उदयपुरको वेलका नगरपालिकाको मेयरमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका अशोक कार्कीले जित्ने निश्चित भएको छ। मतगणना नसकिए पनि प्रतिस्पर्धीसँगको मतान्तर गन्न बाँकी रहेको मत संख्याभन्दा पनि बढी रहेसँगै कार्कीले मेयर जित्ने पक्का भएको हो।
पछिल्लो मतपरिणाम अनुसार कार्कीले ८९३५ मत ल्याएका छन्। उनका प्रतिस्पर्धी नेकपा एमालेका दुर्गाकुमार थापाको ६३१७ मत छ। कार्की र थापाबीच २६१८ मतको मतान्तर छ। अब गन्न बाँकी मत भने जम्मा २४५१ छ। त्यसैले मतगणनामा कुनै समस्या नआए कार्की आजै साँझ मेयर चुनिने छन्।
वेलकामा जम्मा २१८१९ मत खसेकोमा १९३६८ मत गणना भइसकेको छ। अहिले वडा नम्बर ३, ४ र ५ को गणना भइरहेको छ।
वेलकामा कांग्रेस र माओवादी केन्द्रबीच चुनावी तालमेल छ। यद्यपि उपमेयरमा भने माओवादीका मनोज तामाङ पछि परेका छन्। उनलाई एमालेकी जिरा राईले पछि पारेकी हुन्। राईले ७४६१ मत ल्याउँदा तामाङले जम्मा ६६१२ मत पाएका छन्।
झन्डै ८४९ मतान्तर रहेपछि उपमेयरमा राईको सम्भावना बढी छ। अब जम्मा २४५१ मत गणना बाँकी गर्न रहेकाले राई सम्भावना बढी रहेको हो। माओवादीका तामाङ अघिल्लो निर्वाचनमा वडा नम्बर ४ को अध्यक्षमा उठेका थिए। उनी त्यो बेला वडामा दोस्रो भएका थिए।
वेलकामा अहिले मेयरमा प्रतिस्पर्धा गरेकै दुई जना उम्मेदवार अघिल्लो निर्वाचनमा पनि उठेका थिए। तर त्यो बेला भने एमालेका थापाले कांग्रेसका कार्कीलाई उछिन्दै मेयरमा बाजी मारेका थिए। तर यसपटक माओवादीसँगको गठबन्धनले कार्कीले थापासँग बदला लिएका छन्।
अघिल्लो निर्वाचनमा थापाले कार्कीलाई ५५२ मतले पराजित गरेका थिए। त्यो बेला थापाले ५८१८ मत ल्याउँदा कार्कीले ५२६६ मत पाएका थिए।
तर यसपालि कार्कीले २६१८ मतको अग्रता कायम गरिसकेका छन्। उनले अन्तिम परिणाम आउँदासम्म थापालाई ३ हजार बढी मतले हराउने देखिएको छ।