निर्वाचन आयोगले कतिपय महानगरपालिकाहरूमा मतगणनाको नतिजा समयमै नदिँदा मतदाता तथा मिडिया अलमलमा परेका छन्।
विशेषगरी चितवनको भरतपुर नगरपालिका, मोरङको विराटनगर महानगरपालिका र काठमाडौंको काठमाडौं महानगरपालिकामा आयोगले समयमै मतगणनाको अपडेट नदिएको गुनासो बढेको छ।
काठमाडौं महानगरमा हिजो साँझमात्र सहायक निर्वाचन अधिकृतले सूचना सार्वजनिक गरेका थिए। त्यसपछि आज बिहानमात्र आधिकारिक अपडेट दिए।
महानगरका प्रमुख निर्वाचन अधिकृत राजुकुमार खतिवडाले अब भने नियमित अपडेट गर्ने बताएका छन्।
‘मतगणना एकै ठाउँमा छैन सबै ठाउँको कलेक्सन गर्दा एकदमै ढिलो हुने रहेछ। तर हामीले आज दुईपटक दिइसक्यौं। अब एक जना कर्मचारी सूचना दिनकै लागि खटाएर भए पनि नियमित अपडेट सार्वजनिक गर्ने कोसिस गर्छौं,’ उनले भने।
आयोगको कार्यालयले चितवनमा पत्रकारलाई इमेलबाट र सर्वसाधारणलाई फेसबुक पेजमार्फत् अपडेट दिने बताएको थियो।
हाम्रा चितवन संवाददाता राजेश घिमिरेका अनुसार आयोगले अहिलेसम्म दुईपटक त्यो पनि माइकबाटमात्र अपडेट दियो। पहिलोपटक सूचना दिएको समय र दोस्रो पटक दिएको समयको अन्तर नै १३ घण्टा छ।
भरतपुरका प्रमुख निर्वाचन अधिकृतले भने संवाददाताहरूले फोन गर्दा आफूले अपडेट दिएको बताए।
फोनमार्फत् सूचना दिने भन्दा पनि समय-समयमा आधिकारिक अपडेट दिने काम किन गर्न नसकेको भन्ने प्रश्नमा उनले भने, ‘यहाँ जति मेनपावर छ त्यो अनुसार हामीले सूचना सार्वजनिक गरेकै छौं। मतगणना सजिलो छैन। हाम्रा कर्मचारी बानी पर्दै छन्। विस्तारै भोलि पर्सिबाट हामीले अपडेट छिटो गर्ने कोसिस गरौंला।
विराटनगर महानगरमा पनि मतगणनाको अपडेट सूचना एकदमै ढिलो छ। हिजो दिनभरि मतगणना गर्दा साँझमात्र निर्वाचन अधिकृतले आधिकारिक सूचना दिएका थिए। हाम्रा विराटनगर संवाददाता राजु अधिकारीका अनुसार आज भने आयोगले मतपरिणाम सार्वजनिक गरेको छैन।