धनुषा जिल्लाका नगरपालिकामा मेयर उठेका प्रमुख तीन दलका अध्यक्षहरू अरू उम्मेदवारसँग पछि परेका छन्।
नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादीका जिल्ला अध्यक्षहरू स्थानीय तह निर्वाचनमा पछि परेका हुन्।
कांग्रेस धनुषा सभापति योगेन्द्र पजियार क्षिरेश्वरनाथ नगरपालिका मेयरमा उठेका छन्। हालसम्मको मतगणनामा यहाँ नेकपा एमालेका सुखदेव यादवले २१९० मत ल्याएर अग्र स्थानमा छन्। यसअघिको कार्यकालमा समेत मेयर रहेका कांग्रेस सभापति पजियारले पछिल्लो मतगणनाअनुसार १८५० मत ल्याएर दोस्रो स्थानमा छन्। वडा नम्बर ५ को क्षीरेश्वर जनता उच्च मा.वि. (ङ) मतदान केन्द्रको मतगणना पुनः गर्नुपर्ने माग गर्दै एमाले आन्दोलित भएपछि अर्को सूचना नआएसम्मका लागि यहाँ मतगणना स्थगित गरिएको छ।
त्यसैगरी सबैला नगरपालिकाकाको मेयर उम्मेदवार उठेका एमालेका जिल्ला अध्यक्ष राजकिशोर यादव चौथो नम्बरमा पुगेका छन्। मेयरमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का रामचन्द्र प्रसाद जयसवालले १७१८ मत ल्याएर सबभन्दा अग्रस्थानमा छन्। उनका निकटतम प्रतिद्वन्द्वी माओवादीका कारी राम यादवले १४३९ मत प्राप्त गरेका छन्। यहाँ कांग्रेसका जगत सुन्दर साहले १२३६ मत ल्याएर तेस्रो स्थानमा छन् भने एमाले अध्यक्ष यादव १२०९ मत ल्याएर चौथो स्थानमा छन।
धनुषाधाम नगरपालिकाको मेयरमा उठेका माओवादीका जिल्ला अध्यक्ष देवेन्द्र यादव ( दिपक ) पनि हालसम्मको गणनामा तेस्रो स्थानमा छन्। यहाँ कांग्रेसका बालेश्वर मण्डलले १७२३ मत ल्याएर अग्र स्थानमा छन्। उनी २०७४ सालमा पनि मेयर जितेका थिए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका योगकुमार यादवले १४८० मत ल्याएका छन् भने माओवादी अध्यक्ष दिपकले १०९३ मत ल्याएका हुन्।