उदयपुरको चौदण्डीगढी नगरपालिकाको मेयरमा नेकपा एमालेका कालुमान लामा निर्वाचित भएका छन्। लामा ८८६३ मतसहित विजयी भएका हुन्।
उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका खगेन्द्र राईले ८०१२ मत ल्याएका छन्। राई यसअघिको निर्वाचनमा मेयरमा निर्वाचित भएका थिए। उपमेयरमा पनि एमालेकै मणिकादेवी दुलाल विजयी भएकी छन्। उनले कांग्रेसकी रिताकुमारी चौधरीलाई पछि पारेकी हुन्।
चौदण्डीगढीमा गठबन्धनबाट माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीबीच तालमेल गरेको थियो भने कांग्रेस एक्लै लडेको थियो।
निर्वाचनअघि यहाँ गठबन्धनका दलहरूबीच तालमेल गर्न पटकपटक छलफल भएको थियो। अन्तिममा कांग्रेसले आफू एक्लै लडेर जाने निर्णय गरेको थियो।
माओवादी केन्द्र उदयपुरका अध्यक्ष विनोद कटुवालले गठबन्धनका अन्य दलबीच तालमेल गर्ने कुरा रहेको उल्लेख गर्दै अन्तिममा कांग्रेसले नमानेको सेतोपाटीलाई जानकारी दिए।
'उपमेयरको त कुरै भएन, उहाँहरू वडामा पनि गठबन्धन तयार गर्न मान्नुभएन। यो त्यसैको परिणाम हो,' उनले भने।
चौदण्डीगढीमा माओवादीले सुरूमा उपमेयर आफूले पाउनुपर्ने अडान राखेको थियो। तर कांग्रेस उपमेयर माओवादीलाई बुझाउन तयार भएन। पछि उपमेयर पनि छाडेर माओवादीले अघिल्लो पटक आफूले जितेको तीन वटा वडा माग्यो। तर त्यसमा पनि कांग्रेस मानेन।
कटुवाल भन्छन्, 'सुरूमा उपमेयरमा हाम्रो दाबी थियो तर पछि त्यो पनि छाडेका थियौं। अन्तिममा हामीले अघिल्लोपटक जितेको तीन वटा वडा दिनुस्, हामी गठबन्धन गरेर जान्छौं भन्दा पनि उहाँहरू तयार हुनु भएन।'
तर यसपालि कांग्रेसले मेयर र उपमयेर मात्र गुमाएन, अघिल्लोचोटि आफूले जितेका चार वटा वडा पनि गुमायो। कांग्रेसले अघिल्लो पटक जितेको १, ४, ७ र ८ नम्बर वडा यसपालि एमालेले खोसेको छ। जबकि एमालेले अघिल्लोचोटि एउटा मात्र वडा जितेको थियो।
यसपालि एमालेले दसमध्ये ८ वटा वडामा जित निकाल्दै शानदार पुनरागमन गरेको हो।
एमालेको उदयपुरका अध्यक्ष प्रमेश्वर घिमिरेले पनि गठबन्धनका दलबीच तालमेल नगरी जाने निर्णय भएकाले त्यसको फाइदा एमालेलाई भएको जनाए।
माओवादीका अर्का एक जिल्ला नेताले कांग्रेसले गठबन्धन गर्न नमान्दा चौदण्डीगढीमा एमालेले दबदबा कायम गरेको बताएका छन्। उनले पटकपटक आग्रह गर्दा पनि कांग्रेस एक्लै लड्ने कुराबाट पछि नहटेको जनाए।
'मैले नै कांग्रेसका मेयर उम्मेदवारलाई फोन गरेर गठबन्धन नै गरेर जाऊँ भनेँ। तर उहाँले साथीहरूले मान्नुभएन, अन्यथा नसम्झिदिनुहोस् है भनेर फोन राख्नुभयो। उहाँको अहंकारको त सीमा नै रहेनछ नि,' ती नेताले भने।
कांग्रेससँग कुरा नमिलेपछि चौदण्डगढीमा एकीकृत समाजवादी, माओवादी केन्द्र र जनता समाजवादीबीच चुनावी तालमेल भएको थियो। एकीकृत समाजवादीबाट नरेन्द्र राउत मेयर र उपमयेरमा माओवादीबाट हिरा थापा तिमल्सिना उठेकी थिइन्। तर दुबै जना एमालेका उम्मेदवारसँग पराजित भएका छन्।
उदयपुरको कांग्रेस सभापति हिमाल कार्कीले पनि गठबन्धन नगरेर नजाँदा गलत निर्णय भएको बताएका छन्।
कार्कीले सेतोपाटीसँग भने, 'त्रियुगा र चौदण्डीको हकमा कांग्रेस एक्लै लड्दा प्रभावकारी हुन्छ भन्ने भयो तर अहिलेको परिणाम हेर्दा त्यो बेलाको निर्णय अलिक ठीक रहेनछ कि भन्ने भएको छ।'