चर्चामा ‘झ्यानाकुटी’को फोटो कन्टेस्ट


फिल्म ‘झ्यानाकुटी’ मंसिर १ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ। गीत र ट्रेलर चर्चामा आएसँगै फिल्मले ल्याएको ‘फोटो कन्टेस्ट’ पनि यतिबेला व्यापक चर्चामा छ।

प्रिति चाउचाउको सहकार्यमा फिल्म यूनिटले ‘झ्यानाकुटी फोटो कन्टेस्ट’ आयोजना गरेको हो। यो कन्टेस्टमा प्रेमिका वा श्रीमतीले प्रेमी वा श्रीमान बोकेको तस्बीर फेसबुकमा अपलोड गर्दै आयोजकलाई ट्याग गर्नुपर्ने छ। अपलोड गरिएका तस्वीरमध्ये सबैभन्दा बढी लाइक पाउनेले ५१ हजार रुपैयाँ नगद पनि पाउनेछन्।

यस कन्टेस्टमा दर्शक  उतिकै सहभागी छन् नै सेलिब्रेटीले पनि उतिकै साथ दिएका छन्। यतिबेला सामाजिक सञ्जालमा सेलिब्रेटीले आफ्नो सहकर्मी वा जोडीलाई बोकेको तस्वीर प्रशस्तै देख्न पाइन्छ।

प्रियंका कार्कीले दीपक राज गिरीलाई, नीता ढुंगानाले श्याम भट्टराईलाई, ऋचा शर्माले अनिल पराजुलीलाई, दिया मास्केले अनोज पाण्डेलाई, वर्षा राउतले संजोग कोइरालाले र रिमा विश्वकर्माले रविन श्रेष्ठलाई काँधमा बोकेको तस्बिर फेसबुकमा पोष्ट गर्दै ‘झ्यानाकुटी’को प्रचारमा साथ दिएका छन्।

‘यतिको साथ पाइन्छ भन्ने सोचेकी थिइनँ तर दर्शकको चासोसँगै सहकर्मीले साथ दिदाँ निकै खुसी लाग्दो रहेछ’ फिल्ममार्फत निर्माणमा डेब्यू गरेकी निशा अधिकारीले भनिन्, ‘फिल्मले दर्शकको समय र पैसाको सदुपयोग गर्छ, ढुक्क हुनुहोस्।’

फिल्ममा निशासँगै सिमोश सुनुवारको पनि लगानी रहेको छ भने सिमोश नै फिल्मका निर्देशक हुन्।

प्रदीप भारद्वाजको कथा रहेको फिल्ममा सौगात मल्ल, बेनिशा हमाल, सुमी मोक्तान, एस्टल गुरुङ लगायतको अभिनय रहेको छ। फिल्म निर्देशक सिमोश भन्छन्, ‘फिल्म गरेपछि आफ्नै गाउँघरको कथा महसुस गर्नुहुनेछ।’

फिल्मको ट्रेलरले सकारात्मक प्रशंसा बटुलिरहेको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.