धनुषाको नगराइन नगरपालिकामा मतगणना स्थगित भएको छ।
वडा नम्बर २ स्थित रामबाग मतदान केन्द्रमा खसेको भन्दा मतपेटीकामा बढी मतपत्र भेटिएपछि मतगणना स्थगित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
केही मतपत्रमा मतदान अधिकृतको दस्तखत नभएको पनि भेटिएको छ।
नेकपा लोकतान्त्रिक समाजवादी, एमाले लगायतका दलका नेता तथा कार्यकर्ताले निर्वाचनमा धाँधली भएको भन्दै विरोध जनाएपछि मतगणना तत्कालका लागि स्थगित गरिएको हो।
लोसपाका मेयर उम्मेदवार राजेश चौधरीसहित ११ जनाले निवेदन दिएपछि मतगणना कार्य स्थगित गरिएको निर्वाचन अधिकृत सुदीप दंगालले बताए।
उनकाअनुसार अर्को सूचना नआउन्जेलका लागि मतगणना स्थगित गरिएको हो। यसअघि धनुषाकै धनौजी गाउँपालिकामा समेत मतगणनाको क्रममा खसेको मतभन्दा बढी मतपत्र फेला परेपछि विवाद भएको थियो।