शाहरुख खान क्रिस्टल अवार्डले सम्मानित हुने


बलिउड अभिनेता शाहरुख खान क्रिस्टल अवार्डले सम्मानित हुने भएका छन्।

‘वल्र्ड इकोनोमिक फोरम’को स्विजरल्याण्डको दावोसमा हुन लागेको ४८ औं बैठकमा उनी उक्त अवार्डबाट सम्मानित हुने भएका हुन्।

शाहरुखलाई यो सम्मान ‘दुनियाँमा साझा भविष्य’ बनाउन धेरै च्यारिटी गरेको कारण प्रदान गर्न लागिएको हो। उनले भारतमा ‘मीर फाउन्डेशन’ नामक संस्था संचालन गर्दै आएका छन् जसले महिला र बच्चाहरूको जीवन रक्षाका लागि काम गर्दै आएको छ। फाउन्डेशनमार्फत चिकित्सा उपचार, कानूनी सहायता, व्यवसायिक प्रशिक्षण, पूनर्वासको माध्यमबाट एसिड हमलामा परेका महिलाहरूको लागि सहयोग प्रदान गरिन्छ।

वल्र्ड इकोनोमिक फोरमका अनुसार सामाजिक कार्यमा सहभागी भएका प्रमुख व्यक्तिहरूलाई उक्त अवार्ड प्रदान गरिन्छ। शाहरुखसँगै हलिउड नायिका कैट ब्यान्चेट र संगीतकार इल्टन जोन पनि उक्त अवार्डबाट सम्मानित हुँदैछन्।

यसअघि भारतका अमिताब बच्चन, मल्लिका सराभाइ, ए.आर.रेहेमान, सबाना अज्मि, रवि शंकर र अंजद अलि खानले उक्त अवार्ड प्राप्त गरिसकेका छन्।

जनवरी २२ मा उक्त अवार्ड वितरण हुनेछ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.