पद्मावतीः के भारतीय संस्थापन ‘संकुचित’ र ‘हिप्पोक्रेटिक’ हुँदैछ?


‘के यही ऊर्जा केटीहरूलाई शिक्षा दिलाउन, बालिका भ्रूणहत्या रोक्न, बालविवाह अन्त्य गर्न, महिलाको प्रजनन् तथा यौन अधिकार सुनिश्चित गर्न र उनीहरूको आर्थिक आत्मनिर्भरता बढाउन कसैले देखाएका छन्? छन् भने त्यो नै साँचो अर्थमा पद्मावतीको सम्मान हुनेछ।’

भारतीय पत्रकार तथा लेखक बर्खा दत्ताले बुधबार ट्विट गरेर सञ्जय लीला भन्साली निर्देशित ‘पद्मावती’ विवादमा आफ्नो धारणा व्यक्त गरिन्।

दिपिका पादुकोण, शाहिद कपुर र रणवीर कपुर अभिनित यो फिल्मलाई लिएर केही दिनयता भारतमा जुहारी चल्दैछ।

सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) लगायत केही अतिवादी हिन्दु संगठन, भाजपा–शासित राज्यका मुख्यमन्त्री, राजपुत समुदाय र राजपुत शाही खलकका सदस्य फिल्मको विपक्षमा छन्। लेखक, पत्रकार, साहित्य अनुरागी तथा उदारवादी राजनीतिकर्मी भने ‘पद्मावती’ विवादले भारतीय संस्थापन पक्षको ‘संकुचित’ र ‘हिप्पोक्रेटिक’ सोच उजागर भएको आरोप लगाउँछन्।

‘पद्मावती’ विवाद
राजस्थान, चितौडकी रानी पद्मावतीमा आधारित यो सिनेमा सुटिङकै क्रममा विवादित भएको थियो। फिल्मले ‘ऐतिहासिक तथ्य बंग्याएको’ राजपुत कार्निक सेनाको आरोप छ। यो राजपुत समुदायको संगठन हो।

गत वर्ष राजस्थानमा फिल्म सुटिङ हुँदा उनीहरूले सुटिङस्थलमै आक्रमण गरी निर्देशक भन्सालीलाई थप्पड हानेका थिए। यसपालि अभिनेत्री दिपिकाको नाक काट्ने चेतावनी दिएका छन्। र, फिल्ममा प्रतिबन्ध लगाउन माग गरेका छन्।

भौतिक हमलाको धम्कीपछि निर्माण कम्पनीले पूर्वनिर्धारित डिसेम्बर १ मा फिल्म रिलिज नगर्ने घोषणा गरेको छ।

राजपुत कार्निक सेनाले भारतका राजस्थान, उत्तरप्रदेश र हरियाणा राज्यमा ‘पद्मावती’ विरुद्ध प्रदर्शनसमेत गरिरहेको छ। यी तीनै राज्यमा हिन्दुवादी दल भारतीय जनता पार्टी (भाजपा) को सरकार छ। यहाँ भाजपाले घोषित रूपमै राजपुत समुदायको विरोधमा साथ दिइरहेको छ। हरियाणाका एक भाजपा क्षेत्रीय नेताले गत साता भन्साली र दिपिकाको टाउको काट्नेलाई १० करोड भारतीय रुपैयाँ पुरस्कार दिने घोषणा गरेका थिए।

‘पद्मावती’ विवादमा राजस्थान र उत्तरप्रदेशका मुख्यमन्त्री पनि मौन बसेका छैनन्।

राजस्थानका मुख्यमन्त्री बसुन्धरा राजेले ‘कुनै पनि समुदायको भावनामा ठेस पुग्ने खालका दृश्य नहटाएसम्म’ फिल्म रिलिज हुन नदिने बताएकी छन्।

उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले त फिल्म निर्देशक भन्सालीलाई कारबाहीको धम्की नै दिएका छन्।

सत्तारुढ दल र राजपुत समुदायबाटै यत्रो समर्थन पाएपछि राजस्थानको पूर्व शाही परिवारका सदस्य चुप बस्ने कुरै भएन। आखिर विवाद उनीहरूकै खलकका एक महारानीको गरिमासँग जो जोडिएको छ!

