नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले गठबन्धनको विषयमा समीक्षा गर्नुपर्ने बताएका छन्।
मंगलबार २९ औं मदन–आश्रित स्मृति दिवसको अवसरमा नेकपा (एकीकृत समाजवादी) ले पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले गठबन्धनको विषयमा समीक्षा गरिने बताएका हुन्।
उनले स्थानीय तह निर्वाचनको परिणाम आफ्नो पार्टीले प्राप्त गर्नुपर्ने जति नभएको बताए।
उनले पार्टीले अपेक्षा गरे अनुसार मत परिणाम नआएको भन्दै गठबन्धनका घटकहरूले नै आफूहरूसँग सहकार्य गर्न नचाहेको उल्लेख गरे।
उनले भने, ‘हाम्रो पार्टी निर्माणका सवालमा हामीले गम्भीर छलफल चलाउनुपर्ने आवश्यकता छ। हामी निर्वाचनको पनि गम्भीर समीक्षा गर्नेछौं। गठबन्धनको पनि समीक्षा हामी गर्नेछौं। समीक्षा गरेर कहाँ राम्रो भयो, कहाँ त्रुटी गर्यौं र आगामी दिनमा हामीले के कुरामा होस गर्नुपर्ने हो। त्यस हुनाले हामीले अहिलेसम्मको निर्वाचनको परिणाम अवश्य पनि हाम्रो पार्टीले प्राप्त गर्नुपर्ने जति छैन होला। संख्याको हिसाबले ५०० को सदस्यको तहलाई अहिले हामी नाघिरहेका छौं। सय जनाको संख्यामा वडा अध्यक्ष जित्ने स्थिति बनाएका छौं। झन्डै १५/२० जना पालिकाका प्रमुख, उपप्रमुख जित्ने स्थिति बनेको छ। कतिपय ठाउँहरूमा राम्रै अवस्था पनि छ।’
अझै पनि कतिपय ठाउँहरूमा अपेक्षित परिणाम प्राप्त गर्न नसकेको उनले बताए।
‘गठबन्धन दलका सदस्यहरूले हामीसँग सहकार्य गर्न चाहेनन्। हाम्रा आफ्नै कुराहरू होलान्’, उनले भने, ‘अरूका आफ्नै गुनासाहरू होलान्। जे सुकै गरे पनि यो पार्टीलाई बलियो जगमा उभ्याउनु पर्नेछ। यो पार्टीलाई जनताको माझमा क्रियाशील गर्नुपर्ने छ।’
उनले पार्टीलाई वैचारिक रूपमा दह्रो बनाउनुपर्ने बताए। अध्यक्ष नेपालले पार्टीलाई बलियो जगमा उभ्याउँदै जनताको माझमा क्रियाशील गराउन नेता, कार्यकर्ताहरूलाई आग्रह गरे।