मिस्टर झोले : दर्शकलाई मनोरञ्जन


भारतीय आर्मीको रिटायर सुवदार(पुस्कर गुरूङ)लाई भएकी आफ्नी एकमात्र छोरी ‘नानी’ (दिया पुन)को जसरी पनि बिहे गर्नुछ तर औंशीमा जन्मेकीले आफ्नो ‘पोई टोक्छे’ भन्ने अन्धविश्वासले उसको बिहे हुनसकिरहेको छैन। यस्तैमा बैंकले पत्र थमाउँदै घर लिलामी गर्दिने धम्की दिएपछि पंडितसँग(सरोज अर्याल)को सल्लाहमा आफ्नो एकमात्र छोरो ‘पूर्णे’ (दयाहागं राई)सँग बिहे गराइदिएर ऋणमुक्त हुन छोरालाई बिहेका लागि गाउँ बोलाउँछे।

पूर्णेको साथी ‘कर्ण बहादुर दर्जी’ (प्रविण खतिवडा) पनि ‘नानु’लाई एकोहोरो मन पराउँछ। बिहेको लागि छोरी माग्न जाँदा सुवेदारले घरज्वाँई’ बस्नुपर्ने सर्त राखेपछि ‘पूर्णे’ बिहे नगर्ने निर्णयमा पुग्छ। त्यसपछि घट्ने घटना नै ‘मिस्टर झोले’को कथा हो। फिल्मले नेपाली ग्रामीण परिवेशमा घट्ने विभिन्न किसिमका घटनालाई उनेको छ। यसले गाउँबाट सहर पसेका दर्शकलाई ‘नोस्टालजिक’ बनाउँछ।

झण्डै दुई घण्टा लामो फिल्ममा समाविष्ट हास्यरस मिश्रित संवाद र विभिन्न समयमा घट्ने परिस्थितिले दर्शकलाई फिल्म हेरूञ्जेल हसाउँछ। फिल्म दर्शक हसाउने मामिलामा सफल रहेको छ। ‘टाइमपास’ भए पनि फिल्म उम्दा भने होइन। फिल्म हेरिरहँदा ‘कबड्डी’ सिरिजको ह्याङओभर लाग्छ। यसमा पूर्ण रूपमा निर्देशक रामबाबु गुरूङ दोषी देखिन्छन्। जति मेहेनत उनको संवादमा देखिन्छ, निर्देशन उतिनै सपाट छ। निर्देशनमा उनको कुनै मेहनत देखिदैन। ‘कबड्डी’ फ्लेभरको साहारामा नै उनले आफूलाई सुरक्षित गराउन खोजेका छन्।

मनोरञ्जनात्मक फिल्म ‘अचार’ जस्ता हुन्। टक्क पिरो, अमिलो सबै आचारको गुण भएपनि त्यसलाई फरक बनाउने काम ‘फ्लेवर’ले गर्छ, जुन यो फिल्ममा छैन।

निर्देशकका रूपमा उनले आफ्नो दायरा ‘खोज्न’ बिर्सिएका छन्। उनी ‘कबड्डी’ फिल्मबाट माथि उठ्न सकेका छैनन्। ‘कबड्डी’ फिल्म पश्चात नेपाली फिल्ममा ‘केही गर्न सक्ने’ निर्देशकको आशा देखाएका रामबाबुले पाँचौ फिल्ममा आइपुग्दा पनि आफूलाई अझै  जहिको त्यहीँ राखेका छन्। उनले यसरी थप खुड्किलो चढ्नमा देखाएको डरले फिल्म हेरिसक्दा नेपाली फिल्मको विकास चाहने एउटा नेपाली फिल्म प्रेमीलाई भने निराश तुल्याउँछन्। उनी ‘स्याचुरेटेड’ छन् ।

उनको यो प्रवृतिको असर फिल्ममा कलाकारको अभिनय र प्रस्तुतिमा देखिएको छ। फिल्ममा उनले ‘एक्सटर्नल न्यारेसन’ अनावश्यक रूपमा प्रयोग गरेका छन्। जुन फिल्ममा नहुँदा खास केही फरक पर्ने थिएन। निर्देशनमा उनी अझै पनि ‘कबड्डी’ जस्तै भइदिनाले फिल्ममा अभिनय गर्ने कलाकारको अभिनयले बेलाबेलामा ‘कबड्डी फिल्म सिरिजकै सम्झना गराइदिन्छ।

‘पूर्ण’को चरित्रमा उनले गरेको अभिनय र ‘कबड्डी’का ‘काजी’मा गरेको अभिनय केही फरक छैन। फिल्ममा उनको चरित्र के हो?, मनोविज्ञान के हो? स्पष्ट छैन। दयाहाङजस्तो कलाकारबाट यस्तो अभिनय ‘क्षम्य’ हुन सक्दैन। उनले निर्वाह गरेको चरित्रमा कुनै विविधता छैन। दयाबाट यस्तो कमजोर प्रस्तुति दर्शकमाथि अन्याय हो।

‘नानी’को भूमिकामा ‘दिया’ले खास देखाउने स्पेस नै पाएकी छैनन्। संवादमा बढी ध्यान दिनाले उनको पटकथामा स्पेस नै छैन भने पनि हुन्छ। ‘गुण प्रसाद’को भूमिकामा बुद्धि तामाङको अभिनय ठीकठाक छ। त्यस्तै पंडित बनेका सरोज अर्याल, दयाकी आमाको भूमिकामा  अरूणा कार्कीको काम राम्रो छ भने गुण्डाको भूमिकामा देखिएका विजय बरालको भूमिका ‘रोचक’ नै भएपनि भूमिकाअनुसार अभिनयमा भने ‘गुरूत्वाकर्षण’ छैन ।

‘कर्णे’को भूमिकामा अभिनय गरेका प्रविणले फिल्ममा आफूलाई अलग राख्न सफल भएका छन्। उनको ‘कमिक टाइमिङ’, संवाद र अभिनयले दर्शकको मन जित्छ। उनी फिल्मका सम्झनायोग्य कलाकार हुन्।

त्यस्तै फिल्मको ‘पेस’ अर्को कमजोर पक्ष हो। फिल्म पेसले नै दर्शकलाई ‘कबड्डी’को आभाष गराउँछ। पात्र र पटकथामा ‘भाइब्रेन्ट’ गराएको भए फिल्म बलियो हुने प्रशस्त सम्भावना थियो।प्राविधिक पाटो फिल्ममा राम्रो छ।फिल्मको गीतसंगीत ठीकठाक छ ।

संमग्रमा फिल्म हेरिसकेपछि दर्शकले मनोरञ्जन पाएको प्रतिक्रिया पाउनेमा दुईमत छैन। तर, रामबाबुको निर्देशन यात्रालाई नियाल्दै र केही गर्छन् कि भनेर पर्खिरहेका एक तप्काको नजरमा रामबाबु निर्दोष हुने छैनन्। फिल्मपिच्छे उनमा निर्देशकीय सुधारको अपेक्षाका साथ नेपाली फिल्मको दायरा निर्देशकीय कोणबाट फराकिलो भएको हेर्न चाहनेहरूका लागि रामबाबुले कुठाराघात गरेका छन्। उनीमाथी रहेको आशामा तुषारापात भएको छ । अब उनी ‘कबड्डी’ ‘ह्याङ’बाट उत्रनै पर्छ ।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.