युवाहरूमाझ सुनिए कवि प्यासी


‘शाब्दिक समारम्भ’को दोस्रो श्रृङ्खलामा कवि नवीन प्यासीले युवा सर्जकहरूमाझ आफ्नो रचना वाचन गरेका छन्। हातेमालो साहित्य संगमले नियमित रूपमा गर्दै आएको कार्यक्रममा अतिथि कविको रूपमा उनले कविता वाचन गरेका हुन्।

युवाकवि प्यासीले ‘मृत्युको सौन्दर्य’, ‘झुशील्कीरा’, ‘आशिर्वाद’, ‘सम्बन्ध’ लगायतका आधा दर्जनभन्दा बढी कविताहरू सुनाएका थिए।

यसैबीच कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति  विष्णुविभु घिमिरेले भोगाइका अनुभूतिहरुले नै सिर्जनालाई गहनता दिने कुरा बताए। घिमिरेले पढेका कुराहरूले भन्दा परेका कुराहरूले साहित्यलाई निकै वजनदार गराउने धारणा युवाहरूमाझ राखे। यस्तै निरन्तरको साधनाले नै साहित्यकारहरूलाई परिस्कृत गराउने कुरा विशेष अतिथि सुधीर ख्वबिले बताए। उनले युवा स्रष्टाहरूमा प्रशस्त सम्भावना रहेको पनि जिकिर गरे।

अतिथी कविलाई पारिश्रमिकको पनि सुरूवात गरिएको कार्यक्रममा सहभागिता जनाउन भक्तपुर तथा काभ्रेपलाञ्चोकदेखि युवा स्रष्टाहरू उपस्थित थिए। सहभागी अन्य सर्जकहरूले पनि कार्यक्रममा आफ्ना एकएक थान रचना सुनाए।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.