नेपालगञ्ज उपमहानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार प्रशान्त विष्ट निकटतम् प्रतिद्वन्द्वीभन्दा ६३४१ मतले अगाडि पुगेका छन्।
नेपालगञ्जमा गठबन्धन दलमध्ये कांग्रेसले मेयर र जसपाले उपमेयरमा उम्मेदवार खडा गरेका छन्।
सार्वजनिक पछिल्लो मत परिणाम अनुसार विष्टले १२००९ मत प्राप्त गरेका छन्। हालसम्म नेकपा एमालेका पशुपतिदयाल मिश्रले ५६६८ मत प्राप्त गरेका छन्।
मेयर पदका उम्मेदवारमध्ये कांग्रेसका विष्ट र एमालेका मिश्रबीचको मतान्तर ६३४१ रहेको छ। त्यस्तै, राप्रपाका नन्दलाल बैश्य ४८४२ मतका साथ मिश्रलाई पछ्याइरहेका छन्।
विष्ट र बैश्यबीचको मतान्तर ७१६७ रहेको छ। टिकट नपाएपछि नेकपा माओवादी केन्द्र त्यागेर ब्यापारिक नेता बैश्य निर्वाचनको मुखमै राप्रपामा प्रवेश गरेका थिए।
२०७४ सालमा नेपालगञ्जमा राप्रपाले मेयर जितेको थियो भने नेपाली कांग्रेसले उपमेयर जितेको थियो।
यहाँ उपप्रमुखमा जनता समाजवादी पार्टीका कमरुद्धिन राई ९९८३ मतका साथ अग्रता लिइरहेका छन्।
उनलाई राप्रपाकी विन्दु चर्ती मगरले पछ्याइरहेकी छिन्। मगरले ६१४२ मत प्राप्त गरेकी छन्। जसपाकी राई राप्रपाकी मगर भन्दा ३८४१ मतले अगाडि रहेका छन्।
सोही उपमेयरमा नेकपा एमालेकी शान्ति ढकालले ५३९३ मत प्राप्त गरेकी छन्।
नेपालगञ्जमा अहिलेसम्म वडा नम्बर १, २, ३, ४, ५, ६, ७, ८, १९, २०, २१, २२ र २३ को मतगणना सकिएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।