नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले क्रमशः मेयर र उपमेयर लिएर सत्तारूढ दलहरूले तालमेल गरेको चुनावमा उपमेयर उम्मेदवार अमरेन्द्र यादव पछाडि परेका छन्।
मत गणनाको सुरूदेखि नै पिछडिएका यादव भने अझै पनि धेरै आशावादी देखिन्छन्।
'९० हजार मत भएको ठाउँमा भर्खरै ९ हजार मत गणना भएको छ,' जसपा अध्यक्ष उपेन्द्र यादवका छोरासमेत रहेका अमरेन्द्रले भने, 'अहिले गणना भएका १, २ र ३ नम्बर वडा हाम्रो आधार क्षेत्र पनि होइन। त्यसैले अहिले आएको मत सन्तोषजनक छ।'
महानगर उपप्रमुखमा एमालेकी उम्मेदवार शिल्पा कार्कीले मतान्तर बढाउँदै लगेकी छन्।
उनले ७९४ मत बढी ल्याएकी छन्। गठबन्धनका उम्मेदवारलाई फराकिलो मतान्तरले एमालेकी उम्मेदवार शिल्पा कार्की अगाडि देखिएकी छन्। उनले २४७२ मत ल्याउँदा गठबन्धनका अमरेन्द्र यादवले १६७८ मत पाएका छन्।
अहिलेसम्म गणना भएको आफ्नो १६ सय मत बदर भएको दाबी गर्दै अमरेन्द्रले विराटनगरको १२ देखि १८ सम्मको गणनामा आफूले उछिन्ने दाबी गरे।
'१२ देखि १८ सम्मका वडा हाम्रो आधार क्षेत्र हुन्,' उनले भने, 'त्यसैले अहिल्यै आत्तिन जरूरी छैन।'
उनले आफूलाई कांग्रेसले धोका दिएको पनि नदेखिएको बताए।
'यदि कांग्रेसले पाउने मत मलाई नआएर सूर्यतिर गएको भए त्यसो भन्न मिल्थ्यो,' उनले थपे, 'तर, धेरै मत छातामा आएको छ। तर, अहिलेसम्म १६ सय मत बदर हुँदा क्षति भएको छ। १२ वडामा पुगेपछि यसको भर्पाइ हुनेछ।'
उपमेयरमा गठबन्धनका अमरेन्द्र पछि परे पनि विराटनगर महानगरपालिकाको प्रमुख पदमा विपक्षीभन्दा नागेश कोइराला ८०२ मतले अगाडि छन्।
निर्वाचन आयोगले भर्खरै सार्वजनिक गरेको मत परिणामअनुसार कोइरालाको मत अन्तर बढ्दै गएको हो।
पछिल्लो विवरणअनुसार गणना भएको ९२७४ मतमध्ये कोइरालाको पक्षमा २९३२ मत छ। यस्तै उनका निकटतम प्रतिद्वन्द्वी एमालेका सागर थापालाई २१३० मत प्राप्त भएको छ। स्वतन्त्र उम्मेदवार उमेश यादव तेस्रो स्थानमा छन्। उनले ९६१ मत पाएका छन्।