भारतमा विवादित फिल्म ‘पद्मावती’ बेलायतमा प्रदर्शन हुने


बलिउड फिल्म ‘पद्मावती’ भारतमा विवादित रहँदा बेलायतमा भने प्रदर्शन हुने भएको छ। रनवीर कपुर र दीपिका पादुकोण अभिनित फिल्मलाई डिसेम्बर १ मा बेलायतमा प्रदर्शन गरिने घोषणा गरिएको हो।

सञ्जयलीला भन्साली निर्देशित फिल्म ‘पद्मावती’ ले एतिहासिक कुराहरू तोडमेड गरेको भन्ने आरोप सुटिङदेखि नै खेप्दै आएको थियो।

फिल्ममा भारतकी राजपुत रानी पद्मावती र राजा रतन सिंह र सुल्तान अलाउद्दिन खिलबीचको प्रेमलाई दर्साउन खोजिएको छ। तर विरोधी समुहहरूले फिल्ममा रानी पद्मावतीलाई गलत ढंगले चित्रण गरेको आरोप गरेको छ।

उता ब्रिटिस बोर्ड अफ फिल्म (बिबिएफसि) ले भने यो फिल्मलाई कतै पनि कैची नलगाई पास गरेको छ। यद्यपी, फिल्म हेर्नका लागि १२ वर्ष मुनिका बालबालिकाहरूलाई भने परिवारको सहायता चाहिने फिल्म बोर्डले जनाएको छ।

बिबिएसले सार्वजनिक गरेको सन्देशमा उल्लेख छ, ‘फिल्मका केही संस्करणहरू ‘थ्रीडी’ र ‘आइम्याक्स’मा भएको हुनाले, साना बालबालिकाहरूलाई भिन्न अनुभव हुन सक्छ।’

१९० करोड भारतीय रुपैयाँमा निर्माण भएको फिल्म ‘पद्मावती’ यसअघि डिसेम्बर १ मा नै भारतमा पनि प्रदर्शन हुने भनिएको थियो। तर केही संघसस्था र राजपुत समूहको विरोधका कारण अनिश्चित समयको लागि फिल्मको रिलिज मिति सारिएको हाे। सेन्सर बोर्डले समेत फिल्म जाँचपास नगरी निर्मातालाई फर्काइदिएकाले पनि रिलिज समयमै हुन नसक्नुको एउटा कारण मानिएको छ।

केही समयअघि फिल्मका निर्देशक भन्साली र अभिनेत्री दीपीका पादुकोणलाई मृत्यु दण्ड दिने जस्ता विरोधसम्म आएको थियो। यसैले, उनीहरूलाई थप सुरक्षा प्रदान गरिएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.