हिमाल अाराेहणकाे कथामा ‘कालापत्थर माथि’


हिमाल जति सुन्दर छ, त्यति नै खतरनाक छ। हिमालको सौन्दर्यले धेरैलाई आकर्षित गरेकाे हुन्छ भने आरोहणको क्रममा धेरैको जीवनसमेत  गएको छ। यस्तै कथामा हिमाली समुदायको जीवन समेटिएको नाटक ‘कालापत्थर माथि’ शुक्रबारबाट मण्डला नाटकघरमा प्रदर्शन हुँदैछ।

एउटा हिमाल कसैको निम्ति साहसिक अभ्यास गर्ने ठाउँ हो भने कोही त्यहीँ हिमालबाट जिविकोपार्जन गरिरहेका हुन्छन्। विशेषतः हिमाली भू–भागमा बस्ने शेर्पा समुदायका व्यक्तिहरू जोखिमपूर्ण हिमाल आरोहणमा पर्यटकहरूको सहयात्री बन्छन्।

कथाको प्रमुख पात्र दावा पनि साथीहरूको लहलहीमा हिमाल आरोहणको लागि निस्किन्छ। आमाले हिमाल आरोहण नगर्नका निम्ति लाखौं सम्झाउँदा पनि मान्दैन्। अन्तत: आरोहणकाे क्रममा उसकाे निधन हुन्छ। श्रीमान् र दुई छोरा गुमाएर चोइटिएको आमाको मनमा कान्छो छोराको निधनले कतिको असर पुर्‍याउँछ? बाँकी कथा नाटकमा देख्न सकिन्छ।

यो नाटकलाई निर्देशक प्रदीप कुमार चौधरीले निर्देशन गरेका हुन्। नाटकको लेखन तथा परिकल्पनासमेत गरेका चौधरी भन्छन्, ‘हिमाल आरोहण गर्न एउटा आरोही मात्र जाँदैन। आरोहीसँगै ऊसँग सम्बन्ध भएका व्यक्तिको आशा पनि गएको हुन्छ।’

यसअघि नाटक ‘मसानटार’ पनि निर्देशन गरेका प्रदीप यो नाटक गर्ने प्रेरणा साहित्यले दिएकाे बताउँछन्।

‘कतिपय प्रसिद्ध साहित्य एवम् फिल्महरू समुन्द्रहरूसँग जोडिएको पाएँ। यी समुन्द्रहरूको  केन्द्रविन्दु एवम् शिर भनेकाे हिमालहरू हुन्। ती हिमालहरू त हामीसँग नै छन्,’ उनले भने, ‘हामीसँग नै भएको हिमालको यात्रा किन नदेखाउने त भनेर नै कालापत्थर नाटकको सिर्जना गरेको हो।’

समुन्द्र हिमालबाट नै सिर्जना हुने भएकाले होला सुरूमा नाटकको नाम पनि प्रदीपले ‘शिरको समुन्द्र’ राखेको रहेछन्। ‘यदि हिमालमा हिँउ नहुने हो भने त्यहाँ कालापत्थर मात्र बाँकी हुन्छ। यसैले नाटकको नाम पनि परिवर्तन गरेर ‘कालापत्थर माथि’ राखें’, उनले भने।

नाटकमा निशा पोख्रेली, सन्तोष तामाङ, पत्रिका घिमिरे, किरण श्रेष्ठ, विकास लामा, प्राशना डंगोल, पुस्कर कार्की, सन्जिव राई, बारात लिम्बु, विक्रम श्रेष्ठ र बालकृष्ण श्रेष्ठको अभिनय छ।

नाटक ‘कालापत्थर माथि’ फागुन २० गतेसम्म प्रदर्शन हुनेछ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.