राजस्थान शाही परिवारका एक सदस्य महेन्द्र सिंहले राजपुत महारानीलाई नाचेको देखाएर ‘मानमर्दन’ गरिएको टिप्पणी गरेका छन्। यसलाई उनले ‘इतिहासमाथि धोकाधडी’ को संज्ञासमेत दिए।

यो त भयो ‘पद्मावती’ प्रदर्शनमा रोक लगाउन उद्यत समूहको कुरा, जो ऐतिहासिक पात्रमाथि फिल्म बनाउँदा निर्माता–निर्देशक संवेदनशील हुनुपर्ने तर्क गर्छन्।

अर्कातिर, लेखक, पत्रकार तथा फिल्मकर्मीको समूह छ, जो ‘पद्मावती’ विवादलाई ‘अभिव्यक्ति स्वतन्त्रतामाथि राजनीतिक हस्तक्षेप’ मान्छन्।

कसैलाई हाकाहाकी ज्यान मार्ने धम्की दिइँदा पनि राज्यले मौन बसेर अतिवादी समूहलाई प्रश्रय दिइरहेको उनीहरूको आरोप छ।

समाजमा बालिका भ्रूणहत्यादेखि बलात्कार, बाल विवाह, दाइजोका नाममा शारीरिक यातना लगायत अनेकौं मुद्दा थाती रहेका बेला सिनेमाको पात्रलाई लिएर यति ठूलो बितन्डा मच्चाउनु ‘हिप्पोक्रेटिक’ सोचको उपज भएको उनीहरू बताउँछन्।

पत्रकार तथा लेखक बर्खा दत्ता यही समूहको प्रतिनिधित्व गर्छिन्।

फिल्म रिलिज हुनुअघि नै त्यसको विषयवस्तु वा कुनै दृश्यलाई लिएर विवाद भएको यो पहिलो घटना होइन।

यसअघि भन्सालीकै ‘बाजीराव मस्तानी’ ले मराठा इतिहास तोडमरोड गरेको आरोप खेपेको थियो। आशुतोष गोवारिकर निर्देशित ‘जोधा अकबर’ माथि पनि राजपुत कार्निक सेनाले इतिहास बंग्याएको आरोप लगाउँदै प्रदर्शन रोक्न खोजेको थियो।

यस्ता घटनामा सामान्यतया विरोधी समूहले फिल्म हेरेकै हुँदैनन्। उनीहरूले आपत्ति जनाएको विषय वा दृश्य सिनेमामा छ कि छैन भन्ने पनि निश्चित हुँदैन। जुन विषयवस्तुमा फिल्म बनेको हुन्छ, त्यसमा यस्ता–यस्ता ‘आपत्तिजनक’ दृश्य हुन सक्छन् भन्ने अनुमानकै आधारमा हल्लाको आगो बालिन्छ। र, त्यसैको धुवाँ पछ्याउँदै फिल्मको पोस्टर च्यात्न, कलाकारमाथि आक्रमण गर्न र सकेसम्म प्रदर्शन नै रोक्न समुदायलाई उचालिन्छ।

यहाँनिर राजनीतिक दलहरू पनि आगोमा हात सेक्ने मौका गुमाउँदैनन्।

‘यस्तो विवादमा भोट बैंकसमेत संलग्न छ भने त राजनीतिक नेताहरू पनि विरोधी समूहको पक्ष लिएर प्रतिक्रिया जनाउन थाल्छन्,’ भारतीय अनलाइन ‘द वायर’ ले पद्मावती विवादमा सम्पादकीय लेख्दै भनेको छ।

‘पद्मावती’ विवादको कारण पनि राजपुत कार्निक सेनाले फैलाएको हल्ला हो। फिल्ममा राजपुत खलककी रानी पद्मावती र मुसलमान राजा अल्लाहुद्दिन खिलजीबीच ‘आपत्तिजनक’ दृश्य छ भन्ने सेनाको आरोप छ। जबकि, निर्देशक भन्सालीले नै राजपुत खानदानको गरिमामा आँच आउने गरी पद्मावती र अल्लाहुद्दिनबीच कुनै दृश्य नराखिएको प्रस्ट पारिसकेका छन्।

‘भारतको संविधानले अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित गरेको छ। कुनै पनि संगठनले त्यो स्वतन्त्रता हनन् हुने गरी असंवैधानिक कदम चाल्छ भने राजनीतिक नेताहरूले कानुनी रूपमा त्यसलाई रोक्नुपर्छ, उल्टै बढावा दिने होइन,’ द वायरले सम्पादकीयमा लेखेको छ।

