भोजपुरमा माओवादी केन्द्रले अघिल्लो निर्वाचनभन्दा यसपटक एउटा बढी पालिकामा जित निकालेको छ। अघिल्लो पटक एउटा मात्र पालिका जितेको माओवादीले यसपालि थप एउटा पालिका जितेको हो।
माओवादीले जितेको पालिकामा आमचोक गाउँपालिका र रामप्रसादराई गाउँपालिका रहेका छन्।
आमचोक यसअघि पनि माओवादीले नै जितेको थियो। तर रामप्रसादराई गाउँपालिकामा भने यसअघि एमाले विजयी भएको थियो। त्योबेला एमालेले माओवादीलाई ८ मतले हराउँदै अध्यक्ष पद पोल्टोमा पारेको थियो।
यसपालि भने कांग्रेससँग गठबन्धन गरेर रामप्रसादराई गाउँपालिकामा माओवादीले बाजी मारेको छ। माओवादीका थामबहादुर गुरूङ ३०७७ मतसहित विजयी भएका छन्। उनका प्रतिस्पर्धी एमालेका बलराम राईले २८५१ मत ल्याएका छन्।
अघिल्लो निर्वाचनमा भने एमालेका विजय राई २३५६ मतसहित निर्वाचित भएका थिए। उनका प्रतिस्पर्धी थामबहादुर राईले २३४८ मत प्राप्त गरेका थिए। तर यसपालि भने राई अध्यक्षमा निर्वाचित भएका छन्।
यस्तै, भोजपुरमा स्वतन्त्र उम्मेदवार पनि विजयी भएका छन्। जिल्लाको साल्पासिलिछो गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवार दौलथ कुमार कुलुङ विजयी भएका छन्। उनी १८१४ मत ल्याएर विजयी भएका छन्। उनले कांग्रेसबाट यसअघि अध्यक्षमा निर्वाचित भएका महेश राईलाई हराएका छन्। राईले १७८६ मत प्राप्त गरेका छन्।
अध्यक्ष दौलथ स्वतन्त्र उठे पनि उनलाई माओवादी केन्द्रले सहयोग गरेको देखिन्छ। किनकि माओवादीले यसपटक अध्यक्ष पदमा आफ्नो उम्मेदवारी दिएको छैन। जबकि माओवादीले अघिल्लो निर्वाचनमा ११९१ भोट ल्याएको थियो।
भोजपुरको जम्मा ९ पालिकामध्ये एमालेले ३, नेपाली कांग्रेसले ३, माओवादीले २ र स्वतन्त्रले एक पालिका जितेको छ। एमालेले जितेको पालिकाहरूमा षडानन्द नगरपालिका, पौवादुङमा गाउँपालिका र हतुवागढी गाउँपालिका रहेका छन्।
यस्तै, भोजपुर नगरपालिका, टेम्केमैयुङ गाउँपालिका र अरूण गाउँपालिका कांग्रेसले जितेको छ।