दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ मा मंगलबार भएको निर्वाचनमा ४ हजार ३ सय ३९ मत खसेको छ।
६ हजार १ सय ७० मतदाता रहेकोमा १ हजार ८ सय ३१ जना मतदानमा सहभागी भएनन्।
यसअघि नेकपा एमालेका वडाध्यक्षका उम्मेदवार लवरु चौधरीको निधनका कारण गत वैशाख ३० गतेको निर्वाचन स्थगित भएको थियो।
त्यसपछि निर्वाचन अधिकृतको कार्यालय तुलसीपुरले उम्मेदवारी दर्तादेखि फेरि नयाँ निर्वाचन कार्यतालिका सार्वजनिक गरेको थियो।
मतदान शान्तिपूर्ण रूपमा सकिएको तुलसीपुरका निर्वाचन अधिकृत रामेश्वर अर्यालले जानकारी दिए।
यहाँ खासगरी नेपाली कांग्रेस, नेकपा एमाले तथा स्वतन्त्र उम्मेदवारबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने अनुमान गरिएको छ।
यो वडामा नेपाली कांग्रेसका वडाध्यक्ष पदका उम्मेदवार थलराज पुरी, नेकपा एमालेबाट स्वर्गीय लवरु चौधरीका छोरा प्रदीप चौधरी र स्वतन्त्र उम्मेदवार डिल्लीराज शर्मा भिड्न लागेका छन्।
मतदातालाई प्रभाव पार्न जिल्ला तहका नेताहरू बिहानैदेखि दुधरास बुथ तथा मानपुर बुथमा दौडधुप गरेका थिए।
बिहानदेखि दिनभरजसो यहाँका वडाका दुइटा बुथमा वडाध्यक्षका उम्मेदवारमात्र नभएर सबै राजनीतिक दलका मेयर तथा उपमेयर पदका उम्मेदवारहरू तथा जिल्लामा क्रियाशील राजनीतिक दलका नेताहरूको बाक्लो उपस्थिति थियो।
जनकल्याण माध्यमिक विद्यालय दुधरास बुथबाट १ हजार ९ सय २५ जनाले मतदान गरेका थिए भने दीपेन्द्र माध्यमिक विद्यालय मानपुर बुथबाट २ हजार ४ सय १४ जनाले मतदान गरेका थिए।
निर्वाचनलाई सुरक्षित एवं भयरहित बनाउन जिल्ला निर्वाचन सुरक्षा समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्ले, अनुसन्धान कार्यालय दाङका प्रमुख तथा एसपी अर्जुन भण्डारी प्रमुख, नेपाली सेनाका बाहिनी प्रमुख, सशस्त्र प्रहरी प्रमुख लगायत इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी श्यामु अर्यालसहितको टोली पुगेको थियो।
तुलसीपुर – १७ मा मतदान सकिएलगत्तै मतपेटिकाहरू तुलसीपुरस्थित सरकारी वकिलको कार्यालयमा लगिएको छ।
जहाँ मतगणना सुरू हुने अन्तिम तयारी गरिएको छ। सर्वदलीय बैठक बसेर बेलुकादेखि नै तुलसीपुरको रोकिएको मत गणना गरिने भएको छ।
आजै रातिदेखि मतगणना सुरू गर्ने निर्णय भएका कारण दलहरूले आ–आफ्ना एजेन्टहरू समेत खटाइसकेको जानकारी दिएका छन्।
एक साथ ५ स्थानमा मतगणना सुरू गर्ने तयारी गरिएको तुलसीपुरका निर्वाचन अधिकृत रामेश्वर अर्यालले जानकारी दिए।
सुरूमा वडा नं. १ बाट मतगणना सुरू गरिने भएको छ। यो कम्युनिष्टको प्रभाव क्षेत्र हो। तुलसीपुरमा १९ वडाहरू रहेका छन्।