नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराका सातै स्थानीय तहमा नेकपा एमालेले प्रमुख तथा उपप्रमुख पद जित्न सकेन।
अजयमेरू गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका उमेशप्रसाद भट्ट र उपाध्यक्षमा कांग्रेसकी बसन्ती पाल निर्वाचित भए।
अमरगढी नगरपालिकाको मेयरमा कांग्रेसका डिल्लीराज जोशी र उपमेयरमा कांग्रेसकै पार्वतीदेवी झुकाल निर्वाचित भइन्।
आलिताल गाउँपालिकाको अध्यक्षमा माओवादीका शेरसिंह पार्की निर्वाचित हुँदा उपाध्यक्षमा माओवादीकै मैनाकुमारी रावल निर्वाचित भइन्।
गन्यापधुरा गाउँपालिका अध्यक्ष भने नेपाली कांग्रेसले जित्यो। इन्द्रबहादुर कार्की गाउँपालिका अध्यक्ष भए भने उपाध्यक्षमा कांग्रेसकै ज्ञानुकुमारी सेटी निर्वाचित भइन्।
नवदुर्गा गाउँपालिका अध्यक्षमा कांग्रेसका लक्ष्मीप्रसाद अवस्थी विजयी भए। यहाँ उपाध्यक्षमा कांग्रेसकै निर्मलाकुमारी बोगटी निर्वाचित भएकी छन्।
परशुराम नगरपालिकाको मेयरमा कांग्रेसका भरत बडायर जोशी र उपमेयरमा माओवादीकी विमलाकुमारी बोहरा निर्वाचित भइन्।
भागेश्वर गाउँपालिका अध्यक्षमा कांग्रेसका हेमराज चटौत र उपाध्यक्षमा कांग्रेसकै पुष्पा ठकुरानी निर्वाचित भइन्।
नेकपा एमाले र नेपाली कांग्रेस बिपीले डडेल्धुरामा चुनावी गठबन्धन गरे पनि एउटै पालिका जित्न सकेनन्। कांग्रेसका पूर्व जिल्ला सभापति कर्णबहादुर मल्ल पक्षले नेपाली कांग्रेस बिपीबाट उम्मेदवारी दिई एमालेसँग चुनावी तालमेल गरेका थिए।
देउवाकै वडामा भने नेपाली कांग्रेसले वडाध्यक्ष जित्न सकेको थिएन। गन्यापधुरा गाउँपालिका वडा नम्बर १ मा नेपाली कांग्रेस बिपीका उम्मेदवार नरेश भण्डारी वडाध्यक्षमा निर्वाचित भएका थिए।