वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मत परिणाम आउने क्रम जारी छ। अहिले सबैभन्दा बढी मानिसको ध्यान काठमाडौं महानगरपालिकाले तानेको देखिन्छ।
काठमाडौं महानगरमा जे जस्तो मतपरिणाम आइरहेको छ त्यो हाम्रा लागि अप्रत्यासित हो। काठमाडौंका मतदाताहरू राजनीतिक दलले प्रस्तुत गरेका उम्मेदवारहरूप्रति त्यति सन्तुष्ट देखिएनन्।
नेकपा एमालेले यहाँ केशव स्थापितलाई मेयर उम्मेदवार उठाएको थियो। एमाले नेतृत्वले उनलाई मेयरमा उठाउने निर्णय गर्दा उनले चमत्कार गर्लान् भन्ने ठान्यो होला। उहाँले पनि चमत्कार नै गर्छु भनेर विश्वास दिलाउनु भयो, पहिले पनि अलिअलि चमत्कार गरेको मान्छे केशव स्थापित कार्ड सफल हुन्छ कि भन्ने नेतृत्वलाई लाग्यो। कहिले कहिले त नेतृत्वको पनि विश्वास गलत हुन्छ नि।
काठमाडौंलगायत सहर केन्द्रित मतदाताहरूले दलका उम्मेदवारप्रति देखाएको असन्तुष्टि हेर्दा के निष्कर्षमा पुग्न सकिन्छ भने दलहरूले गम्भीर आत्मसमीक्षा गर्न जरूरी भइसकेको छ।
बालेन शाहले जुन मत ल्याइरहनुभएको छ, हामीले नचिताएको हो। यो मत दलहरूप्रतिको असन्तुष्टिका रूपमा हेर्ने हो भने अब ठूला दलहरूले कमजोरी कहाँ भयो र सुधार के गर्नुपर्छ भन्ने थाहा हुन्छ।
खास गरिकन सहरमा भएको बुद्धिजीवी, मध्यम वर्गको जनमत किन राजनीतिक दल र तिनका उम्मेदवारप्रति असन्तुष्ट छ भन्ने कुरा हामीले हेर्नुपर्छ।
अर्को त राजधानीमा अलिकति स्वीङ मत हुन्छ। यहाँ सामाजिक सञ्जाल, नयाँ-नयाँ प्रचार शैलीको प्रभाव ज्यादा हुन्छ।
एमाले र कांग्रेसभित्र एउटा ठूलो भ्रम छ, हामी स्थापित पार्टी हौं, हाम्रो विकल्पमा अरू कोही आउन सक्दैन भन्ने। त्यो सोच सत्य होइन। अब पनि राजनीतिक दलले आफूलाई नसच्याउने, कार्यशैली नसुधार्ने, सही एजेण्डा नबोक्ने, सही मान्छेलाई नेतृत्वमा नल्याउने र जनताको अपेक्षा अनुसार काम गरेनन् भने जनताले विकल्प खोज्छन्। तर अहिले बालेन शाहले ल्याएको मत हेरेर जनताले दललाई छोडिसके भन्ने निष्कर्षमा पुग्न हुन्न। उनले जस्तो परिणामका साथ अघि बढिरहेका छन् यो राजनीतिक दलको ढोका ढकढक्याएको मान्नुपर्छ। त्यो ढकढक्याइ राजनीतिक दललाई सुधारिनका लागि हो।
अब समग्र देशको परिणामतर्फ जाऊँ। अहिलेसम्मको परिणामहरू हेर्दा नेकपा एमालेले जति जित्नुपर्ने हो त्यति ठाउँमा जितेको छैन।
त्यसका दुई कारण छन् भन्ने मलाई लाग्छ- बाह्य र आन्तरिक।
पहिले त हामी बाह्य कारण के हो भन्नेमा जाऊँ। मुख्य बाहिरी कारण भनेको एमालेविरूद्ध नेपाली कांग्रेसलगायत पाँच दलले गरेको गठबन्धन नै हो।
