‘प्याडम्यान’काे रिलिज मिति सर्‍यो, अब ‘पद्मावत’ एक्लै


अक्षय कुमारको सामाजिक कथामा आधारित फिल्म ‘प्याडम्यान’ को प्रदर्शन मिति सारिएको छ। फिल्म ‘पद्मावत’सँगै जनवरी २५ मा प्रदर्शनको तयारिमा रहेको फिल्म अब फेब्रअरी ९ मा प्रदर्शन हुने भएको छ।

शुक्रबार साँझ मात्रै फिल्मको रिलिज मिति सारिएको हो। अभिनेता अक्षय कुमारले पत्रकार सम्मेलन गरी सञ्जयलिला भन्सालीको फिल्म ‘पद्मावत’का लागि ‘प्याडम्यान’को मिति सारिएको बताएका छन्।

दुबै फिल्मको रिलिज मिति जुधेपछि सञ्जयलिला भन्साली र अक्षय कुमारबीच वार्ता भएको र ‘प्याडम्यान’ को रिलिज मिति सारिएको हो।

‘मेरा घनिष्ट मित्र भन्साली सुरुदेखि नै धेरै सम्स्याहरूबाट गुज्रिसकेका छन्। फिल्म ‘पद्मावत’ रिलिज हुन सबैभन्दा जरुरी छ किनकी भन्सालीले यो फिल्ममा ठूलो लगानी गरेका छन्,’ अक्षयले भने, ‘‘प्याडम्यान’सँग रिलिज मिति जुधेपछि उहाँले मसँग फिल्म सार्न अनुरोध गरे। मैले उहाँको समस्यालाई बुझेर फिल्म सार्ने निर्णय लिएकाे हाे।’

अन्ततः विभिन्न विवादहरु सामना गर्दै रिलिज हुन लागेको फिल्म ‘पद्मावत’ जनवरी २५ मा एक्लै प्रदशर्न हुनेछ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.