‘भन्सालीलाई पूर्ण अधिकार छ, आफूले सोचेअनुसार फिल्म बनाउने। सेन्सर बोर्डले उनको फिल्म पास गर्छ भने त्यो कुनै पनि हालतमा प्रदर्शन हुनुपर्छ। राजस्थान सरकारले आवश्यक परे प्रहरी लगाएर फिल्म प्रदर्शन गर्नुपर्छ। त्यसो गरिएन भने भोलि कुनै पनि समूह आफ्नो स्वार्थ निम्ति कानुन हातमा लिन प्रेरित हुन्छन्।’

‘पद्मावती’ कथा
यो फिल्म १४ औं शताब्दीका राजपुत महारानी पद्मावती र दिल्लीका तुर्की शासक अल्लाहुद्दिन खिलजीमाथि आधारित छ।

पद्मावती श्रीलंकाका राजा गन्धर्व सेनकी छोरी थिइन्। त्यसबेला उच्च घराना र लच्छिनकी स्त्रीलाई ‘पद्मिनी’ भन्ने चलन थियो। गन्धर्वसेनका १६ हजार पद्मिनी रानी थिए, जसमध्ये चम्पावती सर्वश्रेष्ठ महारानी थिइन्। यिनै चम्पावतीकी छोरी थिइन्, पद्मावती।

हिन्दी साहित्यको प्रसिद्ध महाकाव्य ‘पद्मावत’ मा रानी पद्मावतीबारे वर्णन छ। मोहम्मद मलिक जायजीद्वारा रचित उक्त महाकाव्यका अनुसार पद्मावतीले सुगा पालेकी थिइन्। सुगाको नाम हीरामन थियो।

एक दिन पद्मावती नभएका बेला हीरामनलाई बिरालोले आक्रमण गर्छ। बिरालोबाट बच्न भागेको सुगा शिकारीको पिँजडामा कैद हुन्छ। शिकारीबाट एक ब्राह्मणले किनेर चित्तौडगढका राजा रतनसिंहलाई बेच्छ।

रतनसिंहले त्यही सुगाबाट पद्मावतीको सुन्दरता वर्णन सुन्छन्। मोहित भएर पद्मावतीलाई खोज्न योगीको भेषमा श्रीलंका जान्छन्। अनेकौं वन र समुद्र पार गरेर सिंहल भन्ने ठाउँ पुगेपछि सुगाकै माध्यमबाट पद्मावतीसम्म प्रेम सन्देश पठाउँछन्। पद्मावती रतनसिंहलाई भेट्न आउँछिन्। उनलाई देख्नासाथ रतनसिंह बेहोस हुन्छन्।

होसमा आएपछि उनले पद्मावतीको सन्देश पाउँछन्। सन्देशमा भनिएको हुन्छ, ‘तिमी मलाई त्यसबेला मात्र पाउन सक्छौ, जब सात आकाशको उचाइ जत्रो सिंहलगढ दरबारसम्म उक्लेर आउँछौ।’

यहाँ रतनसिंहलाई हीरामनले मद्दत गर्छ। उनी गोप्यमार्गबाट सिंहलगढभित्र प्रवेश गर्छन्। पद्मावतीका बाबु गन्धर्वसेनले यो थाहा पाएर रतनसिंहलाई सूली चढाउने आदेश दिन्छन्। तर, जब हिरामनले रतनसिंहको वीरगाथा सुनाउँछ, गन्धर्वसेन आफ्नी छोरी पद्मावतीको विवाह गर्न राजी हुन्छन्।

रतनसिंहको राज्यमा एक जना तान्त्रिक हुन्छ। झूटो बोलेको भन्दै राज्यबाट निकालिएपछि उनी अल्लाहुद्दिनको सेवामा लाग्छ। अल्लाहुद्दिनलाई खुसी पार्न रानी पद्मावतीको अद्भूत सुन्दरता बयान गर्छ। यो सुनेर मन्त्रमुग्ध अल्लाहुद्दिनले चित्तौडगढमा धावा बोल्छ। रतनसिंहलाई बन्दी बनाएर दिल्ली पठाउँछ।

