काठमाडौं महानगरपालिकाका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले नोट गनेजस्तो मतगणना गर्न नसकिने बताएका छन्।
राष्ट्रिय सभा गृहमा सञ्चारकर्मीको प्रश्नको उत्तर दिँदै खतिवडाले भोलि बिहानदेखि ७ वटा टोलीले मतगणना गर्ने जानकारी दिए।
'बाहिरबाट हेर्दा राष्ट्रिय सभा गृह ठूलो देखिन्छ। तर हामीलाई उपलब्ध गराइएको स्थान सीमित छ। महानगरपालिको भवन प्रयोग गरिरहेका छौं। नगरपालिकाले खाली भएको कोठा र उपलब्ध गराउन सक्ने स्थान उपलब्ध गराएको छ,' खतिवडाले भने, 'उपलब्ध भएसम्म कोठामा मिलाएर गन्ने काम भइरहेको छ। सातबाट ८ बनाउने स्थान छैन। यो भवनभन्दा बाहिर लगेर गणना गर्न सकिन्न। कानुनले रोक्छ। त्यसलाई पनि हामीले विचार गर्नुपर्ने हुन्छ।'
खतिवडाले मतगणना कार्य सजिलो नभएको जिकिर गरे।
'बाकसबाट खन्यायो। नोट गनेजस्तो केही नहेरी गन्ने भएको भए छिटो हुन्थ्यो होला,' खतिवडाले भने, 'प्रक्रिया हुन्छ। फेरि प्रश्न उठ्यो भने झन् खराब हुन्छ।'
उनले २०७४ सालमा १५ दिन समय लागेको उल्लेख गर्दै अहिले त्योभन्दा बढी मतदाता र उम्मेदवार भएको बताए।
'२०७४ को भन्दा अहिले मतपत्र ठूलो छ। त्यसैले सहज छैन। जटिल छ,' उनले भने, 'निर्वाचन अधिकृतले समयमा नगन्नाले संवैधानिक रिक्तता आएको जस्तो भन्नु हुन्न।'
उनले मतगणना गर्न कर्मचारीले 'मरीमरी' काम गरेको दाबी गरे।
'जति ठाउँमा गने पनि निर्वाचन अधिकृत उपस्थित हुनुपर्छ। एउटा निर्वाचन अधिकृत कति ठाउँमा एकैचोटि उपस्थित हुनसक्छ,' खतिवडाले भने, 'जमिनमा पनि गन्ने अवस्था हुँदैन। समय लाग्नु स्वाभाविक छ।'
उनले निर्वाचन कार्यमा खटिएका मतदाता नोमिनेसनदेखि हामी रातभर नसुतेका दाबी गरे।
'यो छिटो हुनुपर्छ भन्ने चासो लाग्नु स्वभाविक हो,' उनले भने, 'चासोलाई सम्बोधन गर्दै सकारात्मक रूपमा लिँदै थप व्यवस्थित गर्दै लैजान्छौं।'