तेह्रथुमको आठराई गाउँपालिकाका अध्यक्षबाट राजीनामा दिएर वडा सदस्यको उम्मेदवार भएका मानबहादुर लिम्बू पराजित भएका छन्।
२०७४ सालको स्थानीय तह निर्वाचनमा ३ हजार ८७४ मत ल्याएर नेकपा एमालेबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका लिम्बू यस पटक भने वडा सदस्यमै पराजित भए।
गाउँपालिका अध्यक्ष पदबाट राजीनामा दिई जिल्ला समन्वय समितिको नेतृत्व लिनेगरी ७ नम्बर वडाको खुल्ला सदस्यमा उनी उम्मेदवार बनेका थिए। तर, नेकपा एकीकृत समाजवादीका नेता उनी ३३९ मत प्राप्त गरेर एमाले उम्मेदवारसँग पराजित भए। वडा सदस्यमा एमालेका हरिप्रसाद पराजुली ५८३ र कुमार कन्दङ्वा ५७१ मत प्राप्त गरी विजयी बने।
नेकपा एमालेका जिल्ला सचिव रहिसकेका उनी एमालेको १०औं जिल्ला अधिवेशनमा लक्ष्मण तिवारीसँग अध्यक्ष पदमा पराजित भएपछि गाउँपालिका अध्यक्षको उम्मेदवार बनेर निर्वाचित भएका थिए। उनी एमाले विभाजनपछि नेकपा एकीकृत समाजवादीमा आवद्ध भएका थिए।