धनुषा धनौजी गाउँपालिकाको मतगणनास्थल तनावग्रस्त बनेको छ।
वडा नम्बर १ स्थित लखौरी गाउँको मतगणनाको क्रममा मतपेटीकामा खसेकोभन्दा बढी मतपत्र भेटिएको भन्दै विवाद भएको हो।
निर्वाचनमा धाँधली भएको भन्दै नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता कार्यकर्ताले गणनास्थलमै विरोध प्रदर्शन गरेपछि विवाद भएको हो।
पुनः मतदान गर्नुपर्ने माग गर्दै मतगणना स्थलमा धर्ना दिएपछि आन्दोलनमा उत्रिएका नेता कार्यकर्ता र प्रहरीबीच झडप भएको हो।
प्रहरीका अनुसार गणनामा १०, १५ वटा बढी मतपत्र भेटिएको आरोप छ।
झडप नियन्त्रणमा लिन प्रहरीले २५ राउन्ड हवाई फायर गरेको धनुषाका प्रहरी उपरीक्षक बसन्त रजौरेले जानकारी दिए।
उनका अनुसार आन्दोलनकारीको ढुंगामुढाबाट ५ जना प्रहरी र २ जना म्यादी प्रहरी समान्य घाइते भएका छन्।
गणनास्थलमा बिहानैदेखि विवाद र तनावका कारण मतगणना स्थागित भएको छ। धनौजी गाउँपालिकामा वडा ३, ४ र ५ को मतगणना सम्पन्न भइसकेको छ।
यी वडाहरूमा नेपाली कांग्रेसका वडाका उम्मेदवारहरू विजयी भएका छन् भने गाउँपालिका अध्यक्षमा पनि कांग्रेसकै उम्मेदवारले अग्रता लिएका छन्। हालसम्मको गाणनामा कांग्रेसका अध्यक्ष उम्मेदवार राज कुमार साहले १५१४ मत ल्याएका छन् भने लोसपाका जिवेन्द्र झाले १ हजार मत प्राप्त गरेका छन्।
निर्वाचन अधिकृत पोषराज खनालले पनि १५ वटा मतपत्र बढी भेटिएको बताए। यद्यपि निर्वाचनसम्बन्धी ऐनले मतदान अधिकृतले बुझबुझारथ गरेको मतपेटिकामा रहेको मतलाई नै अन्तिम मान्नुपर्ने भएको उनले बताए।
स्थगित भएको मतगणना पुन: सुचारू गर्ने प्रयास भइरहेको उनले बताए ।