रूपन्देहीको तिलोत्तमा नगरपालिकाको मत गणना रोकिएको छ।
मत गणनाको क्रममा निर्वाचन कार्यालयका कर्मचारीले वास्तविक मतभन्दा एमालेको धेरै मत टिपोट गरेको भन्दै नेपाली कांग्रेसका कार्यकर्ताहरूले मत गणनामा अवरोध गरेको निर्वाचन कार्यालयले बताएको छ।
मणिग्रामस्थित राममणि क्याम्पसमा वडा नम्बर १६ र २ को मतगणना भइरहेको थियो। मतगणनाको क्रममा १५९ मतलाई १९५ बनाइएको भन्दै नाराबाजी गरेपछि मत गणनास्थल तनावग्रस्त बनेको छ।
निर्वाचन अधिकृत माधवप्रसाद लोहनीले मत परिणाम जोडेर कम्प्युटरमा अपडेट नगर्दै ५ र ९ अंक अगाडि पछाडि भएकोले सच्याएर अपडेट गरिएको बताए।
´मतगणना गर्दा धर्का तानेर अंक जोड्दा ५ र ९ अगाडि-पछाडि भएको हो, मत परिणाम सार्वजनिक गरिएको थिएन, कम्प्युटरमा पनि अपडेट गरिएको थिएन,´ उनले भने।
लोहनीले अंक रूजु नहुँदै भेटिएको त्रुटिलाई सर्वदलीय बैठक बसेर सच्चाइएको बताए।
लोहनीले मत परिणाम सच्चाइएको बताए पनि मत गणनास्थलमा अहिले पनि नेपाली कांग्रेसका कार्यकर्ताहरूले नाराबाजी गरिरहेका छन्।
उनीहरूले मत गणनामा संलग्न कर्मचारीहरू हटाउन भन्दै उनीहरूका विरूद्ध नाराबाजी गरिरहेका छन्।