नेकपा एमालेले चितवनको माडीमा मेयर पद जितेको छ।
माओवादी केन्द्रका ऋषि काफ्लेलाई पराजित गर्दै एमालेकी ताराकाजी कुमारी महतो माडी नगरपालिकाको मेयरमा निर्वाचित भएकी हुन्।
उनले ९ हजार ९ सय १ भोट ल्याइन्। काफ्लेले ७ हजार ७ सय २९ मत ल्याए।
१४ भदौ २०३२ मा माडीको साविक बघौडा गाविस– ७ मा जन्मिएकी महतो बिहेपछि मात्रै राजनीतिमा प्रवेश गरेकी थिइन्।
उनले लामो समय गैरसरकारी संस्थामा आवद्ध भएर काम गरिन्। उनले गैर सरकारी संस्था समन्वय समिति चितवनबाट सञ्चालित डकाउ कार्यक्रमको भिलेज फ्यासिलेटरको रूपमा ५ वर्ष काम गरेकी थिइन्। त्यसपछि उनी वडामा सचिव भई १२ वर्षसम्म काम गरिन्।
यही क्रममा उनले आदिवासी महिला र माडीवासीको समस्या बुझेकी थिइन्। गत स्थानीय निर्वाचनमा उनी माडी नगरपालिकाबाट उपमेयरमा निर्वाचित भइन्।
उपमेयरमा कांग्रेसका खेमप्रसाद महतो निर्वाचित भए। उनले राप्रपाका मदन पौडेललाई पराजित गरेका हुन्। महतो गत निर्वाचनमा मेयर पदमा उठेर ४४ मतले पराजित भएका थिए।