायक पनि नेपाल अाएका छन्। उनले नाटक महाेत्सवले एक-अर्कालाई जोडेको बताए।

‘३५ वर्षअघि स्थापना भएको सर्वनामले नाटकको क्षेत्रमा एउटा इतिहास नै बनाएको थियो,’ उनले भने, ‘एकल नाटक महोत्सवले अझै नाटकको क्षेत्रलाई विस्तार गरेको छ।’

बिहिबारसम्म चल्ने महोत्सवमा ‘डिजाएर’, ‘पर्फमेन्स विथ माक्स’, ‘सिटि फ्लेस’, ‘देउकासी’ लगायतका १४ नाटक मञ्चन हुनेछन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.