पतिलाई बन्दीगृहबाट छुटाउन पद्मावती जुक्ति निकाल्छिन्। उनी सोह्र सय डोली साथ लिएर अल्लाहुद्दिनलाई भेट्न जान्छिन्। ती सोह्र सय डोलीमा चितौडका सैनिक हुन्छन्।

अन्ततः मौका छोपेर पद्मावती र रतनसिंह भाग्न सफल हुन्छन्।

उता, आफू बन्दी भएकाबेला कुम्भलनेरका राजा देवपालले पद्मावतीलाई प्रेम प्रस्ताव पठाएको रतनसिंहले थाहा पाउँछन्। दुई देशबीच घमासान लडाइँ हुन्छ। देवपाल मारिन्छन्। रतनसिंह पनि गम्भीर घाइते हुन्छन्। लडाइँको मैदानबाट घर पुग्नासाथ उनको मृत्यु हुन्छ।

रानी पद्मावती उनको शव काखमा लिएर सती जान्छिन्।

पद्मावतीलाई पछ्याउँदै चितौडगढ आइपुगेका अल्लाहुद्दिन चिता जलेको देखेर विह्वल हुन्छन्।

राजपुत दरबारले पद्मावतीको गरिमालाई आफ्नो आत्मसम्मानसँग जोडे पनि उनी महाकाव्यकी काल्पनिक पात्र हुन् कि ऐतिहासिक भन्नेमा विवाद छ। अलिगढ मुस्लिम विश्वविद्यालयका इतिहासकार इरफान हबिब पद्मावती ‘काल्पनिक पात्र’ भएको बताउँछन्।

इतिहासकारहरूका अनुसार नयाँदिल्लीका सुल्तान अल्लाहुद्दिनले चितौडगढमाथि हमला गरेको ऐतिहासिक तथ्य भए पनि पद्मावतीको कथा पुष्टि गर्ने आधार छैन। त्यसमाथि यो महाकाव्य चितौडगढ हमलाको दुई सय वर्षपछि १६ औं शताब्दीमा लेखिएको हो। कवि मोहम्मद मलिक जयजीले पद्मावतीबारे सुनिँदै आएको लोककथालाई आधार बनाएको हुनसक्ने इतिहासकारको भनाइ छ।

उक्त महाकाव्यले ‘सती प्रथा’ लाई बढाइचढाइँ प्रस्तुत गरिएको भन्दै आलोचना गर्नेहरू पनि छन्।

फिल्ममा पद्मावतीको कथा कतिसम्म समेटिएको छ, खुलेको छैन। खासगरी पद्मावतीको सुन्दरताले निहाल अल्लाहुद्दिन कसरी अन्तिमसम्म उनलाई पाउने प्रयास गर्छन् भन्ने फिल्मले दर्शाएको बताइन्छ। अल्लाहुद्दिनले ईश्वी सम्बत् १३०३ मा चितौडगढको दुर्ग भन्ने ठाउँमा आक्रमण गरेको पनि फिल्ममा देखाइएको छ भन्ने सुनिन्छ।

यसरी ऐतिहासिक प्रमाणधरि नभएको विषयवस्तु समातेर यति ठूलो बितन्डा मच्चाउनु नै हास्यास्पद भएको एकथरीको तर्क छ।

यसबीच भारतमा प्रतिबन्धको माग भइरहेको ‘पद्मावती’ लाई बेलायती सेन्सरले कुनै दृश्य नकाटी पास गरेको छ। यो फिल्म बेलायतमा डिसेम्बर १ मै रिलिज हुँदैछ।

उता, राजपुत कार्निक सेनाले शाही परिवारलाई आपत्ति हुँदैन भने विरोध कार्यक्रम फिर्ता लिन तयार भएको जनाएको छ। यसका लागि शाही परिवार निम्ति मात्र फिल्म प्रदर्शनको व्यवस्था मिलाउन आग्रह गरिएको छ।

‘पद्मावती’ फिल्म कहिले प्रदर्शनमा आउला यकिन छैन। तर, यो विवादले कला–साहित्यलाई हेर्ने ‘संकुचित’ सोच र महिला अधिकारप्रति समाजको ‘हिप्पोक्रेसी’ झल्काउने लेखकहरूले टिप्पणी गरेका छन्।

बर्खा दत्ताको ट्विटको आसय पनि यही हो।

(बिबिसी, द वायर र स्क्रोलमा आधारित)

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.