काठमाडौं न्यूरोडका बेन्जी सिंह महर्जन केही दिन यता निकै खुसी छन्।
नहुन् पनि किन?
काठमाडौं महानगरपालिकाको उपमेयरका स्वतन्त्र उम्मेदवार बेन्जीले जारी मतगणनामा १ हजार मत कटाइसकेका छन्।
धेरै स्वतन्त्र उम्मेदवारको मत १० भोट भन्दा तल हुँदा समेत बेन्जीले मत प्राप्त गरिरहेका छन्।
उनको धेरै मत आउनुको कारण भने बेन्जी स्वयम् होइनन्। त्यसो त उनले चुनावमा प्रचार प्रसार पनि गरेका होइनन्।
काठमाडौंमा मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहसँग चुनाव चिन्ह मिल्नु नै उनका लागि फलिफाप सिद्ध भयो। बालेनको लौरोले बेन्जीलाई खुसी दियो।
३१ वर्षीय बेन्जी न्यूरोडमा रेडिमेड कपडाको व्यापार गर्छन्। 'प्लस टू'सम्म अध्ययन गरेका बेन्जी साथीभाइको लहलहैमा उपमेयरको उम्मेदवार बनेका हुन्। उनको न कुनै राजनीतिक पृष्ठभूमी छ न त राजनीतिमा गहिरो चासो।
'टोलका मान्छेहरूले बाबु तिमी पनि उठ भनेर उठाइ दिएको हो', बेन्जीले सेतोपाटीसँग भने, 'परिणाम राम्रो भैराखेको छ। म निशब्द छु।'
त्यसो त उम्मेदवारी दर्ता लगत्तै उनी स्वास्थ्यमा समस्या देखिएर अस्पताल भर्ना भए। पत्थरीका कारण उनले चुनावका बेला कतै गएर भोट माग्ने मौकै पाएनन्। तर आफूले धमाधम मत पाउन थालेपछि उनलाई निकै खुसी लागेको छ।
'परिणाम राम्रो भैराखेको छ। साँच्ची भन्नुपर्दा बालेनजीको राम्रो भैराखेको छ। उहाँको अझै राम्रो होस्। त्यहि अनुसार मेरो त आएको हो', बेन्जीले भने, 'मन खोलेर भन्नुपर्दा नसोचेको भोट आइरखेको छ।'
बालेन शाहले राम्रो छवी बनाएका कारण आफूले भोट पाएको उनी निर्धक्क स्वीकार्छन्। 'साथी भाइ र टोलबाट फोन आइराखेको छ', उनले भने, 'म यसको श्रेय बालेनलाई दिन्छु।'
धमाधम मत प्राप्त गरे पनि उनी एकपटक मात्र मतगणना भएको ठाउँमा पुगेका छैनन्।
'घरायसी काममा छु', बेन्जीले भने, 'साथीभाइले मतगणनाको खबर दिइरहेका छन्।'
न्यूरोडमा उनी टोलको क्लबमा कोषाध्यक्ष छन्। तर कुनैपनि राजनीतिक दलको पद लिएर राजनीति गरेका छैनन्।
'मलाई लौरो चिन्ह पर्दा नै धेरथोर मत पाउँछु भन्ने विश्वास थियो', बेन्जीले भने, 'यति साह्रो मत आउँछ भन्ने विश्वास थिएन।'
बेन्जीले प्राप्त गरेको मत विवकशिल साझा पार्टीको उपमेयरको उम्मेदवारको भन्दा धेरै छ।
निर्वाचन कार्यालयले सार्वजनिक गरेको आधिकारिक तथ्याङअनुसार काठमाडौंमा अहिलेसम्म २९ हजार ३ सय ५३ मत गणना भएको छ।
उपमेयर तर्फ सबैभन्दा धेरै मत नेकपा एमालेकी सुनिता डंगोलले ल्याएकी छिन्। उनको मत ११४८५ छ। दोश्रो स्थानमा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठ छन्। उनले ३३८७ मत पाएका छन्।
तेश्रो स्थानमा राप्रपा छ। राप्रपाको उपमेयरले विनिता मगैयाँ २०७६ मत ल्याएकी छिन्। चौथो स्थानमा बेन्जी छन्। उनले ११९१ मत प्राप्त गरेका छन्।
उनी भन्दा पछाडी विवेकशिल साझा पार्टी छ। विकेकशिलकी किर्ती कंसाकारको ४८५ मत छ।