दार्चुलाका नौ वटै स्थानीय तहका प्रमुखमा कम्युनिस्ट पार्टीहरुले जितेका छन्।
चुनावी तालमेल गरेका स्थानीय तह प्रमुखमा कांग्रेसले एक स्थानमा पनि जित्न सकेन।
कांग्रेससँग गठबन्धन गरेको माओवादीले भने आफ्ना भागमा परेका चार पालिका प्रमुख जितेको छ।
माओवादीले प्रमुखमा चार र उपप्रमुखमा दुई गरी ६ उम्मेदवार उठाएको थियो।
६ जनामा चार प्रमुख र एक उपप्रमुखमामा माओवादीले नेतृत्व लिइसकेको छ।
ब्यास गाउँपालिकामा भने मतपरिणाम सार्वजनिक भएको छैन। यहाँ उपाध्यक्षमा माओवादीका उम्मेदवार अगाडि छन्।
कांग्रेसले प्रमुखका लागि पाएका पाँच वटै सिटमा हारेको छ।
माओवादीका भोट कम हुनु, टिकट वितरणलाई लिएर असन्तुष्टि बढ्दा कांग्रेसले पराजय भोगेको छ।
उपाध्यक्षका लागि पाएका चारमध्ये तीनमा भने कांग्रेस विजयी भएको छ।
एक्लै चुनाव लडेको एमाले भने गत चुनावको भन्दा यसपटक बलियो देखियो।
०७४ मा तीनवटा पालिका जितेको एमालेले यसपटक थप दुई पालिका जितेको छ।
एमालेले नेतृत्व लिएका स्थानीय तह महाकाली, शैल्यशिखर, मालिकार्जुन, दुहुँ गाउँपालिका र ब्यास गाउँपालिका रहेका छन्।
अघिल्लो पटक यी स्थानीय तहमा कांग्रेसले जितेको थियो। यो पटक भने यी सबैमा कांग्रेसले हार ब्यहोर्नुपरेको छ।
अघिल्लो चुनावमा माओवादीले एक्लै चुनाव लड्दा एक स्थानीय तहमा मात्रै प्रमुखमा जितेको थियो।
यो पटक भने कांग्रेसका साथ पाएपछि माओवादीले थप तीन ठाउँमा जितेको छ।
अपि हिमाल, मार्मा नौगाड र लेकम गाउँपालिका नेकपा माओवादीले नेतृत्व लिएको हो।
यो कांग्रेस नेता दिलेन्द्रप्रसाद बडुको गृहजिल्ला हो। गठबन्धनले माओवादीलाई जिल्लामा बलियो बनाएको छ भने कांग्रेसलाई कमजोर पारेको बताइएको छ।