सारंगीको धुनले…


सारंगी भन्ने शब्द संस्कृतको ‘सारंग’ बाट आएको हो। चार वेदमध्येको सामवेदमा पनि सारंगको उल्लेख छ। यो हाम्रै घरका खोपी, खटवालमा पाइने चरा हो। यो चरालाई ठाउँ अनुसार सारैं, डांग्रो, रुपी लगायतका नामले पनि सम्बोधन गरिन्छ।

सारंगले बोल्दा निकै मिठो स्वर निकाल्छ। त्यस्तै, मिठो स्वर दिने बाध्ययन्त्र भएकाले सारंगी नाम रहन गएको हो। सुरूआतमा त सारंगीको टुप्पोमा सारंग चराको आकृति नै बनाउने प्रचलन थियो। यस्ता सारंगी भने अहिले बनाइनन्, यसैले लोप हुँदै गएका छन्।

नेपालमा सारंगीका १५ प्रकार उपलब्ध छन्। विशेष गरी यसमा बाख्राको आन्द्रालाई तारको रूपमा प्रयोग गर्ने चलन थियो। तारलाई रेटेर मिठो धुन दिन घोडाको पुच्छरको प्रयोग हुन्थ्यो। अहिले भने नाइलनको डोरी प्रयोग हुन्छ।

सारंगीबाट निस्कने ‘सा’ र ‘रे’ को बीचमा नै चार वटा श्रृति हुन्छ। राम्रो बाध्यवाधकले बीचका यी स–साना नोट पनि राम्ररी बजाउन सक्छ। यसबाट निस्किने धुनमा मान्छेको औंलाको बनोटका कारण पनि प्रभाव हुन्छ। सबैको एकै प्रकारको औंला हुँदैन। मोटो, पातलो, लामो, थेप्चो विभिन्न प्रकारको हुन्छ। मान्छेको नङ र सारंगी बोक्ने तरिकाले पनि धुनमा फरक आउँछ। यसैले, हात अनुसार सारंगी बनाउन सकियो भने त्यसबाट निस्कने धुन पनि मिठो हुन्छ।

विभिन्न भेग अनुसार सारंगीको आकार, प्रकार र लम्बाई पनि फरक छ। यद्यपी, यसको औषत लम्बाई भने करिब २ फिट हुन्छ। हामीले सप्ताहमा भने ७ फिट ३ इन्चको ठूलो सारंगी र ७ इन्चको फुच्चे सारंगी पनि राखेका छौं।

यी सारंगी २०६२ सालमा पहिलो पटक ‘सारंगी सप्ताह’ हुँदा नै बनाइएको थियो। सारंगीको डिजाइन मैले नै गरेको हो। निर्माणमा भने गोरखाका पदम गन्दर्वसहित ४ जनाको समूह जुटेका थिए। दोस्रो सप्ताह २०६५ सालमा सम्पन्न भयो। अहिले करिब १० वर्षपश्चात तेस्रो सप्ताह आयोजना गरेका हौं।

सारंगीमा डबल बेस छैन। बेस नहुँदा अन्य बाध्ययन्त्रको सहारा लिनुपर्छ। मादलमा पनि बेस नपुगेर ढोलकको प्रयोग हुन्छ। ठूलो सारंगी भने बेससहित छ र यसलाई अन्य बाजाको सहायता चाहिँदैन। सानो भने हामीले कतिको सानोसम्म बनाउँन सक्छौ भनेर प्रयास मात्र गरेका हौं। खासमा भन्दा यो एक प्रकारको प्रयास र प्रयोग नै हो।

सुरूआतमा सारंगी गन्दर्व समुदायमा नै सिमित थियो। यसैले, उनीहरूले यो पेशा नछोडुन् र निरन्तरता दिइराखुन् भन्ने हाम्रो लक्ष्य थियो। सारंगी अहिले गन्दर्व समुदायमा मात्र सिमित छैन। यसलाई अन्य समुदायले पनि सिक्न उत्तिकै चासो देखाएका छन्। यसैले तेस्रो सप्ताहसम्म आइपुग्दा हाम्रो लक्ष्य पनि फेरिएको छ। सारंगीमा नयाँ पुस्तालाई अग्रसर गराउनु हाम्रो लक्ष्य बनेको छ।

सारंगी र गन्दर्वसँग जोडिएको परम्परागत ‘चैत्यति’ परम्परा थियो। लोक मान्यता अनुसार यो महिनामा रूखमा नयाँ पालुवाहरू पलाउन सुरू हुन्छन् र मानिसहरू पनि बढी मात्रामा बिरामी हुन्छन्।

गन्दर्वहरूले यो महिनामा घरघरमा गएर गीतहरू गाउने एवं मंगल धुन बजाउने गर्थे। घरघरमा गएर सारंगी बजाएपश्चात रोग व्याध हराएर जाने, स्वस्थी शान्ति हुने, लक्ष्मीको बास हुने विश्वास थियो। घरमा उनीहरू आएर टेके मात्रै पनि लक्षिण मानिन्थ्यो। यसैले अरु बेला थेरै पैसा दिएर पठाइने गाइनेको चैतमा विशेष महत्व हुन्थ्यो। उनीहरूलाई धान, चामल, मकै, बोडी लगायतका अन्न नाग्लाभरी राखेर रोटी एवं आरति गरी दिइन्थ्यो।

गन्दर्व/गाइनेको सामाजिक आर्थिक अवस्था निकै नै कमजोर हुन्छ। यसैले, आजीवन संगीतबाट नै आयआर्जन गर्ने गन्दर्वहरू लोप हुँदै गएका छन्। उनीहरू प्रायः त विदेश पलायन भएका छन् भने अन्य पेशामा नै आकर्षित छन्। यस्तोमा घरघरमा अचेल सारंगी बोकेर गाइनेहरू आउन छाडिसकेका छन्। सारंगी प्रति गन्दर्वहरूको वितृष्णाले उनीहरूले जानेको मौलिक धुन एवं राग पनि लोप हुँदै गएको छ।

७ दिनसम्म १६८ घण्टाको अविछिन्न सारंगी बाधन आयोजना गरेर थोरै भएतापनि लोकबाजा संरक्षणमा टेवा पुर्‍याउने प्रयास गरेका छौं। नेपाल लोकबाजा संग्रहालयमा करिब ६५० लोकबाजा संरक्षण गरेर राखिएको छ। सारंगी सप्ताह झै अन्य बाजाको संरक्षण तथा प्रवर्द्धनमा कार्यक्रम गर्ने हो भने थुप्रै बाजाहरू लोप हुनबाट बचाउन सकिन्थ्यो कि? सरकारले यी बाजाको संरक्षणमा आर्थिक सहयोग पुर्‍याउने हो भने हाम्रा परम्परागत बाजा जर्गेना हुने थियो।

(काठमाडौंको त्रिपुरेश्वरस्थित नेपाली लोकबाजा संग्रहालयमा ‘तेस्रो सारंगी सप्ताह’ जारी छ। संग्रहालयका अध्यक्ष रामप्रसाद कँडेलसँग सेतोपाटीले गरेको कुराकानीमा आधारित)

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.