एमालेको मुख्य प्रतिस्पर्धी कांग्रेस हो। यी दुवै पार्टी नेक टु नेक अवस्थामा भएका दल भए।
यीमध्ये अर्को शक्ति जता खप्टियो चुनावको परिणाम उसैको पक्षमा हुन्छ। त्यसो हुने बित्तिकै अर्को पार्टीलाई गाह्रो भैहाल्छ। जस्तो: गएको संसदीय चुनावमा माओवादी र एमाले एक ठाउँ आउँदा कांग्रेसलाई गाह्रो भएको थियो।
अहिले माओवादी मात्र होइन एमालेबाट छुट्टिएर गएको एकीकृत समाजवादी पनि गठबन्धनमै छ।
जसपा र जनमोर्चा समेत एमाले विरूद्धको गठबन्धनमा छन्। त्यसले मतको संख्यामा प्रभाव पारिहाल्छ। रिजल्टमा पनि प्रभाव पार्ने नै भयो।
चुनावमा विभिन्न घटनाक्रमले राज्यसत्ताको दुरूपयोग भएको देखायो। ताप्लेजुङ र रूकुममा त हाम्रा दुई मान्छेको हत्या नै भयो। धेरै ठाउँमा गडबडी भएको छ।
अब आन्तरिक कारणमा जाऊँ।
यो चुनावमा पार्टीभित्र असन्तुष्टि देखिए। टिकट दिने बेला पारदर्शिता भएन, जित्ने मान्छेले पाएनन् नेतृत्वको मनपर्ने/नपर्ने आधारमा टिकट वितरण भयो भन्ने गुनासो देखिन्छ।
पार्टी जति एकताबद्ध हुनुपर्थ्यो त्यति भएको देखिएन। त्यही पनि म अहिलेसम्मको मत परिणामलाई समग्रतामा हेर्छु।
एमाले जुन प्रतिकूलतमा चुनाव लड्दै थियो, त्यसका आधारमा रिजल्टलाई बेठिक भन्न मिल्दैन।
हाम्रा विरूद्धको गठबन्धन, राज्य सत्ताको दुरूपयोगको स्थिति यो सबै परिस्थितिमा हेर्ने हो भने यो रिजल्ट ठिकै हो। त्यसको मतलब एकदमै ठिक भन्ने पनि होइन तर हार्यो भन्ने पनि होइन।
वस्तुगत भएर हेर्दा यो रिजल्ट ठिकै हो। अब अन्तिम मत परिणाम आउँदासम्म एमालेको कति पपुलर मत आउँछ भन्ने हेर्न बाँकी छ।
पपुलरतर्फ अहिले पनि एमालेको मत घटेको छैन। मेरो विचारमा हामी पहिलो नै छौं। हाम्रो मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेसलाई आफ्नो मत बाहेक १५ लाख जति मत फाइदा भयो। माओवादी एकीकृत समाजवादी जसपा लगायतका मत उसले बोनसमा पायो त्यो मतले रिजल्ट प्रभावित हुन्छ।
यसको सन्देश के हो भने- मुलुकमा दुई राजनीतिक दल नै प्रमुख हुन्।
एउटा एमाले अर्को कांग्रेस। यी कोही पनि गठबन्धन नगरी एक्ला/एक्लै चुनाव लडेको भएदेखि एमाले पहिलो पार्टी हुन्थ्यो, कांग्रेस दोस्रो हुन्थ्यो, माओवादी यहाँ भन्दा कमजोर हुन्थ्यो एकीकृत समाजवादी मार्जिनलाइज अवस्थामा जान्थ्यो। त्यसैले अहिलेको चुनावी परिणाम जे/जस्तो छ त्यसको कारण एमाले विरूद्धको गठबन्धन हो।
(योगेश भट्टराईसँग सेतोपाटीका शोभा शर्माले गरेको कुराकानीमा आधारित)
यो पनि हेर्नुहोस्: