भक्तपुर नगरपालिकाका नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का मेयर उम्मेदवार सुनिल प्रजापतिले प्रतिद्वन्द्वीभन्दा पाँच गुणा बढी मतान्तरले अग्रता लिएका छन्।
उनले नेपाली कांग्रेसका रामप्रसाद कासुलाभन्दा पाँच गुणा बढी मतले अग्रता लिएका हुन्।
करिब १५ हजार मत गणना हुँदा नेमकिपाका प्रजापतिले ९०३१ मत ल्याएका छन्।
कांग्रेसका कासुलाले १८१२ मत ल्याएका छन्। त्यसैगरी नेकपा एमालेका रवीन्द्र लाछिमस्यु १०८८ मतसहित तेस्रो स्थानमा छन्।
निर्वाचन अधिकृत गोपालप्रसाद बास्तोलाका अनुसार अहिलेसम्म भक्तपुरको वडा नम्बर १, २ र ३ को मतगणना भइसकेको छ। यी सबै वडामा नेमकिपाको प्यानल नै विजयी भएको छ।
हाल वडा नम्बर ४, ५ र ६ को मत गणना भइरहेको छ।