सर्वनाम थिएटरमा १० मिनेट नाटक मेला


सर्वनाम थिएटरमा १० मिनेट नाटक मेला सुरू हुँदैछ।

पुस २१ देखि पुस २४ गतेसम्म चल्ने नाटक मेलामा करिब दुई दर्जन नाटकहरू प्रदर्शन हुँदैछन्।

आफूले जीवनभर ‘स्पेस’ को अभावमा भौतारिनु परेको अनुभव सम्झँदै सर्वनामका निर्देशक अशेष मल्लले अबका रंगकर्मीले त्यो अभाव झेल्नु नपरोस् भन्ने उद्देश्यले दश मिनेट नाटक मेला आयोजना गरेको बताए।

‘दश मिनेट सिर्जना अभिव्यक्तिका लागि पर्याप्त नहोला, तर थोरैमा धेरै भन्न सकिने अवसर पनि हो,’ उनले भने, ‘नाटक नाटक हो, चाहे तीन घण्टा होस् वा दश मिनेटको। यो नाटकको संक्षेप होइन, स्वयममा पूर्ण हो।’

मेलालाई सर्वनामकै रंगकर्मी राज शाहले संयोजन गर्दैछन्। ‘यो नाटक मेला आयोजना गर्नुअघि हामी सफल होला कि नहोला भन्ने द्विविधामा थियौं,’ शाहले भने, ‘पहिलो संस्करण नै सफल भएपछि हामीमा हौसला बढ्यो।’

१० मिनेट नाटक मेलामा शुक्रबार राज शाह निर्देशित ‘बन्दुक र कलम’, माधव प्रसाद बन्जोरको ‘लेखकको?’, युवराज रेगमीको ‘छोरो’ र प्रियंका झाँको ‘कथा नहिँ भेटल’ प्रदर्शन हुँदैछन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.