दाङको बंगलाचुली गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी भएका छन्।
गठबन्धनबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका तुलसीराम पुन (सुवास) र उपाध्यक्षमा नेपाली कांग्रेसका भक्तबहादुर जिसी निर्वाचित भएका हुन्।
अध्यक्षमा निर्वाचित पुन ५ हजार ७४९ मत ल्याएर विजयी भए।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार भेषराज खत्रीले ३ हजार ६७८ मत प्राप्त गरी पराजित भएका छन्।
अध्यक्ष निर्वाचित पुनले नेकपा एमालेका उम्मेदवार खत्रीलाई २ हजार ७१ मत अन्तरले हराएका छन्।
त्यसैगरी, उपाध्यक्षमा निर्वाचित नेपाली कांग्रेसका जिसीले ५ हजार ९४५ मत ल्याएर विजयी भएका छन्।
पराजित एमालेकी उम्मेदवार सरस्वती घर्तीले ३ हजार २६५ मत मात्रै प्राप्त गरेकी छन्। उपाध्यक्षमा २ हजार ६८० मतको अन्तरले जिसी विजयी भए।
बंगलाचुली गाउँपालिकामा चार वडासहित गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस र माओवादी केन्द्रको तालमेल रहेको थियो। बाँकी चार वडाहरूमा कांग्रेस, माओवादी र एमालेबीच त्रिपक्षीय प्रतिस्पर्धा भएको थियो। जसमा बंगलाचुली गाउँपालिकाका ८ वडाहरूमध्ये कांग्रेस र माओवादीले चार–चार वटा वडा जितेका हुन्। जसअन्तर्गत कांग्रेसले वडा नं. १,२,४ र ६ जितेको छ भने माओवादीले वडा नं. ३,५,७ र ८ जितेको छ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा एउटा वडा जितेको एमाले यसपटक कुनै पनि वडामा जित हासिल गर्न सकेन।
बंगलाचुलीमा कुल १० हजार ७३३ मत खसेको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ। २०७४ सालको स्थानीय तह निर्वाचनमा बंगलाचुली गाउँपालकाको अध्यक्ष र उपाध्यक्ष दुवै पद माओवादी केन्द्रले जितेको थियो।